६ वर्षपूरा हुँदा पनि बिद्यालयको भवन निर्माणले पूर्णता पाउन सकेन्

निर्माण ब्यवसायी भन्छन् : चैतको पहिलो हप्ता हस्तान्तरण गर्छु

0
225

फागुन २१,२०७९ गुल्मीः गुल्मीमा निर्माण कार्य सुरु गरेको छ वर्षपूरा हुँदा पनि बिद्यालयको भवन निर्माणले पूर्णता पाउन सकेको छैन ।

जिल्लाको मदाने गाउँपालिका वडा नं ६ स्थित धाराचौर आधारभुत बिद्यालयको १६ कोठे भवनले अझै पनि पूर्णता पाउन नसकेको हो ।

भारतीय राजदुतावासबाट प्राप्त १६ कोठे भवन तत्कालिन जिल्ला बिकास समिति गुल्मीबाट ठेक्का लगाई २०७३ सालमा निर्माणको जिम्मा प्रवेश शुभनारायण जेभीले भ्याट सहित ९९ लाखमा जिम्मा पाएको थियो ।

सम्झौतामा १५ महिनामा भवनको निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएपनि हालसम्म निर्माणको कार्यले पूर्णता पाउन सकेको छैन । पटक पटक गरी तीन पटक म्याद थप हुँदा समेत भवन निर्माण कार्य सम्पन्न हुन नसकेको जिल्ला समन्वय समिति गुल्मीका निमित्त समन्वय अधिकारी सृजना मिश्रले जानकारी दिइन् ।


बिद्यालय भवनको करिब ९० प्रतिशत भन्दा बढी काम सम्पन्न भएपनि पुरै फिनिसिङ लगायतका केही स साना कामहरु बाँकी रहेकाले निर्माण ब्यवसायीलाई कार्य सम्पन्न गरी हस्तान्तरण गर्नका लागि ताकेता गरिएको मिश्रले बताइन् ।
निर्माण ब्यवसायी दिनेश लामाले भने करिब कार्य सम्पन्न भइसकेको र शौचालयमा टायल लगाउने कार्य बाँकी रहेकाले चैतको पहिलो हप्ता कार्य सम्पन्न गरी हस्तान्तरण गर्ने गरी आफू लागेको बताएका छन् ।

भौगोलिक विकटता र केही बीचमा परेका प्राविधिक समस्याका कारण आफूले समयमै काम सम्पन्न गर्न नसकेको लामाको भनाई छ ।
यस बीचमा लुम्बिनी प्रदेश सरकारबाट प्राप्त १० लाख रुपैयाँ बजेटबाट भवन निर्माणको लागतमा संलग्न नभएका रङरोगन र अन्य केही निर्माणका कार्यहरु गरेको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरले बताएका छन् ।

 

यता जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्ण खत्रीले निर्माण ब्यवसायीलाई कार्य सम्पन्न गर्नका लागि ताकेता गरिएको बताएका छन् ।

शनिबार मात्रै आफू सहितको टोलीले बिद्यालयको अनुगमन गरेको भन्दै निर्माण ब्यवसायीले अबिलम्व कार्य सम्पन्न नगरेमा कानूनी प्रक्रिया अगाडि बढाउन कार्यालय बाध्य हुने खत्रीको चेतावनी छ ।

SHARE