बसाइँसराइँको प्रमाणपत्र लिदाँ पाँच हजार असुलेको कालीगण्डकी गाउँपालिकाले अव दुई सय लिने

0
117
कालीगण्डकी गाउँपालिकाको तस्विर : तिलाचन पाण्डे

पुस २९,२०७९ गुल्मीः कालीगण्डकी गाउँपालिकामा बसाइँसराइँ गरी जाँदा लिने प्रमाणपत्र वापतको राजस्व अधिक भएको गुनासो भइरहेका बेला गाउँपालिकाले राजस्व घटाएको छ ।

पहिले पाँच हजार रुपियाँ असुल गर्दै आएको गाउँपालिकाको १२ औ अधिवेशनले बबसाइँसराइँको प्रमाणपत्र लिदाँ दुई सय रुपियाँ लिने निर्णय गरेको गाउँपालिकाकी उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले जानकारी दिइन् । यस्तै बसाइँसराइँको प्रतिलिपी प्रमाणपत्र लिदाँ पाँच सय रुपियाँ लिने निर्णय पनि गरिएको उनले बताइन् ।

आफू निर्वाचित भएपश्चात बसाइँसराइँको प्रमाणपत्र वापतको दस्तुरलाई घटाउनुपर्छ भन्ने पहिलो अडानलाई कार्यन्वयन गर्न सफल भएको दर्लामीको भनाई छ । स्थानीय नागरिकहरुको गुनासो पनि बढी भएको भन्ने आएकाले पालिका भित्रको नागरिकहरुको गुनासोलाई सम्बोधन गर्नु स्थानीय सरकारको दायीत्व भएकाले जनताको सुख दुःखमा आफू सधै साथमा रहने दर्लामीले बताइन् ।
यस्तै पालिकाभित्र खानेपानीलाई पहिलो प्राथमिकता दिनका लागि ब्यक्तिको जग्गामा भएको खानेपानीको मुहानलाई ब्यक्तिले मात्रै दाबी नगरी सामाजिक रुपमा सबैले प्रयोग गर्न पाउने निर्णय पनि गरेको उपाध्यक्ष दर्लामीले बताएकी छिन् ।


२०७६ सालमा गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा बसाइँसराइँ गरेको प्रमाण पत्र लिदा ६ हजार लिनेगरेको थियो । सो समयमा वडा नं ६ हरेवाका प्रितम थापाले बसाइँसराइँको प्रमाणपत्र लिदा ६ हजार तिरेको रसिद सञ्चार माध्यम र सामाजिक संजालमा फाइरल भएको थियो । पछि चन्द्रकोट गाउँपालिकाले ३५ दिनभित्र भए निशुल्क र पछि दुई सय रुपियाँ विलम्व शुल्क वापत लिने गरेको रुपाकोटकी वडा सचिव लक्ष्मी अर्यालले जानकारी दिइन् ।

बसाइसराई गरी आउनेलाई स्वागत

बसाइँसराइँ गरी जानेका लागि गुल्मीका स्थानीय तहहरुले ५० रुपियाँदेखी ६ हजार रुपैयाँ असुल्ने गरेता पनि बसाइँसराइँ गरी आउनेलाई निशुल्क रुपमा स्वागत गर्ने गरेको बताएका छन् । स्थानीय तहबाट बसाई सराईको दरलाई कम गरी आउनेलाई स्वागत गरिएको गाउँपालिकाहरुले जनाएका छन् ।

बसाइँसराइँ गरी जानेको परम्परालाई रोक्नका लागि स्थानीय तहमानै गुणस्तरीय शिक्षा , स्वरोजगारको ब्यबस्था , खानेपानीको उचित ब्यबस्था संगै सडकलाई स्तरउन्नती गर्ने र स्वास्थयको राम्रो ब्यबस्था गर्न सके बसाइँसराइँको दरलाई रोक्न सकिने धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

 

SHARE