नेपालको अर्थतन्त्र श्रीलंका जस्तो हुँदैन : अर्थमन्त्री

0
742

काठमाडौं, २६ चैत :अर्थमन्त्री जर्नादन शर्मा प्रभाकरले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धरासयी नहुने प्रष्ट पार्नुभएको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र तुलनात्मक रुपले आन्तरिक रुपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलंका जस्तो नेपालको अर्थतन्त्र हुने कुरामा कुनै सत्यता नरहेको बताउनुभयो ।

‘अहिलेको अर्थतन्त्रमा समस्या आउला की भनेर चिन्ता गर्नेहरुलाई धेरै धन्यवाद दिनुपर्छ । किनभने यस्तो चिन्ता र सुझावले सरकारसँगै सबै सरोकारवालाई सतर्क बनाइरहेको छ’ उहाँले भन्नुभयो, ‘कतिपयलाई भने नेपालको अर्थतन्त्र श्रीलंका जस्तो बनाउने रहर छ, तिनको सपना पुरा हुँदैन ।’

नेपाल र श्रीलंकाबीच तुलनै नहुने भएकाले अर्थतन्त्र श्रीलंका जस्तो नहुने उहाँको भनाई थियो । ‘हाम्रो ऋण र उत्पादनको अवस्था, बिदेशी लगानी, ऋण सहायता लगाायतका तथ्यांक हे¥यौं भने श्रीलंकासँग तुलना नै हुन सक्दैन । तुलना हुनै नसक्ने बिषयलाई लिएर एकथरीले जनतालाई जुन हिसाबले आतंकित बनाउने काम गरिरहेका छन् । त्यसको तपाई हामी सबै मिलेर खण्डन गर्नुपर्छ’ उहाँले भन्नुभयो ।

श्रीलंकासँग तुलना गर्दै नेपालको अर्थतन्त्र पनि धरासयी हुन्छ भन्दै बहस गर्नेहरुलाई सकारात्मक भई दबाबमा रहेको नेपालको अर्थतन्त्र सुधारका बिषयमा चिन्तन गर्न उहाँले अपिल गर्नुभएको छ । ‘हाम्रा प्राथमिकता, लिनुपर्ने नीति, आवश्यकतालगायतका बिषयमा बहस गरेर दबाबमा रहेको हाम्रो अर्थतन्त्रलाई माथी उठाउनका लागि बहस गरौं’ उहाँले भन्नुभयो ।

क्रिप्टोकरेन्सी, हाइपर फण्डलगाायतका कारण नेपालबाट ‘क्यापिटल फ्लाई’ भइरहेको सूचना आफूले ५ महिनाअघि नै थाहा पाएर राष्ट्र बैंकलाई जानकारी गराएको पनि उहाँले बताउनुभयो । तर, यो समस्या समाधान गर्न उचित कदम चाल्न नसक्दा अहिले अवैद्य रुपमा पैसा बाहिरिन थालेको उहाँको भनाई थियो । ‘प्रविधिको विकासबाट आउने चुनौतीबाट त्रसित हुने होइन । यसको दुरुपयोग हुन नदिने गरी हामीले कदम चाल्नुपर्नेमा ध्यान दिनुपर्छ’ उहाँले भन्नुभयो ।

अर्थतन्त्र यतिबेला दबाबमा रहेको बताउँदै उहाँले सबै क्षेत्रबाट सहयोग लिएर सुधार गर्नुपर्ने खाँचो रहेको बताउनुभयो । काम गर्ने परम्परागत शैली लाई परिवर्तन गरेर मात्रै अर्थतन्त्रमा सुधार ल्याउनसक्ने उहाँको भनाई थियो । मुलुक भित्र भएका स्रोत साधनको अधिकतम उपयोग गर्नुपर्ने, मुलुक भित्रै उत्पादनजन्य गतिविधि तथा ठूला पूर्वाधारको निर्माण थालेर रोजगारी सृजना गर्नुपर्ने र निर्यात वृद्धिको पहल गर्नुपर्ने चुनौती रहेको बताउनुभयो ।

बैदेशिक रोजगारीमा जाने नेपालीबाट रेमिट्यान्स प्राप्त गरेपछि उनीहरुलाई पनि विभिन्न सहुलियत दिनुपर्ने बिषयमा सरकारले आवश्यक गृहकार्य अघि बढाएको उहाँले जानकारी दिनुभएको थियो । कोभीड १९ का कारण सुस्ताएको पर्यटन क्षेत्रलाई वृद्धि गर्न सरकारले विशेष पहल थालेको उहाँको भनाई छ ।

SHARE