गुल्मी अस्पताल लुम्बिनी प्रदेशमै तेस्रो

0
444

माघ ९,२०७९ गुल्मीः स्वास्थ्य सेवाका न्यूनतम मापदण्ड पूरा गरी गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो भएको छ। गुल्मी अस्पतालले भौतिक संरचना अभाव भए पनि सेवा प्रवाहमा सुधार ल्याएको छ।

अस्पतालले आर्थिक वर्ष २०७९।०८० को न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्याङ्कनमा ८९ प्रतिशत अंक पाएको छ। लुम्बिनी प्रदेशका १२ जिल्लाका अस्पतालमध्येबाट गुल्मी अस्पताल तेस्रो भएको हो।

अस्पतालका न्यूनतम सेवा मापदण्डबारे २ दिनसम्म बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। सुवास पाण्डे सहितको टोलीले मूल्यांकन गरेको थियो। मूल्यांकन गर्दा विगतमा भन्दा थप उपलब्धि पाइएको डा। पाण्डेले बताए।

सबैको सहयोगले यो अवस्थामा आउन सफल भएको गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। उत्तम पच्चाले बताए। सबैको सहयोगले अस्पताललाई थप स्तरोन्नति गर्न सकिने डा। पच्चाको भनाइ छ।

गुल्मी अस्पतालमा अहिले हाडजोर्नी, गाइनोलोजिष्टका डाक्टर पनि थपिएका छन्। सेवाप्रवाहमा सुधार ल्याउन निरन्तरको खटाइले गुल्मी अस्पतालले सुधारका संकेत बढाएको गुल्मी अस्पतालका अध्यक्ष भरत पाण्डेले बताए।

भौतिक संरचना अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन बन्न थालको छ। २०७१ सालमा ५० शय्यामा स्तरवृद्धि भए पनि संरचना अभावमा पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन। आईसीयु, सर्जिकल, मेडिकल, बाल उपचार कक्ष छुट्टाछुट्टै व्यवस्था हुने गरी ५ तले नयाँ भवन बन्दै छ।

SHARE