नवनिर्वाचित जिल्ला समन्वयको टिमलाई पूर्वको सुझाब : निरन्तर अनुगमन गर्नु

0
224
जिल्ला समन्वय समिति गुल्मीमा बिदाई तथा अनुभव आदान प्रदानको तस्विर : खबरमार्केट

असार १५,२०७९ गुल्मीः जिल्ला समन्वय समिति गुल्मीका पूर्व समन्वय प्रमुख लक्ष्मण पराजुलीले जिल्लामा निरन्तर रुपमा बिकास निर्माणका कार्यहरुको अनुगमन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नवनिर्वाचित जिल्ला समन्वय समिति गुल्मीले पूर्व समितिलाई बिदाई तथा अनुभव आदान प्रदान कार्यक्रममा पराजुलीले बिकास निर्माणका कार्यक्रमहरुमा निरन्तर रुपमा अनुगमन नगरेमा गुणस्तर नहुने र समयैमा काम सम्पन्न गर्न नसकिने अनुभब सुनाउनुभयो ।

प्रदेश,संघ र स्थानीय स्तरमा भएका बिकास निर्माणका कार्यहरुमा समन्वय गरी अगाडि बढेमा गुणस्तरता पनि हुने र समयमै काम सक्न निर्माण ब्यबसायीहरु पनि बाध्य हुने उहाँको भनाई छ ।

यता नवनिर्वाचित जिल्ला समन्वय समितिका उपप्रमुख तेजेन्द्र सलामी मगरले अनुभव आदान प्रदान कार्यक्रमले आफूहरुले सम्पादन गर्ने कार्यमा सहजता आउने दाबी गर्नुभयो । उहाँले समन्वय समितिले समय समयमा पूर्व पदाधिकारीहरुलाई बोलाएर सल्लाहा सुझाबहरु लिने गरी काम गर्ने बताउनुभयो ।
यस्तै जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्ण खत्रीले सबैपक्षहरुसंग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले जिल्लाका १२ वटै स्थानीय तहहरुसंगको समन्वयमा र प्रदेश र केन्द्रका बिकासका योजनाहरुमा गुणस्तरता कायम गर्नमा जोड दिने बताउनुभयो ।

खत्रीले निर्वाचनको समयमा आफूहरु कुनै न कुनै दलहरुबाट आएपनि कार्यसम्पादनमा राजनीति झल्किने गरी कुनै पनि कामहरु नगर्ने उद्घोष गर्नुभयो । जिल्लाका सबै नागरिकहरु आफूहरुका लागि बराबर भएको भन्दै सोही अनुसार नै काम गर्ने उहाँको दाबी छ ।

SHARE