महालक्ष्मीका मेयर उम्मेदवार शिव कट्टेल घरघरमा पुग्दा स्थानीय उत्साहित

0
536

रामहरि कार्की
ललितपुर :महालक्ष्मी नगरपालिकाका मेयर उम्मेदवार शिव प्रसाद कट्टेलसहितको गठबन्धन टोलीले चुनावी प्रचारप्रसारलाई तीब्रता दिएको छ । चुनाव नजिकिँदै गर्दा मेयर, उपमेयर, वडाध्यक्षसहितको टोली घरदैलो कार्यक्रममा व्यस्त रहेको छ। घरदैलोे कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता देखिएको छ । नगरपालिकाको नयाँ नेतृत्वमा कट्टेललाई अघि सार्न स्थानीयवासी प्रचारप्रसारमा सहभागी हुँदै उनको पक्षमा भोट मागिरहेका छन् । उनीहरु पनि उत्साहित देखिएका छन् । घरदैलो कार्यक्रममा गठबन्धनमा रहेको नेपाली कांग्रेसले पनि कट्टेलको पक्षमा भोट मागिरहेको छ ।

महालक्ष्मी नगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का शिव प्रसाद कट्टेल मेयरका प्रत्यासी छन् । तीन दशकदेखि महालक्ष्मी क्षेत्रमा सामाजिक कार्यसँगै माओवादी केन्द्रको राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका कट्टेल अहिले सोहि क्षेत्रमा मेयर बन्ने दौडमा छन् । उनी विहान सवेरैदेखि राती अबेरसम्म स्थानीयको घरदैलोमा पुग्ने गरेका छन् ।

कट्टेलसँगै सोही नगरपालिकामा गठबन्धनको तर्फबाट उपमेयर उम्मेदवार बनेकी महर्जन पनि घरदैलोमा पुग्ने गरेकी छन् । उनीहरुले शुक्रबार पनि सदाझै विहानैदेखि घरदैलो कार्यक्रम सुरु गरेका छन् । शुक्रबार महालक्ष्मी–१, इमाडोल, लुभू, सिद्धिपुर क्षेत्रका स्थानीयको घरदैलोमा उम्मेदवार पुगेका छन् । उनीहरुले पालिकाको नेतृत्व आफूहरुले गर्न सके ‘एक घर एक धारा’को व्यवस्था गर्ने पनि स्थानीयसामु प्रतिवद्धता जनाएका छन् । शुक्रबार गरिएको घरदैलो कार्यक्रममा करिब ५ सय स्थानीय र पार्टीका नेता कार्यकताको सहभागी रहेको छ । दिनभरीनै प्रचारप्रसार र घरदैलो कार्यक्रममालाई तीब्रता दिने मेयरका उम्मेदवार कट्टेलले बताए । उनले भने, ‘अरु बेला पनि सकेसम्म स्थानीयको घरघरमा पुगेको हो, तर चुनावको बेला अघि धेरै पुग्नुपर्छ,’ उनले भने, ‘घरदैलोमा स्थानीयवासीको निकै उत्साह छ, त्यसैले म खुशी छु ।’ उनले आफूले चुनाव जिते प्रतिवद्धता जनाएका सबै कामहरु पाँच वर्षमा गरिसक्ने बताए ।

महालक्ष्मी नगरपालिकामा सत्ता गठबन्धन भएपनि नेकपा (एकिकृत समाजवादी) ले छुट्टै उम्मेदवार अघि सारेको छ । यहाँ माओवादी केन्द्रलाई कांग्रेसको साथ छ । त्यस्तै एमालेबाट हरिगोविन्द श्रेष्ठ मेयरका उम्मेदवार छन् । यसअघि एमालले जितेको उक्त नगरपालिकामा यसपटक भने माओवादी केन्द्रले नै बाजी मार्ने अवस्था देखिएको छ । यद्यपी सबै दलका उम्मेदवार आ–आफ्नै तवरले चुनावी प्रचारप्रसारमा केन्द्रित बनेका छन् ।

यी हुन माओवादी केन्द्रका वडाअध्यक्षका उम्मेदवारहरु

महालक्ष्मी नगरपालिकामा वडा नं. १, ६, ८ र १० मा सत्ता गठबन्धन दलसँग मित्रवध प्रतिस्पर्धा गर्ने माओवादी केन्द्रले जनाएको छ । भने बाँकी रहेको वडा नं. २, ३, ४, ५, ७ र ९ मा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने माओवादी केन्द्रले जनाएको छ ।

महालक्ष्मी नगरपालिकाको वडा नं. १इमाडोलका माओवादी केन्द्र तर्फबाट वडा अध्यक्षका उम्मेदवार अभिषेक खत्री केसी, दलित महिला सदस्य सरिपा परियार, महिला सदस्य, महिला मिनु प्रधान, खुल्ला सदस्यहरु तिलक बहादुर वि.क र दिनेश महर्जन चुनावी मैदानमा रहेका छन् । यस वडामा नेकपा एमाले, एकीकृत समाजवादी, नेपाली कांग्रेस र राप्रपाले समेत उम्मेदवारी दिएका छन् ।

महालक्ष्मी–६मा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार धर्म महर्जन, दलित महिला सदस्य लक्ष्मी तिखत्री, महिला सदस्य शोभा महर्जन, खुल्ला सदस्यहरु सुरेन्द्र महर्जन र शसान महर्जन चुनावी मैदानमा रहेका छन् ।

महालक्ष्मी नगरपालिकाको वडा नं. ८ का माओवादी केन्द्र तर्फबाट वडा अध्यक्षका उम्मेदवार सानुकान्छा श्रेष्ठ, दलित महिला सदस्य तुलसी विश्वकर्मा, महिला सदस्यइन्द्र कमल श्रेष्ठ, खुल्ला सदस्यहरु प्रेम कृष्ण महर्जन र रविन्द्र महर्जन चुनावी मैदानमा रहेका छन् ।

महालक्ष्मी–१० का माओवादी केन्द्र तर्फबाट वडा अध्यक्षका उम्मेदवार बलराम लामा, दलित महिला सदस्य सरिता सुनार, महिला सदस्य निशा गुरुङ, खुल्ला सदस्यहरु राजकुमार तामाङ र सेते तामाङ चुनावी मैदानमा रहेका छन् ।

SHARE