१ करोड ३३ लाखको हाटबजार गाडी पार्कमा परिणत

0
375

गीता बस्याल पाण्डे
असार १५,२०७९ गुल्मीः रेसुंगा नगरपालिकाले संचालनमा ल्याएको हाटबजार अहिले गाडी पार्कको रुपमा परिणत भएको छ ।

कृर्षकले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा बिक्री बितरण गर्ने उद्देश्यले निमार्ण गरिएको गुल्मी तम्घास बजार नजिकै चारिखोलामा रहेको हाटबजार अहिले नगरपालिकाका सवारी साधन र बिद्यालयको बस पार्किङको रुपमा परिणत भएको छ ।

हालसम्म एक करोड ३३ लाख लागत लागेर निर्माण भएको हाट बजार अहिले गाडी पार्कको रुपमा परिणत हुँदा राज्यको लगानी बालुवामा पानी भने जस्तै भएको प्रमाणित भएको छ ।

यता नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले हाट बजार बन्द हुनु दुःखद भएको बताए । उनले हाटबजार बन्द हुँदा कृषकहरु र सेवाग्राही सबै मारमा परेकाले तत्काल हाटबजार खुलाउन नगरपालिकाको ध्यान जानुपर्नेमा जोड दिए ।

हाटबजार संचालनमा आउँदा कृषक र उपभोक्तालाई सहजता आउने र कोही पनि बिचौलियाको मारमा नपर्ने उनको भनाई छ ।
हाटबजार बैशाख २६ गते देखी बन्द भएको रेसुंगा नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमले जानकारी दिए । नगरपालिकाले नगरपालिकाका कर्मचारीहरुलाई खटाएर हाटबजार संचालन गरेको थियो ।

रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले रेसुंगा नगरपालिकाका कर्मचारीहरु खटाएर हाट बजार संचालन गर्न नसकिने भएकाले लिजमा दिने गरी तयारी गरेको बताए । कृर्षकले उत्पादन गरेका कृषि उपजहरुलाई सहज रुपमा बिक्री वितरण गर्नका लागि नगरले उचित प्रवन्ध गर्ने पन्थीको दाबी छ।
उक्त हाटबजार निर्माणमा साबिकको जिल्ला कृर्षि बिकास कार्यलयको चौध लाख , साबिकको जिल्ला बिकास समितिको आठ लाख , जिल्ला पशुसेवा कार्यलय गुल्मीको दश लाख , प्रदेश सरकार र नगरपालिकाको गरी कूल एक करोड ३३ लाख लगानी भएको छ ।

SHARE