कृषि सम्पर्क कार्यालयबाट सेवा प्रवाह गरेको रुरुक्षेत्र गाउँपालिकाको आफनै प्रशासकीय भवन

0
104
रुरुक्षेत्र गाउँपालिकाको निर्माणधिन प्रशासकीय भवन । तस्बिर : खबरमार्केट

गीताकुमारी बस्याल
मंसिर २३,२०७९ गुल्मीः कृषि सम्पर्क कार्यालयबाट सेवा प्रवाह गरेको रुरुक्षेत्र गाउँपालिकाले आफनै प्रशासकीय भवनबाट सेवा दिने भएको छ ।

हालसम्म कृषि सम्पर्क कार्यालय बलेटक्सारको भवनबाट सेवा दिइरहेको कार्यालयले केही महिना भित्रैमा आफनै प्रशासकीय भवनबाट सेवा दिने गरी तयारी गरेको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो ।

 

निर्माणधिन भवनको बाहिरको भाग फिनिसिङको काम अहिले भइरहेकाले माघ महिना भित्रैमा भवन निर्माणको काम सम्पन्न हुने गरी काम गरेको निर्माण ब्यवसायी भागवत गिरीका प्रतिनिधि भोजराज गौतमले जानकारी दिनुभयो ।
सुबिधा सम्पन्न प्रशासकीय भवनको कूल लागत ६ करोड ३३ लाख २४ हजार ५९४ रुपियाँ ५३ पैसामा निर्माणको जिम्मा सोवर्ण पिटीआर अधिकारी राजेश्वरी जेभी सन्धिखर्कले लिएको छ ।

 

२०७८ साल साउन ५ गते नेपाल सरकार शहरी बिकास मन्त्रालय, स्थानीय पुर्वाधार विभाग र निर्माण ब्यवसायी बीच भएको सम्झौता अनुसार २०८१ साल साउन १५ गते सम्पन्न गर्नुपर्ने उल्लेख छ ।

निर्माण सम्पन्न गर्नुपर्ने समय प्रयाप्त भएपनि गाउँपालिकाले प्रवाह गर्ने सेवामा भवन अभावका कारण समस्या परेकाले छिटो निर्माण सम्पन्न गर्नका लागि आफूले आग्रह गर्दै आएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको भनाई छ ।
सानो भवनबाट पत्येक फाँटका कर्मचारीहरुले प्रवाह गर्ने सेवामा सेवाग्राहीलाई पनि समस्या हुने र कर्मचारीहरुलाई पनि सेवा प्रवाहमा समस्या आउने गरेको गाउँपालिकाले जनाएको छ ।

यता निर्माण ब्यवसायी भागवत गिरीले गाउँपालिकाका अध्यक्षको अनुरोध अनुसार सबै जनशक्ति लगाएर अन्य योजनाहरु भन्दा पनि पहिलो प्राथमिकता दिएर आफूले काम गरेको बताउनुभयो ।

रुरुक्षेत्र गाउँपालिकाका युवा किसन पाण्डेले घिउवेशीमा निर्माणधिन गाउँपालिकाको आफनै भवनबाट केही महिनाभित्रैमा सेवा लिन पाउनेमा आफू आशावादी भएको बताउनुभयो ।

सुरुदेखिनै निर्माणको कार्यले गति लिएको देख्दा हुने बिरुवाको चिल्लोपात भनेजस्तै समय अगावै काम सम्पन्न हुने देखिएको उहाँको भनाई छ ।

गुल्मी जिल्लामा रेसुङगा नगरपालिकाले आफनै कार्यायबाट सेवा प्रवाह गरेको छ भने मुसिकोट नगरपालिकाको प्रशासकीय भवन पनि निर्माणधिन अवस्थामा छ ।

मदाने गाउँपालिकाले साबिकको गाबिस कार्यालय,मालिकाले गाउँपालिकाको सभाहल ,धुर्कोट गाउँपालिकाले बहुउद्येश्यीय सभाहल, छत्रकोट र सत्यवतीले सभाहलबाट सेवा प्रवाह गरिरहेको छ ।

मुसिकोट नगरपालिका ,इश्मा ,गुल्मीदरबार, कालीगण्डकी र चन्द्रकोट गाउँपालिकाले भाडाका भवनहरुबाट सेवा प्रवाह गर्दै आइरहेका छन् ।

SHARE