कालीगण्डकी गाउँपालिका भित्रका सबैलाई इन्डक्सन चुलो निशुल्क

0
285

जेठ १२,२०७९ : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका सबै युवा अबको २ वर्षमा सीपयुक्त हुने भएका छन्।

नवनिर्वाचित अध्यक्ष खिमबहादुर थापाले सोमबार पदभार ग्रहण गर्दै यहाँका युवा कुनै न कुनै सीपमा दक्ष हुने बताएका छन्।

ुयुवाको तथ्यांक संकलन गर्ने छौँ। उनीहरूको दक्षता र क्षमतालाई ख्याल गरी माग र आवश्यकताको आधारमा सीपमूलक तालिम दिइने छ। गाउँपालिकाले सञ्चालन गरेको आलमदेवी बहुप्राविधिक शिक्षालयमार्फत विभिन्न सीपमूलक तालिम दिइने छ। यहाँ हाल सञ्चालनमा रहेको सिभिल इन्जिनियरिङको पढाइलाई समेत निरन्तरता दिइने छ। निश्चित मापदण्ड बनाएर सिटिइभिटीबाट मान्यता हुने खालका तालिम दिइने छ। समूहमा आएका युवाले तालिम पाउने छन्।

युवा रोजगारको लागि विदेशिने पर्ने बाध्यता न्यूनीकरणका लागि स्थानीय सरकारले यो कार्यक्रम ल्याउन लागेको उनले बताए। सिकेको सीप अनुसार उनीहरूलाई यहीँ व्यवसाय गर्न वा स्वरोजगार बनाउन गाउँपालिका नै आर्थिक तथा भौतिक सहयोग गर्नेछ।

यस्तै गाउँपालिका भित्रका सबै घरपरिवारमा विद्युतीय चुलोलाई प्रोत्साहित गरिने भएको छ। महँगो ग्यास बाल्नु पर्ने बाध्यता अन्त्यको लागि विद्युतबाट सञ्चालन हुने इन्डक्सन चुलो वितरण गरिने भएको हो।

जसले गर्दा महँगोमा ग्यास खरिद गरेर खाना पकाउनु पर्ने छैन । दाउराको खपत कम हुने हुँदा वन जङ्गलको समेत संरक्षण हुने छ। मानिसलाई धुवाँकै कारण लाग्ने रोगमा न्यूनीकरण हुनेमा उनको विश्वास छ।

विद्युत महसुलमा छुट दिने कार्यलाई निरन्तरता दिने थापाले बताए। हाल २० युनिटसम्म लाग्ने शुल्क गाउँपालिकाले तिर्दै आएको छ। यसको दरमा वृद्धि गरी अझै बढी छुट दिने र भान्छामा हुने सबै काम विद्युतबाट नै गराउने खालका कार्यक्रम तथा बजेटको व्यवस्था गर्ने थापाले बताए।

यहाँका नागरिकको स्वास्थ्य बीमा गर्दा लाग्ने प्रिमियम शुल्क गाउँपालिकाले तिर्ने कार्यलाई निरन्तरता दिने थापाले बताए। यसअघि गाउँपालिका भित्र बसोबास गर्ने सबै नागरिकको स्वास्थ्य बीमा गाउँपालिकाले नै गरिसकेको छ।

SHARE