झाँक्रीको गृह जिल्लामा समाजवादीका नौ जना वडा सदस्य विजयी

0
289

हुमाकान्त पोखरेल
तम्घास, ०४ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की केन्द्रिय सचिव एवम् शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको गृह जिल्ला गुल्मीमा समावादी पार्टीका नौ जनाले वडासदस्य जितेका छन् ।

जिल्लाका विभिन्न पालिकामा पाँच दलीय गठबन्धन बनाएर समाजवादीका सदस्यले निर्वाचनमा जित हाँसिल गरेका हुन् । जसअनुसार मदाने र मुसिकोटमा तीन÷तीन, मालिकामा दुई र इस्मा गाउँपालिकामा एकजना वडासदस्य विजयी भएको पार्टीका जिल्ला अध्यक्ष नरेशकुमार भण्डारीले जानकारी दिनुभयो ।

मदानेमा ‘रुख’ चिन्ह लिएर वडा नम्बर १ मा खिम बहादुर केसी, वडा नम्बर २ मा महेन्द्र जिसी र वडा नम्बर ३ मा सुन्तला विक वडासदस्यमा विजयी हुनुभयो ।

मालिकामा ‘हँसिया हथौडा’ चिन्ह लिएर वडा नम्बर २ मा तातीदेवि विक, वडा नम्बर ८ मा ‘रुख’ चिन्ह लिएर सागर गिरी निर्वाचित हुनुभएको छ । त्यस्तै ‘रुख’ चिन्हबाट इस्मा – ६ मा गोपाल सुनार, मुसिकोट – २ मा राधिका घिमिरे र राम बहादुर महत एवम् मुसिकोट –३ मा सावित्रा भण्डारी निर्वाचित भएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । पार्टीले मुसिकोट र धुर्कोटमा उप–मेयर, उपाध्यक्ष उठाएपनि सफलता पाएनन् । जिल्लाभरी समाजवादीका २० जना उम्मेदवार रहेका थिए ।

पार्टीका जिल्ला अध्यक्ष भण्डारीले बुधबार एक विज्ञप्ती जारी गर्दै मतदाता एवम् मतदानलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद् दिनुभएको छ । स्थानीय तहको निर्वाचनमार्फत आफ्नो पार्टी सफल हुन नसकेपनि प्रतिगामीलाई पराजित गर्न सफल भएको भण्डारीले बताउनुभयो ।

गुल्मीमा काँग्रेसले पाँच, माओवादी केन्द्रले चार एवम् एमालेले तीन पालिकामा प्रमुख जितेका छन् । ०७४ को निर्वाचनमा एमालेले सात, काँग्रेसले चार एवम् माओवादी केन्द्रले एक पालिकामा प्रमुख जितेका थिए ।

SHARE