
फागुन १७,२०७९ गुल्मीः गुल्मीको मदाने गाउँपालिका र छिमेकी जिल्ला प्युठानको गौमुखी गाउँपालिका बिच विविध विषयमा समझदारी भएको छ ।
सोमबार मदाने गाउँपालिकाको कार्यालय पुर्कोट दहमा दुई स्थानीय तह बिच आपसी हित र साझा समस्या समाधानका लागि दुई पक्षीय सम्झौता गरिएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिए ।
समझदारी पत्रमा मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर कुवर र गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले हस्ताक्षर गरेका छन् ।
दुई स्थानीय तह बिचमा कृषि ,पर्यटन ,पुर्वाधार ,साँस्कृतिक सम्पदा ,प्रविधि ,सीप र आर्थिक लगायत विविध पक्षमा सहयोग आदानप्रदान गर्ने उदेश्यले समझदारी पत्र तयार पारिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले बताए ।

त्यस्तै समझदारी पत्रमा एक अर्काले गरेका कामको अनुभवको आदानप्रदान देखि गाउँपालिका भित्र रहेका पर्यटकीय क्षेत्रको दुबै स्थानीय तहले प्रचार प्रसार गरि पर्यटकीय गन्तव्यको रुपमा अगाडी बढाईने समेत उल्लेख गरिएको छ ।
गौमुखी गाउँपालिका र मदाने गाउँपालिका बिच सिमा मात्रै नभई धेरै सम्बन्ध,संस्कार र एकै प्रकारको भु(बनोट भएकै कारण समझदारी गरिएको उपाध्यक्ष सरिता खड्काले बताईन ।






