रामपुर ६ मा वार्षिक नीति तथा कार्यक्रम

0
280

सुशीला रेग्मी
रामपुर (पाल्पा), ६ असार :पाल्पाको रामपुर नगरपालिका वडा नं ६ को आयोजनामा वार्षिक नीति तथा कार्यक्रम एवम् योजना तर्जुमा कार्यक्रम भएको छ ।
वडाध्यक्ष दिवाकर देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत रामहरी पाण्डेय रहनुभएको हो । प्रमुख अतिथि पाण्डेयले वडामा टोल टोलबाट आएका योजना नगर कार्यपालिका बैठकले निर्णय गरी नगर सभाले पारित गरेर वडाले कार्यक्रम गर्ने बताउनुभएको छ ।

टोलबाट छनौट भएर आएका कार्यक्रम राम्रो आएको बताउनुहुदै शिक्षा र स्वास्थ्यका कार्यक्रम छनौटमा जोड दिनुपर्ने सुझाव दिनुभएको छ ।
वडामा ११ वटा टोल विकास समिति गठन गरिएको छ । प्रत्येक टोलबाट सङकलित भई आएका टोलगत योजना सम्बन्धमा टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले जानकारी गराउनुभएको छ । वडाअध्यक्ष देवकोटाले आर्थिक वर्ष २०७९÷०८० मा संचालन हुने कार्यक्रम तथा योजनाका सम्बन्धमा जानकारी गराउनु भएको छ ।
केरा, आलु, धान, पशुपालन, मौरी, फलफुल खेतीलाई प्राथमिकता दिएर कृषि र पशुपालनका कार्यक्रम अगाडी बढाउने, वडामा उत्पादन भएका कृषि उपजको बजारीकरणको व्यवस्था, कृषि व्यवसायमा प्रोत्साहन गर्दै कृषकलाई वडाध्यक्ष कृषक पुरस्कार प्रदान गर्ने, उत्पादनमा आधारित अनुदानका कार्यक्रम, कृषिफार्म संचालन गर्न चाहनेका लागि वडाबाट आवश्यक सहयोग सहजिकरण गर्ने, केराको बजारिकरणका लागि सडक महोत्सव गर्ने योजना समेटिएको वडाध्यक्ष देवकोटाले जानकारी दिनुभएको छ ।

रामपुर नगरपालिकाको नगर गौरवको आयोजनाको रूपमा गौशाला, तालपोखरा र ज्याग्दी वनलाई स्तरोन्नती गर्दै जाने, वडामा रहेका धार्मिक तथा ऐतिहासिक क्षेत्रको संरक्षण र स्तरोन्नती, विभिन्न समुदायको संस्कृती संरक्षण, मृत्युु संस्कारमा सुबिधा हुने गरी गौरीघाट, कोप्चेघाट र परेवाघाटमा आवश्यक संरचना निर्माण गरिने योजना सारिएको छ । ज्येष्ठ नागरिक, एकल महिला,अपांग भएका व्यक्तिलाई विभिन्न सीपमुलक तथा क्षमता विकास कार्यक्रम, वडाको मौलिक पहिचानमा रहेको माटाका भाडा बनाउने पेशालाई संरक्षण, नयाँ उद्यम गर्न चाहनेलाई उद्यमशिलता विकास तालिम उपलब्ध गराइने योजनामा परेको छ ।

आगामी आर्थिक वर्ष भित्रै वडाको विस्तृत विवरण खुल्ने डाटा बेस तयार गरी वडा प्रोफाइल तयार गरिने, वडाको योजना विकास प्राथमिकताका वस्तुगत आधार, सुचना तथ्यांक र सरकारको विकास प्राथमिकताका आधारमा निर्धारण गरिने लगायतका योजना छन् । त्यस्तै शिक्षा, स्वास्थ्य, सडक, पुल, पुलेसा, सिंचाइ, खानेपानी, भवन तथा शहरी विकास, उर्जा, लघु तथा साना उद्योग, वन, वातावरण तथा विपद् व्यवस्थापन, सुशासन, संस्थागत विकास तथा सेवा प्रवाह लगायतका योजना वडामा छनौट गरिएको छ ।

कार्यक्रमको अवसरमा नेपाली कांग्रेस महासमिति सदस्य देवराज ढकाल, निवर्तमान वडाध्यक्ष हुमनाथ न्यौपाने, कार्यपालिका सदस्य यमबहादुर भुजेल, नेपाली कांग्रेस वडा सभापति गोविन्द देवकोटा, राष्ट्रिय जनमोर्चाका नगर सचिव रामप्रसाद गैरे, नेकपा एकीकृत समाजवादिका प्रतिनिधि तारा कंडेल, तालपोखरा संरक्षण समिति अध्यक्ष सागरप्रसाद देवकोटा, समाजसेवी कृष्णप्रसाद अर्याल, पत्रकारको तर्फबाट कृष्णप्रसाद पौडेल लगायतले आफ्ना भनाई राख्दै वडाका कार्यक्रम तथा गतिविधि पारदर्शी रूपमा संचालन गर्न सुझाव दिनुभएको छ ।

सुदिप गैरले वडामा संग्रहालय निर्माण, सामुहिक फलफूल खेती प्रवर्द्धन,तोरी खेती कार्यक्रम, वडामा रहेका कर्मचारी, टोल विकास संस्थामा रहेका पदाधिकारी, योजना उपभोक्ता समितिलाई क्षमता विकास तालिमको व्यवस्था गर्न माग गर्नुभएको छ ।

ओमप्रकाश रेग्मीले वडाको विकासका अवधारणा के हो, त्यसमा पहिला प्राथमिकता दिनुपर्ने, वडाको छुट्टै पहिचान दिने गरी योजना ल्याउनुपर्ने, सबै वडावासीको छलफल र अन्तरकृयालाई जोड दिनुपर्ने, वडा कार्यालय बनाउनुपर्ने र गुरुयोजना बनाएर काम गर्नुपर्ने सुझाव राख्नुभएको छ । रमेश ढकालले वडामा टोलबाट आएका योजनाको प्राथमिकताका आधारमा छनौट गरेर कार्यक्रम गरिनुपर्ने बताउनुहुदै लागुपदार्थ दुव्र्यसनिमा बिशेषगरी कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थी लागेको हुदा उनीहरुको लागि सचेतनामुलक कार्यक्रम ल्याउन आवश्यक रहेको वडालाई सुझाव दिनुभएको छ । कार्यक्रमको संचालन वडा सचिव बासुदेव ढकाल र स्वागत कार्यपालिका सदस्य शारदा आचार्यले गर्नुभएको हो ।

SHARE