
सन्तोष महतारा गुल्मी २३ जेठ :लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारुले डाक्टरहरु सेवा दिने भन्दा पैसा कमाउने तर्फ केन्द्रीत भएको बताएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला शाखा गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुसँग बोल्दै मन्त्री थारुले डाक्टरहरु सेवा दिने भन्दा पैसा कमाउने तर्फ केन्द्रीत भएको बताएका हुन् ।
सेवा गर्ने पेशा भनेर डाक्टर बन्न पढ्ने तर डाक्टर बनेपछि बिरामीको सेवा भन्दा पैसा कमाउनमा केन्द्रीत हुने गरेको मन्त्री थारुले बताए । ‘आफ्नै गाउँमा बिरामीको उपचार गर्न पनि डाक्टरहरु गाउँ आउन मान्दैनन् ।’ तम्घासमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थारुले भने, “अहिले विज्ञ डाक्टरहरु पहाडमा आउन नमान्ने समस्या विकालर बन्दै गएको छ ।” मन्त्री थारुले पहाडमा आएर कम्तीमा ३ महिना बस्नैपर्ने कार्यविधि बनाएको बताए ।
गुल्मीमा क्रियाशील पत्रकारहरुको जिज्ञाशामा जवाफ दिदै मन्त्री थारुले गुल्मी अस्पतालको व्यवस्थापकीय पक्ष कमजोर रहेकोले आफ्नो ध्यानाकर्षण भएको बताए । स्वास्थ्य बीमामा आएको समस्याबारे मन्त्री थारुले स्वास्थ्य बीमाको रकम अस्पताललाई भुक्तानी गर्न केन्द्रीय सरकारमा पहल गर्ने बताए ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ गुल्मीमा अध्यक्ष टोपलाल अर्याल, पूर्वअध्यक्ष जर्नादन घिमिरे र जिल्लास्थित क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रम प्रेस सेन्टर नेपाल जिल्ला शाखा गुल्मीका अध्यक्ष तिलाचन पाण्डेको अध्यक्षता र सचिव हुमाकान्त पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।












