यस्ता छन् मुसिकोट नगरपालिकाका सय दिने उपलब्धीहरु

0
304
नगरप्रमुख खरेल तस्विर :खबरमार्केट

सागर भण्डारी
भदौ२९,२०७९ गुल्मी : मुसिकोट नगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधिहरुको सय दिन पुगेको अवसरमा आफ्नो कार्यप्रगती सार्वजनिक गरेको छ ।

बुधवार नगरप्रमुख जीवन खरेलले एक कार्यक्रमकाबीच आफ्नो सय दिने उपलब्धी सार्वजनिक गर्दै सपथग्रहण गरेपछिको कार्यारम्भ १ सय दिन पुगेपनि नयाँ आर्थिक वर्ष सुरु भएपश्चात आफुहरुले बनाएका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अवधी भने २ महिना मात्रै भएको बताउनुभएको थियो ।

२०७९ जेठ महिनाको तेश्रो हप्ताबाट कार्यभार सम्हाल्नुभएका नगरप्रमुख खरेलले १ सय दिने उपलब्धी सार्वजनिक गर्दै असार १० गतेसम्म नयाँ आर्थिक वर्षको नीती कार्यक्रम र बजेट प्रस्तुत गरिसक्नुपर्ने र पुरानो आर्थिक वर्षको भुक्तानीका काम सक्नुपर्ने भएकाले त्यस अवधीमा केही उपलब्धी देखिने काम गर्न सम्भव नभएको बताउनुभयो ।

त्यस्तै उहाँले असार मसान्तदेखि साउन महिनाको अन्तिम हप्तासम्म नगरपालिकाको आर्थिक कारोबार गर्न बैकं खाता बन्द हुने भएकाले तत्काल भुक्तानी गर्नुपर्ने काम बाहेक अन्य कामहरु गर्न नसकिएको र साउन अन्तिम हप्ताबाट नगरपालिकामा प्रमुख प्रशाशकीय अधिकृतको फेरबदलले गर्दा भदौ अन्तिम हप्तासम्म आर्थिक वर्षको सुरुवातमै थाल्नुपर्ने कामहरु केही प्रभावित बनेको प्रष्टीकरण दिनुभएको छ ।

नगरप्रमुख खरेलले प्रतिकुलताका बाबजुद पनि आफुहरु निर्वाचित भईसकेपछि केही महत्वपूर्ण कामहरु भएको भन्दै ६ बुँदामा नगरपालिकाले १ सय दिनमा गरेका उपलब्धिहरु सार्वजनिक गर्नुभएको छ ।

जसमध्ये पूर्वाधारतर्फ रिगंरोडका मुख्य भागहरुमा काम गर्ने गरी प्रयाप्त बजेट विनियोजन भएको, ५० लाख बराबरका ४ वटा मुख्य सडक स्तरोन्तीका लागि प्रदेशसगं साझेदारीमा ठेक्का प्रक्रिया सुरु भएको,बर्षातको कारणले यातायात आवागमन प्रभावित भएका सडकहरुको बाटो खुलाउन र निरन्तर यातायात आवागमनका लागि काम भएको तथा प्रमुख प्रशाशकीय भवनको २०८० भित्रै सञ्चालनमा ल्याउने गरी काम भईरहेको बताउनुभएको छ ।

त्यस्तै शहरी विकास मन्त्रालयको कार्यक्रमका रुपमा वडा नं १ को पौँदी अमराई बजार वरपर,वडा नं ३ को मैदान ठुलापोखरा बजार वरपर, वडा नं ५ को आँपचौर रिगंरोड क्षेत्रमा र वडा नं ७ को वामीटक्सार बजारका भित्री सडक कालोपत्रे गर्ने गरी व्यवस्थित सहरी सडकको डिजाईन भईरहेको तथा १५ शैयाको अस्पतालको निर्माण कार्य द्रुत गतिमा भईरहेको उल्लेख गरिएको छ ।

वडा नं ४ वडागाउँ नेटा र वडा नं ८ वामी मैदानमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि डिपिआर प्रक्रियामा रहेको,वामीबजारमा सुविधायुक्त सभाहल निर्माणका लागि डिपिआर गर्ने पक्रियामा रहेको र नगरपालिकाका ५ वटा अग्ला ठाउँमा झोलुगें पुल निर्माणको लागि सर्वे र ईन्जिनियरिङ लगायतको कामहरु सम्पन्न भएको बताईएको छ ।

स्वास्थ्य सेवा तर्फ पदबहालीकै क्रममा निर्णय गरिएबमोजिम नगरपालिकाका प्रत्येक वस्तीमा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्याउन १ सय १९ जना महिला स्वास्थ्य स्वयं सेविकालाई प्राथमिक उपचार बक्स वितरण गरिएको,वडागाउँ स्वास्थ्य चौकीमा कुपोषित बालबालिकाहरुको उपचारार्थ बहिरगं उपचार सेवा सञ्चालनमा ल्याएको, कोभिड खोप अभियानलाई निरन्तरता दिँदै सबै नागरिकलाई खोपको पहुँचमा पुर्याउन खोज र खोप अभियान सञ्चालन गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै पाठेघरको क्यान्सरको जाँच शिविर तथा परिवार नियोजन शिविर सञ्चालन,एउटा वडाको एउटा स्वास्थ्य संस्थमा कम्प्युटर,प्रिन्टर तथा ईन्टरनेट उपलब्ध हुने व्यवस्था मिलाएको बताईएको छ ।

नगरप्रमुख खरेलले सार्वजनिक गरेको उपलब्धी मध्ये शिक्षातर्फ ३० वटा बालविकास कक्षाहरुका लागि राउण्ड डेस्कहरु,३६ थान स्मार्ट टेलिभिजन वितरण तथा रिक्त दरबन्दीमा शिक्षक छनौट र नियुक्ति,स्यानीटरी प्याड वितरण सगैं ६ वटा माध्यमिक विद्यालयमा स्यानेटरी प्याड जलाउने मेसिन वितरण गरेको र कक्षा ५ सम्म स्थानीय पाठ्यक्रम तयारी गरी अन्तिम रुप दिईएको बताईएको छ । त्यस्तै विद्यालय समायोजन,दरबन्दी मिलानका लागि कार्यदल गठन गरी आश्विन मसान्तसम्म प्रतिवेदन बुझाउने गरी काम भईरहेको र नगरशिक्षा भर्नाका लागि कार्यविधि तैयार भईरहेको उल्लेख गरिएको छ ।

नगरप्रमुख खरेलले सार्वजनिक गर्नुभएको उपलब्धीमा आर्थिक विकासतर्फ कृषि उपजको विक्री सुनिश्चितताका लागि विनिमय बजार सञ्चालन गर्न कार्यविधि तयार भएको,नगरपालिका भित्र रोजगारी सिर्जना गर्ने उद्यमीहरुलाई प्रोत्साहन स्वरुप सीप,प्रविधि र पूँजी उपलब्ध गराउने गरी पख्नोस तपाईका लागि हामी केही गर्छौँ अभियानको कार्यविधि तैयार हुँदै गरेको तथा जन्मभूमी छाडेर गएकाहरुलाई पुरस्कृत गर्ने र पुनः फर्केर बसोबास गर्नेहरुका लागि आफनै गाउँ फर्की आउँ कार्यक्रमको समेत कार्यविधि तैयार हुँदै गरेको उल्लेख गरिएको छ ।

बाँदर आतकंबाट आजित किसानहरुलाई खेतीमा आकर्षण कम नहोस भन्ने हेतुले बिमा या उत्पादन लागतको क्षतिपुर्ति दिने गरी नयाँ कार्यक्रमको कार्यविधि बन्दै गरेको,कृक्रिम गर्भाधान,बाख्रापालनमा अनुदान लगायतका कार्यक्रमहरु निरन्तर सञ्चालन भईरहेको बताईएको छ । त्यस्तै वृहत स्तरमा व्यवसायिक खेतीलाई प्रोत्साहित गर्न अनुदानमा ६ हजार कागतीका बिरुवा,१४ हजार ३ सय कफीका विरुवा,२४ सय ५० टिमुरका विरुवा,४० क्विन्टल बेसा बिउ रोपण गरिएको र १४ जना कफी कृषकलाई अनुदान रकम उपलब्ध गराईएको उल्लेख गरिएको छ ।

वन तथा वातावरण सरसफाई तर्फ सार्वजनिक ठाउँमा वृक्षरोपण,हप्ताको एक बार नगरसफा बारको रुपमा मनाउँदै शुक्रवार नगरपालिकामा रहेका कार्यालय र शनिवार बजार वस्तीले १ घण्टा बजार सरसफाई गर्ने अभियान सुरु गरिएको,आर्थिक अभावका कारण उपचार नपाएका,विद्यालय पढ्न नपाएका तथा प्राकृतिक प्रकोपमा परेकाहरुलाई आर्थिक सहयोग उपलब्ध गराईएको हप्ताको एक बार मुख्य बजारमा ट्रयाक्टर मार्फत फोहोर सकंलन गर्ने र त्यस्ता फोहोरलाई विभिन्न वडामा डम्पिङ साईड बनाई विसर्जन गर्ने तयारी समेत भईरहेको उल्लेख गरिएको छ ।

खानेपानी महसुलमा २० प्रतिशत छुट दिने गरी कार्यविधि बन्दै गरेको,नगरपालिकाको नगरप्रोफाईल बनाउने काम अन्तिम चरणमा पुगेको,भुमीहिन र सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गर्न १६९ जनाको नाम राष्ट्रिय भुमी आयोगमा पठाईएको,न्यायिक समितिमा परेका उजुरीहरु उपर कारबाही चलिरहेको,नगर र वडामा रहेका सार्वजनिक सम्पति र स्थलहरुको अतिक्रमण रोक्ने गरी काम भईरहेको तथा एक सार्वजनिक पुस्तकालयको निर्माण गर्ने गरी कार्य अगाडी बढाईएको बताईएको छ ।

SHARE