गुल्मीमा ६८ हजार ६ सयलाई टाइफाइड बिरुद्धको खोप दिइने

0
415

सन्तोष महतारा
गुल्मी, २१ चैत : गुल्मीमा जिल्ला खोप समन्वय समिति तथा संचारकर्मीहरुलाई अभिमुखिकरण गरिएको छ । टाइफाइड रोग बिरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइडको सुरुवातका लागि स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा सोमबार अभिमुखिकरण गरिएको हो ।

देशभर अभियानका रुपमा संचालन गरिने टाइफइड बिरुद्धको खोप अभियान अन्तर्गत गुल्मीमा यही चैत २५ गतेदेखि ३० गतेसम्म टाइफाइड बिरुद्धको खोप दिइने स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यले जानकारी दिए । १ वर्ष ३ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि टाइफाइड बिरुद्धको खोप दिइने आचार्यले बताए । गुल्मीमा यस उमेरसमूहका कुल ६८ हजार ६ सयलाई खोप दिइने तयारी भइरहेको छ ।

जिल्लास्थित सबै विद्यालय र अपायक पर्नेलाई स्वास्थ्यचौकी तथा आवश्यकताका आधारमा अन्य ठाउँबाटपनि खोप दिइने तयारी गरिएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । टाइफाइड एकप्रकारको ज्यान जोखिम पार्ने संक्रामक रोग हो । यो १ लाख जनसंख्यामा १ सय भन्दा बढीमा भेटिएमा बढी जोखिम मानिन्छ । विश्वमा हरेक वर्ष २ करोडमा टाइफाइडको संक्रमण र १ लाख ६१ हजार टाइफाइडमा कारण मरेका छन् ।

नेपालमा अहिले १ लाखमा १ हजार ६२ र १५ वर्ष मुनिका १ लाख बालबालिकामा १० हजार ९ सय ६० जनामा टाइफाइडको संक्रमण भेटिएकोले लक्षित समूहकोरुपमा बालबालिकालाई राखेर खोप लगाउन थालिएको हो । १ जना स्वास्थ्यकर्मी, १ जना महिला स्वास्थ्य स्वंमसेविका र १ जना विद्यालयकी शिक्षिकालाई खोप केन्द्रमा खटाएर खोप दिइने छ । खोपको ९६ दशमलव ९५ प्रतिशत प्रभाव रहेको अध्ययनले देखाएको छ । स्थानीय तहका स्वास्थ्य संयोजकमार्फत स्वास्थ्यचौकीका इञ्चार्जहरुले आफ्नो वडामा लाभग्राहीलाई अनिवार्य खोप लगाउन स्वास्थ्य कार्यालय गुल्मीले निर्देशन गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले आवश्यकता महशुस गरेकोले कुनै लाभग्राहीलाई नछुटाइकन खोप उपलब्ध गराउन स्वास्थ्य कार्यालाई निर्देशन दिए ।

त्यस्तै जिल्ला समन्वय समिति गुल्मीकी उपप्रमुख तुल्सी कुमारी श्रेष्ठले ब्यापक प्रचारप्रसार गरेर खोप उपलब्ध गराउनपर्ने बताइन् । त्यस्तै रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लाीराज भुसालले गुल्मीमा कोभिड महामारीमा स्वास्थ्य कार्यालय गुल्मीले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै टाइफाइडबिरुद्धको खोपमापनि त्यसरी लाग्न आग्रह गरे । स्वास्थ्य कार्यालय गुल्मीले अहिलेसम्म ९ चरणमा कोरोना बिरुद्धको खोप लगाइसकेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले खोपलाई प्रभावकारी बनाएर लक्षित समूहसम्म अनिवार्य रुपमा पुराउन सबै संयन्त्र परिचालन गर्नुपर्ने बताए । पराजुलीले लाभग्राही तथा लक्षित समूहलाई अनिवार्य रुपमा खोप लगाउन आग्रह गरे ।

SHARE