रामपुरमा तीन दिन सामुहिक बेलविवाह हुँदै

0
376

–सुशीला रेग्मी
रामपुर (पाल्पा), ५ वैशाख : पाल्पाको रामपुरमा हुन लागेको सामुहिक बेलविवाह (ईहि यज्ञ) का सन्दर्भमा पत्रकार भेटघाट कार्यक्रम भएको छ ।

नेवा ः समाज रामपुर पाल्पाको आयोजनामा हुने कन्याहरुको बेलविवाह (ईहि) र बटुक (कुमार)हरुको व्रतबन्धबारे समाजले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । आउँदो वैशाख ८, ९ र १० गते सामुहिक रुपमा धुमधामका साथ रामपुरमा कन्याहरुको बेलविवाह र बटुकहरुको ब्रतबन्ध कार्यक्रम आयोजना गरिएको हो ।

नेवारी संस्कृति र परम्परा अनुसार हुने कार्यक्रमबारे नेवा ः समाजका अध्यक्ष बाबुराम श्रेष्ठले पत्रकारलाई जानकारी गराउनुभएको छ । अध्यक्ष श्रेष्ठले प्रचार प्रसार, यज्ञस्थल सरसफाई लगायतका काम, बेलविवाहमा आवश्यक सम्पुर्ण पुजा सामाग्री आयोजकले व्यहोर्ने, तीन कन्या, पन्चकन्या, नौ कन्या, १६ कन्या र साधारण कन्यालाई फरक फरक खालको शुल्क लिईने बताउनुभयो ।

बेलविवाहमा सरिक हुन ईच्छुक तर आर्थिक अभावको समस्या भएका अति विपन्न परिवारलाई समाजले सहयोग गर्ने बताउनुहुदै अध्यक्ष श्रेष्ठले अहिलेसम्म पोखरा, बुटवल लगायतका स्थानबाट विवाहमा सहभागी हुन सम्पर्कमा आएको जानकारी दिनुभएको छ । गत माघमा यज्ञ सञ्चालन गर्ने तयारी गरिएपनि कोभिडका कारण रोकिएको स्थगित भएको थियो । काठमाडौबाट आउने राज पुरोहितहरु मार्फत यज्ञ विधि सञ्चालन गरिनेछ ।

नेवा समाज रामपुरका प्रमुख सल्लाहकार राजुप्रसाद श्रेष्ठले समाजले रामपुरमा नेवारी संस्कृति जोगाउन लाखेनाच, गाईजात्रा, रोपाई जात्रा जस्ता संस्कृती संरक्षण गर्दै पर्वअनुसार बेला बेलामा प्रदर्शन गदै आएको बताउनुभएको छ । बेलविवाहलाई बृहत् उत्सवको रूपमा मनाउने अध्यक्ष श्रेष्ठले बताउदै यस कार्यमा सहभागी भइदिनुहुन अनुरोध गर्नुभएको छ ।

यज्ञमा १५० बढी कन्याहरुको ईहि र २० जना बढी बटुकहरुको व्रतबन्ध गर्ने लक्ष्य रहेको समाजले जनाएको छ । नेवारी परम्परा अनुसार रजस्वला हुनु अघि कन्याहरुको बेलविवाह र किशोरहरुको व्रतबन्ध गर्नुपर्ने भएकाले संस्कार संस्कृतिलाई निरन्तरता दिदै समुदायको सहजताको लागि समाजले समय समयमा यज्ञ सञ्चालन गर्दै आएको छ । नेवारी परम्परा अनुसार बेलविवाह गरेपछि कन्याहरुले सिन्दुर लगाउन पाउनेछन् । साथै बेलसंग विवाह गरेका कन्याले श्रीमान गुमाए पनि सिन्दुर र रातो बस्त्र लगाउन पाउने चलन रहेको छ ।

यज्ञ सम्पन्न गर्नको लागि विभिन्न उपसमिति गठन गरिएको छ । यज्ञलाई सम्पन्न गर्न सुकमाया श्रेष्ठको नेतृत्वमा पुजा व्यवस्थापन उप–समिति, बिनोद श्रेष्ठको संयोजकत्वमा खान व्यवस्थापन उप–समिति, प्रेमप्रकाश श्रेष्ठको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, रुद्रनारायण श्रेष्ठको संयोजकत्वमा अतिथि सत्कार उप–समिति, सुनिल श्रेष्ठको संयोजकत्वमा स्वयंसेवक तथा सुरक्षा उप–समिति, राजकुमार श्रेष्ठको संयोजत्वमा आर्थिक व्यवस्थापन समिति, चन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा पानी व्यबस्थापन उप–समिति, श्यामकुमार श्रेष्ठको संयोजकत्वमा मञ्च व्यवस्थापन उप–समिति, अशोक श्रेष्ठको संयोजकत्वमा भिडियो तथा कार्ड व्यवस्थापन उप–समिति, रितुमान श्रेष्ठको संयोजकत्वमा कपडा व्यवस्थापन उप–समिति, पुननारायण श्रेष्ठको संयोजकत्वमा होटल व्यवस्थापन उप–समिति, नन्दलाल श्रेष्ठको संयोजकत्वमा पुजा व्यवस्थापन उप–समिति गठन गरेर तयारी अघि बढाएको समितिले जनाएको छ ।

समाजमा १३७ घरपरिवार आबद्ध रहेको छ । यज्ञ सम्पन्न गर्नको लागि करिव रु पन्ध्र लाख बढी खर्च हुने जनाएको छ । नहर अफिस बगैचामा यज्ञ हुने जनाइएको छ । यज्ञ अन्तर्गत बटुकहरुको ब्रतबन्ध बैशाख ८ गते हुनेछ भने कन्याहरुको ईहि ९ र १० गते हुनेछ । समाजले यसअघि २०६२, २०६७ र २०७२ मा पनि यज्ञ सञ्चालन गरेको थियो । समाजका अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समाजका सचिव बिमल श्रेष्ठले गर्नुभएको हो ।

SHARE