
खवरमार्केट ब्युरो
असोज १४ २०७९ गुल्मीःगुल्मीको मुख्य बजार र जिल्ला प्रशासन कार्यालयको गेटमा भुस्याहा कुँकुरको आंतक बढेको छ ।
बजारमा भुस्याहा कुकुरको आंतक हुँदा समेत यसको नियन्त्रण र ब्यबस्थापन गर्नमा सरोकारवाला कसैको ध्यान जान सकेको छैन ।
बजारमा मुख्य सडकमा भुस्याहा कुकुरको आंतकले गर्दा सडक दुर्घटना निम्त्याउने अर्को खतरा पनि रहेको छ । बजारमा भुस्याहा कुकरको आंतकले गर्दा बिद्यालय हिड्ने स साना बालकहरुलाई झम्टने र टोक्ने समस्या पनि बढ्दै गएको यहाँका स्थानीयहरुले जनाएका छन् ।

रातको समयमा पनि भुस्याहा कुकुरहरु भुक्ने समस्याले गर्दा राम्रो संग सुत्न पनि नपाइने गरेको बजारबासीहरुले दुखेसो पोख्दै आएका छन् भने यसको ब्यबस्थापन र नियन्त्रण गर्नमा कसैको ध्यान नगएको उनीहरुको गुनासो छ ।
बजारमा भुस्याहा कुकुरको बिगबिगी हुँदा समेत नगरपालिका कानमा तेल राखेर बसेको र देखेको नदेख्यै गरेको स्थानीय ब्यबसायी जनक पन्तले बताए । बिहानीको समयमा मर्निङवाक गर्न हिड्दा र बाइक चलाएर बजार हिड्न सक्ने अवस्था नरेको उनको गुनासो छ ।
बिद्यालय जाँदा पैदल यात्रा गरेर जाने स साना बालबालिकाहरु बढी जोखीममा रहेकाले नगरपालिकाले तत्काल समस्याको समाधान गर्नुपर्नेमा उनले जोड दिए ।
गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सदरमुकाममा भुस्याहा कुकुरको समस्या अत्याधिक भएकाले नगरसंग सहकार्य गरेर अगाडि बढ्ने बताए ।
आफूहरुको कार्यक्षेत्र भित्र यो कार्य नपर्ने भएकाले यसलाई समाधान गर्नका लागि तत्कालै आफुले पहल गर्ने उनको दाबी छ ।

रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले भुस्याहा कुकुरको समस्यालाई समाधान गर्नका लागि आफूहरुले योजना बनाएको बताए ।
नगरभित्र भुस्याहा कुकुरको समस्याले नगरबासी हैरान भएको भन्ने गुनासो छ नी भन्ने खबरमार्केटको जिज्ञासामा पन्थीले गुनासो आफूसमक्ष पनि आएकाले यसको दीर्घकालीन समाधान गर्नेगरी योजना बनाएको र त्यो केही समय पछि सबैलाई थाहा हुने उनको दाबी छ ।






