
असार ३०,२०७९रूपन्देही : नाबालकलाई प्रयोग गरी सुनको सिक्री चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा नाबालकसहित ३ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ।


पक्राउ पर्नेहरूमा चोर्न लगाउने पर्सा पटेर्वा सुगौली घर भई हाल रुपन्देही कञ्चन गाउँपालिका(४ हर्नाचौर बस्ने ३६ वर्षीय विजय राय नट तथा चोरी गर्ने सोही ठाउँ बस्ने ११ वर्षीय र १२ वर्षीय नाबालक रहेका छन्।
रुपन्देही कञ्चन गाउँपालिका(४ बनकसियास्थित आइतबारे हाटबजारमा टमाटर किन्ने क्रममा सोही ठाउँ बस्ने ७० वर्षीया महिलाले घाँटीमा लगाएको ३ तोला ४० लाल बराबरको सुनको सिक्री २ जना नाबालकले आइतबार दिउँसो चोरेर भागेको घटना अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय सालझण्डीको टोली खटिएको थियो।

प्रहरी टोलीले ती नाबालकलाई कञ्चन गाउँपालिका(४ बनकसिया डिहोमा लुकिछिपी हिँडिरहेको अवस्थामा चोरिएको सुनको सिक्रीसहित फेला पारी नियन्त्रणमा लिएको हो। थप अनुसन्धानको क्रममा उक्त चोरीमा विजयको संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा विजयले करिब एक महिनाअघि पर्सा जिल्लाको आफ्नो गाउँघरबाट दुवैजना नाबालकलाई रूपन्देही कञ्चन गाउँपालिका(४ हर्नाचौरमा बोलाई उनीहरूलाई सुनको सिक्री कसरी चोर्ने र कसरी भाग्ने भनि सिकाई बजारमा भिडभाड भएको ठाउँमा लगि उनीहरूलाई चोर्न लगाउने गरेको खुलेको प्रहरीले जनाएको छ।
उनीहरूमाथि चोरीसम्बन्धी कसूरमा म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। थाहाबाट