
सन्तोष महतारा
चैत१८,२०७८ गुल्मीः गुल्मीमा हेफर इन्टरनेशनल नेपाल र स्थानीय तहबीच झण्डै २० करोडमा सम्झौता गरेर संचालन गरिएको आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रमको छलफल तथा समिक्षा गरिएको छ ।
जिल्लाको सदरमुकाम तम्घासमा हेफर इन्टरनेशनल नेपाल र संस्था मार्फत कार्यक्रम संचालित ५ स्थानीयका सम्बन्धित निकायसँग सम्झौता गरिएको १९ करोड ५३ लाख ६९ हजार ३ सय ५६ रुपैयाँको लागतमा संचालित कार्यक्रमको छलफल तथा समिक्षा गरिएको हो ।
जिल्लाको मुसिकोट नगरपालिका, मालिका गाउँपालिका, मदाने गाउँपालिका, धुर्काेट गाउँपालिका र इस्मा गाउँपालिकामा हेफर इन्टरनेशनलले आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत बाख्राको क्षेत्रमा काम गरिरहेको हेफर इन्टरनेशनल नेपालका बरिस्ठ प्रवन्धक प्रेम साम्ब्युले जानकारी दिए ।

हेफरबाट इन्टरनेशनलबाट संचालित कार्यक्रमले सर्वसाधारणमा बचत गर्ने बानी, साना किसान संगठित, महिला सशक्तीकरण, नेतृत्व विकास, महिला सहभागीमा वृद्धि, व्यवसायीकतातर्फ उन्मुख, साना किसानको पहुँचमा वृद्धि, साना किसानको सम्पत्ति र आम्दानीमा वृद्धि, सामाजिक सद्भावको विकास र सामाजिक रुपान्तरण र स्थानीय सरकारको बजेट तल्लो तहका नागरिकको घरघरमा पुगेको हेफर इन्टरनेशनल नेपालले जनाएको छ । “आर्थिक समृद्धिका लागि हेफरको साझेदारीमा स्थानीय तहसँग काम गरिरहेका छौं ।” हेफर इन्टरनेशनलका बरिस्ठ प्रवन्धक साम्ब्युले भने, “३० महिनाको कार्यक्रम अन्तर्गत गुल्मीका ५ पालिकामा २६ महिना काम गरिसकेका छौं ।” पाँच स्थानीय तहमा पाँच साझेदार संस्था अन्तर्गत १७ सहकारीले काम गरिरहेको बरिस्ठ प्रबन्धक साम्ब्युले बताए ।
गुल्मीका पाँच स्थानीय तहको कुल १४ करोड ६५ लाख २७ हजार १७ रुपैयाँ र हेफर इन्टरनेशनल नेपालको ४ करोड ८८ लाख ४२ हजार ३ सय ३९ रुपैयाँ लगानीमा काम भइरहेको हेफर इन्टरनेशनल नेपालका सह–निर्देशक दुर्गा केसीले बताए । कार्यक्रमबाट जिल्लाका १० हजार ८ सय १७ परिवार संख्यालाई लक्षित गरिएकोमा कुल २ हजार ३ सय ७९ घरपरिवारमा उपलब्धि भइसकेको संस्थाका सह–निर्देशक केसीले जानकारी दिए ।
कार्यक्रममा ६ हजार १ सय ९३ घरपरिवार दलित र २ हजार २ सय ४५ घरपरिवार जनजाति समेटिएका छन् । पाँच पालिकामा कार्यक्रम अन्तर्गत अहिलेसम्म ४ सय ७ सय ६ बाख्रा, ४ सय ३९ बिउ बोका र २ हजार ९ सय २९ बाख्राको खोर वितरण गरिसकिएको साझेदार संस्थाहरुले बताएका छन् । साझेदारी संस्थाका अनुसार कुल १७ सहकारीमा ७ हजार १ सय ६१ सेयर सदस्यहरु आबद्ध रहेका छन् ।
धुर्काेट गाउँपालिकामा संचालित कार्यक्रममा गाउँपालिकाको कुल ३ करोड ३ लाख ६२ हजार एक सय १० रुपैयाँ र हेफर इन्टरनेशनल नेपालको १ करोड १ लाख २१ हजार ९ सय २० रुपैयाँ गरेर जम्मा ४ करोड ४ लाख ८४ हजार ३० रुपैयाँ लगानी गरिएको संयोजक शंकर नेपालीले जानकारी दिए ।
मुसिकोट नगरपालिकाको आफ्नो ३ करोड ३२ लाख ४५ हजार ५६ रुपैयाँ र हेफरको १ करोड १० लाख ८२ हजार ४ सय ८३ रुपैयाँ परियोजना संयोजक बाबुराम पन्थीले जानकारी दिए । कार्यक्रममा इस्मा गाउँपालिकाको २ करोड ४० लाख ६६ हजार ३ सय ९३ रुपैयाँ र हेफरको ८७ लाख ७२ हजार २ सय ५ रुपैयाँ लगानी भएको परियोजना संयोजक प्रयास अधिकारीले बताए ।
मालिका गाउँपालिकाको २ करोड ८१ लख ७ सय ७३ रुपैयाँ र हेफरको ९० लाख ६८ हजार १ सय ५५ रुपैयाँ लगानी भएको छ । मदाने गाउँपलिकाको ५ करोड ८५ लाख ७१ हजार ६ सय ८५ र हेफरको ९७ लाख ९७ हजार ५ सय ७६ रुपैयाँ लगानी भएको गाउँपालिकाले जनाएको छ । हेफर इन्टरनेशनल नेपालका प्रमुख डाक्टर तिर्थराज शर्माका अनुसार गुल्मीसहित २० जिल्लाका ५१ स्थानीय तहमा आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत काम भइरहेको छ । छलफल तथा समिक्षा कार्यक्रममा हेफरले कार्यक्रम संचालन गरेका स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत, साझेदारी संस्थाका प्रमुख तथा प्रतिनिधि र हेफर इन्टरनेशनलका प्रमुख तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।






