गुल्मीका तीन स्थानीय तहमा ३७९ जनालाई निस्सा वितरण

0
95

फागुन २ ,२०७९ गल्मी : राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले जिल्लाका तीन स्थानीय तहमा निस्सा वितरण गरेको छ ।

आयोगले जिल्लको मुसिकोट नगरपालिका , रुरुक्षेत्र र चन्द्रकोट गाउँपालिकाका भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अब्यबस्थित बसोबासी गरेका ३७९ जनालाई तीनपुस्ते विवरण भिडाई निस्सा वितरण गरिएको जिल्ला समिति गुल्मीका अध्यक्ष राममल्ल ठकुरीले जानकारी दिनुभयो । जसअनुसार मुसिकोट नगरपालिकामा १६५ जना,रुरुक्षेत्रमा १५८ जना र चन्द्रकोट गाउँपालिकामा ५६ जना गरी कुल ३७९ जनालाई निस्सा वितरण गरिएको आयोगले जनाएको छ ।

अव उहाँहरुको नापी नक्साको कार्य अबिलम्व सुरु गर्ने गरी आफूहरुले तयारी गरेको ठकुरीले बताउनुभयो ।
फागुन ५ गते जिल्लाको मदाने गाउँपालिकामा पनि निस्सा वितरण गर्ने गरी आफूहरुले तयारी गरेको आयोगले जनाएको छ ।

जिल्लाका १२ स्थानीय तहमा २८५ जना भूमिहिन दलित,२३६ जना भूमिहिन सुकुम्वासी र एक हजार ६२६ जना गरी कूल दुई हजार १४७ जनाको तथ्यांक रहेको ठकुरीले बताउनुभयो ।


यस्तै जिल्लामा विगतका आयोगले ७७२ जनालाई वितरण गरेका लालपुर्जाका काम अधुरा रहेको जिल्ला समिति गुल्मीले जनाएको छ । ७७२ जनाको हातमा लालपुर्जा भएपनि उहाँहरुको नापी नक्सा नभएको , तिरो नचलेको र सो लालपुर्जामा भएको जग्गाको कुनै सहकारी ,बैंकमा धितोको रुपमा पनि नचल्ने भएकाले अधुरा अपुरा कार्यहरु पूरा गर्नका लागि आफूहरु लागेको अध्यक्ष ठकुरीले बताउनुभयो ।

अधुरा अपुरा कार्यहरुको दुई पटकसम्म ३५ दिने सूचना जारी गर्दा २३५ जनाले निवेदन दिएको भन्दै उहाँहरुको ७ दिने दाबी बिरोधको सूचनामा १३ जनाको दाबी परेको जिल्ला समिति गुल्मीले जनाएको छ ।


तेस्रो पटकको ३५ दिने सूचना पुस ३० गतेदेखी खुलेकाले अधुरा अपुरा कार्यहरुको निवेदन जिल्ला समिति गुल्मीमा दिन सक्ने आयोगले जनाएको छ ।

SHARE