निर्वाचनमा खटिने कर्मचारीहरुलाई तालिम सम्पन्न, जगेडामा पाँच जना मतदान अधिकृत

0
455

गीता पाण्डे
वैशाख २६ ,२०७९ गुल्मीः वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खटिने कर्मचारीहरुलाई एक दिने तालिम प्रदान गरिएको छ ।

मतदान केन्द्रहरुमा खटिने निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतहरुलाई शनिवार र आइतबार गरी दुई चरणमा तालिम प्रदान गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका अधिकृत माया कुँवरले जानकारी दिनुभयो ।

जिल्लामा २७९ मतदान केन्द्रका लागी , २७९ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई दुई चरणमा गरी तालिम प्रदान गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिनुभयो ।

उहाँहरुलाई तालिम पश्चात निर्वाचन सामग्री प्रदान गरी निर्वाचन केन्द्रमा पठाइने निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
तालिमको सहजीकरण मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेती,प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल,प्रहरी उपरीक्षक भीमबहादुर दाहाल र स्थानीय तहमा खटिएका निर्वाचन अधिकृतहरुले गर्नुभएको थियो।

जगेडामा पाँच जना मतदान अधिकृत
निर्वाचनको समयमा केही भैपरी आउन सक्ने भन्दै पाँच जना मतदान अधिकृतहरुलाई जगेडामा राखिएको कार्यालयले जनाएको छ ।
निर्वाचनको समयमा कुनै मतदान अधिकृतहरुलाई केही भैपरी अवस्था आउन सक्ने भन्दै पाँच जना मतदान अधिकृतहरुलाई तालिम प्रदान गरी जगेडामा राख्ने गरी कार्य अगाडी बढेको सूचना अधिकारी पाण्डेले बताउनुभयो ।

वैशाख ३० गते हुने स्थानीय तहको लागि सुरक्षाकर्मी र स्वंयसेवकहरु वाहेक मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित एक हजार ३८७ जना कर्मचारी खटिने निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लामा १४२ मतदान स्थल रहेको छ भने २७९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
गुल्मीमा कुल दूई लाख २४ हजार २७६ मतदाता रहेको कार्यालयले जनाएको छ । जसमा महिला एक लाख १४ हजार २५१ , पुरुष एक लाख १० हजार ५९ र २ जना अन्य रहेको कार्यालयले जनाएको छ ।

SHARE