तम्घासका मासु पसल मापदण्ड विपरीत संचालनमा , सुधार नगरे कारवाही गरेरै छाडने चेतावनी

0
256
तम्घासमा मासु पसल अनुगमन गर्दै गर्दाको तस्बिर : तिलाचन पाण्डे

फागुन ३०,२०७९ गुल्मी : तम्घासमा संचालनमा रहेका अधिकांश मासु पसल मापदण्ड विपरीत रहेको पाइएको छ ।

सोमबार र मंगलबार बिहान भेटिरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले गरेको दुई दर्जन भन्दा बढी मासु पसल अनुगमनका क्रममा दूध र मासु एकै ठाउँ राखेर विक्री गरेको , धेरै दिनको मासु सडेको अवस्थामा फेला परेको र ब्यवसाय दर्ता नगरी चलाएको पाइएको केन्द्रका सूचना अधिकारी भरत गिरीले जानकारी दिए ।

मानव जीवनको स्वास्थ्यमा गम्भीर असर पर्ने गरी मासु पसल संचालनमा रहँदा अनुगमन गर्ने निकायले हालसम्म कुनै कारवाही नगरी सुझाव मात्रै दिएर आउने गरेको यहाँका उपभोक्ताहरुले बताउँदै आएका छन् ।

तम्घासमा रहेको रेसुंगा मिट सपमा धेरै दिन देखि फ्रिजमा कुहिएको अवस्थामा मासु फेला परेको र फ्रिज पनि बन्द अवस्थामा रहेको अनुगमना क्रममा पाइएको गिरीले बताए । यस्तै झिल्के दुग्ध डेरी तथा मासु पसल, साकुरा दुध डेरी र मामा भान्जा मासु पसलमा दुध र मासु नजिकै राखेर विक्री गरको पाइएको हो ।

मासु पसल अनगमनका क्रममा धेरै गल्तीहरु पाइए अब के गर्नुहुन्छ भन्ने प्रश्नमा विज्ञ केन्द्रका प्रमुख भरत काफलेले तत्कालै पत्र काटेर सुधारका लागि केही दिनको समय दिइने र दिइएको समयमा सुधार नभए जरिवाना र कानुन अनुसारको कारवाही गरेरै छाडने चेतावनी दिए ।

अनुगमनलाई निरन्तरता दिने र जनताको स्वास्थ्यमा असर गर्ने गरी काम गर्ने अधिकार कसैलाई नभएको भन्दै कारवाही गर्नका लागि अव पछि नहटने कार्यालयले जनाएको छ ।


अनुगमनमा उद्योग वाणिज्य संघ , घरेलु तथा साना उद्योग कार्यालय, रेसुंगा नगरपालिकाको पशु सेवा शाखा,जिल्ला प्रहरी कार्यालय , करदाता सेवा कार्यालय ,जिल्ला प्रशासन र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

तम्घासमा मासु पसल अनुगमन गर्दै गर्दाको तस्बिरहरु

 

SHARE