प्रदेश प्रमुखले दिए राजीनामा

0
447

चैत १४,२०७८दाङ : लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले राजीनामा दिएका छन्। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गत असोज २२ गते उनलाई प्राधिकरणको सिइओ नियुक्त गरेको थियो।

उनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। उनले विज्ञप्तिमा भनेका छन्, ‘देशप्रति गद्दारी गर्नुभन्दा मान्छे मात्र भएर बस्नु उचित ठानेँ।’ उनले राजीनामा दिनुको मुख्य कारण भनेको लुम्बिनी प्रादेशिक अस्पताल ठेक्का रद्द गर्नु हो।

०७८ फागुन २ गते पूर्वाधार विकास समितिको बैठकको निर्णयअनुसार ०७८ फागुन ८ गते लुम्बिनी प्रादेशिक अस्पतालको बोलपत्र प्रकाशित गरेको र शुरुका मितिदेखि नै केही संकुचित रहेको विषय आएपछि मिलेमतो हुनसक्ने भन्दै पटक(पटक सम्बन्धित निकायलाई अनुरोध गरेकोसमेत उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। उनका अनुसार उक्त ठेक्काको लागि २ निर्माण व्यवसायीले मात्र बोलपत्र दर्ता गरेका थिए।

ती २ निर्माण व्यवसायीलाई हार्डकपी पेश गर्न ३ दिनको समय दिइएकोमा दुवै फर्मको हार्डकपी लिएर एक जना मात्र आएपछि मिलेमतोको आशंका पुष्टि भएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

७ अर्बको ठेक्कामा प्रतिस्पर्धा हुँदा र नहुँदा राज्यलाई करिब डेढ अर्बको क्षति हुनसक्ने भन्दै मैले गम्भीर भएर सोचेँ र ठेक्का रद्द गर्दा ‘दलालको दलाल’ बन्नु नपर्ने निर्णयसहित सार्वजनिक खरिद ऐन २०६३ को दफा २४ बमोजिम लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का रद्द गरेको उनको विज्ञप्तिमा उल्लेख छ।

उनले आफू ०५६ सालदेखि हालसम्म आबद्ध पार्टीका सम्पूर्ण जिम्मेवारीबाट आजको मितिदेखि विश्राम लिएको जानकारीसमेत दिएका छन्। उनले आफू कुनै न कुनै रूपले देश निर्माणको अभियानमा संलग्न रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

SHARE