जापानीज नागरिक ओकेबाजेको धुमधामले गरियो चौरासी पूजा

0
152

–सुशीला रेग्मी
असोज २४,२०७९ रामपुर (पाल्पा) जापानीज नागरिक काजुमासा काकीमी (ओकेबाजे) को चौरासी पूजा एवम् नागरिक अभिनन्दन समारोह पाल्पाको रामपुरमा भएको छ ।

 

तानसेन नगरपालिका, रामपुर नगरपालिका, माथागढी, पुर्वखोला, रम्भा, निस्दी गाउपालिका स्थित क्याम्पस, विद्यालय एवम् स्थानीय संघ संस्थाको आयोजनामा चौरासी पूजा भएको हो ।

 

जापानमा जन्मेर पनि नेपाली भुमिमा लामो समय देखि शिक्षा, स्वास्थ्य, सामाजिक संघ संस्थामा ठुलो योगदान गर्नुभएका ओकेबाजेको योगदानको कदर गर्दै रामपुर नगरपालिका ८ एक्लेटार स्थित गंगा माविमा चौरासी पुजा तथा अभिनन्दन समारोह गरिएको हो ।

सहचन्द्र दर्शन एवं चौरासी पूजा मूल आयोजक समितिका अध्यक्ष एवम् गंगा माविका प्रधानाध्यापक देवराज देवकोटाको अध्यक्षतामा कार्यक्रम भएको हो । नेपाली परम्परा अनुसार ३० जना पुरोहितबाट पुजा गरिएको मुल पण्डित हरिप्रसाद खनालले जानकारी दिनुभएको छ ।

 

भुषालडाँडा माविका प्रधानाध्यापक सुन्दर श्रेष्ठको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन रामतुलसी माविका शिक्षक लेखनाथ शर्मा मरासिनीले गर्नुभएको हो । चौरासी वर्ष पुगेको उपलक्ष्यमा नेपाली परम्परा अनुसार पुजा गर्ने व्यवस्था मिलाएकोमा ओकेबाजेले सबैलाई धन्यवाद दिनुभएको छ ।

कार्यक्रमको अवसरमा मगरी संस्कृति कौरानाच समेत देखाएको छ । ओकेबाजेको पुजा तथा अभिनन्दनमा विभिन्न संघ संस्था तथा नागरिकको उत्साहजनक सहभागीता रहेको थियोे ।


को हुन् त ‘ओकेबाजे’

आजभन्दा तीन दशक अघि पहिलो पटक पाल्पा आउनुभएका जापानिज नागरिक काजुमासा कामीमी (ओकेबाजे) हालको पूर्वखोला गाउँपालिका वडा नं २ जल्पास्थित ढोलीमारामा पुग्नुभयो । उहाँका गाइडर (पैदलयात्राका सहयोगी) ढोलीमारा निवासी तिलक आलेमार्फत पुग्नुभएको थियो । एक हप्ताको बसाईका लागि पुग्नुभएका ओकेबाजे स्वास्थ्यमा समस्या आएपछि केही दिनमै जापान फर्कनुभयो ।

 

ढोलीमारामा बस्ने क्रममा त्यहाँका समुदायका बालबालिका, नागरिकको अवस्था अत्यन्तै दयनिय देखेपछि उहाँले उनीहरुको स्वास्थ्य उपचार, शैक्षिक क्षेत्रमा सहयोग गर्न थाल्नुभयो ।

“ढोलीमारामा बस्ने क्रममा कोही बालबालिका नाङ्गैछन्, कोही भोकै छन्, औषधी नपाएर नागरिकहरु जीवनमरणको दोसाँधमा बाँचिरहेको देखेपछि केही सहयोग गर्न थालेको हुँ” उहाँले भन्नुभयो । आर्थिक अभावमा विद्यालय नजाने बालबालिकालाई शैक्षिक सामग्री, पोशाक लगायतको ओकेबाजेले सहयोग गर्न थाल्नुभयो ।

बिशेषगरी यो क्षेत्र मगर समुदायको बाक्लो वस्ती रहेको र गरिव, विपन्न परिवारका नागरिकहरु समस्यामा थिए । उनीहरुको अवस्थालाई मध्यनजर गर्दै ओकेबाजेले पाल्पामा नै बसेर सामाजिक क्षेत्रमा सहयोग गर्ने मनसाय बोकेर केही दिनको जापान बसाइपछि पुनः पाल्पा आउनुभयो ।

“मान्छे बिरामी अवस्थामा छ, साथमा उपचार गर्न खल्तीमा उनीहरु संग पैसा नभएको देखेपछि स्वास्थ्य उपचार सहयोग गर्न थाले, उनीहरुको जीवनरक्षा र पढ्नबाट वञ्चित बालबालिकालाई शिक्षाको मुल धार सम्म पु¥याउने दुर्गम गरिव विपन्न परिवारबाट सहयोग सुरु गरेको हुँ” ओकेबाजेले भन्नुभयो ।

उहाँले ढोलीमाराबाट सुरु गरेको सामाजिक सहयोग अभियान अहिले पाल्पा जिल्ला र नवलपरासीका विभिन्न क्षेत्रमा गरिरहनुभएको छ । पाल्पा र नवलपरासीमा गरी हालसम्म दुई सय ५० बढी विद्यालयमा भवन निर्माण, शैक्षिक सामग्री, अक्षयकोष स्थापना सहयोग गर्नुभएको छ । दुर्गम र विकट क्षेत्रका नागरिकलाई गाउँ गाउँमा आँखा उपचार शिविर आयोजना गरी औषधी उपचार सेवा सहयोग गर्नुभएको छ ।


शिक्षा, स्वास्थ्य, सिंचाई, खानेपानी, भवन निर्माण, आमा समुह लगायतका धेरै क्षेत्रमा ओकेबाजेको सहयोग छ । उहाँले जापानस्थित साइतामा युनेस्को, रोटरी क्लव जापान, बाजिरा, ओके एसएस लगायत २० वटा संस्थामार्फत समन्वय गरी यहाँको सामाजिक क्षेत्रमा रकम खर्चनुभएको छ ।

उहाँलाई अहिले नेपाली भाषा मज्जाले आउँछ । सुरुमा नेपाली भाषा नबुझ्दा गाउँका नागरिकले जे सोधे पनि अंग्रेजीमा ओके ओके भनेका कारण उहाँको नाम ओकेबाजे रहन गएको हो । आफुलाई ओकेबाजे भनेर सम्बोधन गर्दा असाध्यै खुशी लाग्ने उहाँ बताउनुहुन्छ ।

जापानको टोकियो शहरमा सन् १९३९ जुन ८ तारिखका दिन बुबा साइस्के काकीमी र आमा उमे काकीमीको कोखबाट जन्मनुभएका ओकेबाजे बाल्यकाल देखि नै सामाजिक काममा प्रेरित हुनुहुन्थ्यो ।

२८ वर्षको उमेरमा श्रीमती कियोको काकीमी संग विवाह बन्धनमा बाँधिनुभएका ओकेबाजेका एक छोरा र एक छोरी हुनुहुन्छ । स्नातक तह सम्मको औपचारिक अध्ययन गर्नुभएको छ । सन् १९८८ मा पहिलो पटक नेपाल भित्रनु भएका ओकेबाजे पैदलयात्राको लागि सोलुखुम्बुमा आउनुभएको हो । त्यहाँदेखि उहाँको नेपाल यात्रा सुरु भएको हो ।

उहाँले पाल्पावासीमा पु¥याउनुभएको योगदानको कदर गर्दै ओकेबाजेलाई दुई पटक सम्म नागरिक अभिनन्दन गरियो । विसं २०७० मा रामपुर नगरपालिकामा र ०७६ मा सदरमुकाम तानसेनमा पाल्पाका नागरिकले संयुक्त रुपमा अभिनन्दन गरेका हुन् ।

मानार्थ नेपाली नागरिकताको अपेक्षा गर्नुभएको छ । त्यसको लागि प्रक्रिया अगाडी बढाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाबाट गृह मन्त्रालयमा सिफारिस गरिएको छ । आवासिय भिषा भने पाइसक्नुएको छ । जीवनको अन्तिम समय सम्म नेपालकै भूमीमा नै बिताउन मन छ । उहाँले आफ्नो केही जीवनको अवशेष छोराछोरीलाई जापान पठाउन भने आग्रह गर्नुभएको छ ।

विसं २०५० देखि पाल्पालाई कर्मथलो बनाएर नितान्त सामाजिक क्षेत्रमा रहेर ठुलो सहयोग गर्दै आउनुभएका ओकेबाजे पाल्पाली गरिव, दुखी, विपन्न, असहाय वर्गको साहारा बन्नुभएको छ । उहाँले यहाँका न्युन आय भएका नागरिक, दलित, विपन्न वर्गका परिवारमा अभिभावकको जिम्मेवारी निभाउनुभएको छ । यसरी काम गरेको २६ वर्षको समय बितेको उहाँलाई पत्तो छैन । यसरी नै काम गर्न पाउँदा उहाँ खुशी हुनुहुन्छ ।

आर्थिक समस्याले विद्यालयको हातासम्म पुग्न नसकेका बालबालिकालाई शिक्षाको ज्योती दिने, औषधी उपचार, गाउँका विकास निर्माण, खानेपानी, शैक्षिक भवन निर्माण, अक्षयकोष स्थापना, पुस्तकालय स्थापना, आयमुलक काम, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा ठुलो धनराशी खर्च गर्नुभएको छ ।
ओकेबाजेले जापानमा शिक्षण कार्यबाट सेवानिवृत्त लिएपछि पाल्पामा रहेर सामाजिक क्षेत्रमा काम गरिरहनुभएको छ । गाउँ गाउँका गरिव, दुखी जनतालाई सेवा गर्न पाउँदा निकै आनन्द लाग्ने गरेको ओकेबाजेले बताउनुभयो ।

“मलाई गरिव, दुखि जनता लागि सेवा गर्न पाउँदा अत्यन्तै आनन्द लागिरहेको छ, बेला बेलामा जापानमा जान्छु विभिन्न संस्था, व्यक्तिहरु संग रकम सहयोग मागी नेपालमा बसेर सामाजिक क्षेत्रमा खर्च गरिरहेको छु” उहाँले भन्नुभयो । उमेर ढल्किदै गएपनि उहाँको सामाजिक क्षेत्रमा काम गर्ने चाहना अझै बढ्दै गएको छ ।

पाल्पाली र समग्र नेपालीको मायालाई आफुले कहिल्यै पनि भुल्न नसक्ने उहाँ बताउनुहुन्छ । सबैलाई हसाउने र खुशी पार्ने ओकेबाजे सबैका मन मनमा बस्न सफल हुनुभएको छ । ओकेबाजेले सामाजिक क्षेत्रमा गर्नुभएको योगदानलाई यहाँका नागरिकले कहिल्यै भुल्न नसक्ने रामतुलसी मावि रामपुरका शिक्षक लेखनाथ शर्मा मरासिनी बताउनुहुन्छ ।

“अत्यन्तै सरल निस्वार्थ स्वभाव, गरिव दुखी विपन्नको उत्थानका निम्ति उहाँको सहयोग योगदानले सबै उमेर समुहका मानिसलाई प्रभावित बनाएको छ” उहाँले भन्नुभयो ।

SHARE