घोराही उपमहानगरपालिकामा मेयर र उपमेयरमा गठबन्धन बलियो

0
242

पाण्डव शर्मा
घोराही, १७ बैशाख । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशको सबैभन्दा ठूलो उपमहानगर पालिका दाङको घोराहीमा अहिले चुनावी सरगर्मी बढेको छ । चुनावी माहोल तातेसँगै मेयर र उपमेयर पद हात पार्न पाँच दलीय गठबन्धनका उम्मेदवार र एमालेका एकल उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।

घोराही उपमहानगरपालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले मेयरमा माओवादीका केन्द्रीय सदस्य हेमराज शर्मा पोखरेल (डायमण्ड) र उपमेयरमा नेपाली कांग्रेसका नेता भूपबहादुर डाँगीलाई अघि सारेको छ । एमालेले भने यसअघिकै मेयर नरुलाल चौधरीलाई मेयरमा दोहो¥याएको छ भने उपमेयरमा हुमा डिसीलाई अघि सारिएको छ ।

घोराहीमा यसअघिको निर्वाचनमा एमालेका नरुलाल चौधरीले नेपाली कांग्रेसका भूपबहादुर डाँगीलाई ४ हजार ५ सय ४६ मतान्तरले जितेका थिए । नरुलालले २२ हजार ३० मत ल्याउँदा भूपबहादुरले १७ हजार ४ सय ८४ मत ल्याएका थिए । गएको निर्वाचनमा माओवादीका उम्मेदवारले १२ हजार ८२ मत ल्याएका थिए । नेपाली कांग्रेसका मेयरका उम्मेदवार भूपबहादुर डाँगी अहिले गठबन्धनवाट उपमेयरको उम्मेदवार बनेको र माओवादी, कांग्रेस र जनमोर्चासहितका दलले मेयरमा साझा उम्मेदवारका रुपमा हेमराज शर्मालाई अघि सारेकाले घोराहीमा गठबन्धन धेरै बलियो देखिएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरे घोराहीमा वडासम्म नै कांग्रेस, माओवादी र जनमोर्चाबीच तालमेल भएकाले मेयर, उपमेयरसहित वडासम्म नै सजिलै जित हासिल हुने बताउँछन् ।

राष्ट्रिय सभामा कांग्रेस सांसद अनिता देवकोटाले पनि घोराहीमा गठबन्धनको जित सुनिश्चित भएको बताउँछिन् । नेपाली कांग्रेस र माओवादीले सर्वसम्मत् उम्मेदवार छनौट गर्नु तथा एक ढिक्का भएर नेता कार्यकर्ताहरु चुनाव प्रचारमा लाग्नुले गठबन्धनको जितप्रति कुनै शंका गर्न नहुने बताउँछिन् ।
कांग्रेस नेता कमल किशोर घिमिरेले एमालेले माओवादीलाई कांग्रेसले भोट हाल्दैन भनेर हल्ला फैलाएको वताउँदै लोकतन्त्रका लागि ठूलो त्याग र संघर्ष गरेको नेपाली कांग्रेसले संविधान रक्षा र लोकतन्त्र बचाउन माओवादीसँग गठबन्धन गरेको वताए । घिमिरेले अहिले हरेक सच्चा कांग्रेसीले हसिया र हथौडामा भोट हालेर माओवादीका हेमराज शर्मालाई मेयरमा जिताउने र माओवादीवाट पनि उपमेयरसहितका उम्मेदवारलाई रुख चिन्हमा भोट हालेर जिताउने विश्वास व्यक्त गरे ।

माओवादीका केन्द्रीय सदस्य निर्मल आचार्यले घोराहीमा गठबन्धन दलबीचको आपसी विश्वास र एकता नै जितको बलियो आधार रहेको वताउँदै एमालेले घोराहीको मेयरमा एकपटक असफल भइसकेका व्यक्तिलाई पुनः अघि सार्नु र एमालेबाट अलग्गिएर गठन भएको नेकपा एकीकृत समाजवादीले घोराहीमा छुट्टै उम्मेदवार उठाउनुको असर एमालेलाई पर्ने भएकाले गठबन्धनका उम्मेदवारले ठूलै मतान्तरले जित्ने ठोकुवा गरे ।

जनमोर्चाका केन्द्रीय सदस्य गणेश आचार्यले यसअघिको निर्वाचनमा एक्लै लडेको जनमोर्चाले यसपटक घोराहीमा गठबन्धनका मेयर र उपमेयरका उम्मेदवारलाई समर्थन गरेकाले गठबन्धनको जितलाई थप सुनिश्चित पारेको वताए ।

घोराहीमा उम्मेदवारी मनोनयनपछि दुई दिनसम्म आन्तरिक तयारी र प्रशिक्षण भेला गरेका गठबन्धनका उम्मेदवारहरु बैशाख १५ देखि नै औपचारिकरुपमा चुनावी अभियानका लागि टोल टोलसम्म पुगेका छन् । बैशाख १५ र १६ गते घोराहीका वडा नं ५, ६, ७ देखि१०,१३, १६, १७, १८ का चुनावी सभा तथा प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरिसकेका मेयर र उपमेयरका उम्मेदवार हेमराज र भूपबहादुर गठबन्धनको जितप्रति विश्वस्त देखिन्थे ।

१७ गते दिनभर पनि दुवै उम्मेदवार घोराहीका वडा नं १, २, ३, ४ र १८ मा मतदातासँग जनभेटघाटमा व्यस्त रहे । जनभेटघाट र चुनावी सभामा आगामी ५ वर्षमा घोराहीलाई समृद्ध, विकसित र सुखी बनाउने योजना हेमराज र भूपबहादुरले प्रस्तुत गर्दा जनता र पार्टी कार्यकर्ताले गडगडाहट तालीले समर्थन जनाइरहेका थिए । गठबन्धनका तर्फवाट यो जोडीले चुनाव जितेमा घोराही उपमहानगरपालिकाको मुहार फेरिनेमा मतदातासमेत विश्वस्त देखिन्थे ।
यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसवाट मेयरको उम्मेदवार उठेर निकटतम प्रतिद्वन्दी भएका भूपबहादुर डाँगीले अहिले आफ्नो व्यक्तिगत चाहनाभन्दा गठबन्धनको आवश्यकता, मतदाता एवम् पार्टीका सबै साथीहरुको आग्रहमा घोराहीमा केही काम गरौं भन्ने भावनाले उपमेयरमा उम्मेदवार बनेको बताए । उनले गठबन्धनका तर्फवाट माओवादीले अत्यन्तै भद्र, मिलनसार, बौद्धिक व्यक्तित्व हेमराज शर्मालाई मेयरको उम्मेदवार बनाएकोमा खुशी व्यक्त गर्दै आफूहरुको जित नै जनताको जित हुने बताए । उनले गठबन्धनवाट आफूहरुले जितेमा भ्रष्टाचार हुन नदिने, विकास निर्माणका कामलाई तिव्रता दिने र जनताका समस्याहरु सम्बोधन गरिने विश्वास दिलाए ।

मेयरका उम्मेदवार हेमराज शर्माले समृद्ध उपमहानगरपालिका निर्माण गर्नुपर्ने जिम्मेवारीका लागिसाझा उम्मेदवारसहित जनताका बीचमा आएको बताउँदै आफू मात्रै विजयी हुनेभन्दा गठबन्धनका सबै साथीहरूलाई विजयी गराउन मतदातामा आग्रह गरिरहेका थिए।

घोराहीमा मेयर पदमा गठबन्धन र एमाले बाहेक अन्य दलबाट समेत उम्मेदवारी परेको छ । नेकपा (एकीकृत समाजवादी) बाट रामप्रसाद चौधरी, राप्रपाबाट सरिता देवकोटा, मालेका नेत्रप्रसाद पाण्डेय, विवेकशील साझाका सूर्यप्रसाद पौडेल, मंगोल अर्गनाइजेसनका कल्पना चौधरी, नेपाली कांग्रेस विपीका गोविन्द शर्मा, मौलिक जरोकिलो पार्टीका दीर्घराज भण्डारी, स्वतन्त्रवाट लिलाबहादुर पुनसहित १४ जनाले मेयर पदमा मनोनयन दिएका छन् ।

उपमेयरमा पनि नेकपा (एकीकृत समाजवादी)वाट शोभा शाह, मालेका राधिका क्षेत्री, मंगोल अर्गनाइजेसनवाट निर्मल थापा, विवेकशील साझा वाट लक्ष्मी जिएम, स्वतन्त्र बसन्तकुमारी भट्टराईसहित ८ जनाले मनोनयन दर्ता गराएका छन् ।

SHARE