नेपाल निजामती कर्मचारी गुल्मीद्वारा सरकारलाई ज्ञापनपत्र

0
284

सन्तोष महतारा
चैत१४,२०७८ गुल्मीः नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति गुल्मीले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

सोमबार नेपाल निजामती कर्मचारी युनियन जिल्ला शाखा गुल्मीले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष मेघलाल पाण्डेले जानकारी दिए ।

सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदशी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्रदान हुने सेवा सुविधामा जनताको सहज र समान पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने राज्यको उद्देश्य रहेको सन्दर्भमा राष्ट्रसेवक कर्मचारीहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै देश संघीय राज्य व्यवस्थामा गएको लामो समयसम्म पनि सङ्घीय शासन प्रणालीको कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहको कर्मचारी प्रशासन व्यवस्थापन एवं मार्ग दर्शन गर्ने छाता कानूनको रूपमा रहेको संघीय निजामती सेवा ऐन जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्योल र अस्थिरतामा परेको ज्ञापन पत्रका उल्लेख गरिएको छ ।

साथै सार्वजनिक सेवा प्रवाहको प्रमुख माध्यमको रुपमा रहेको देशको निजामती सेवालाई व्यवस्थापन गर्ने विषय सरकारको प्राथमिकतामा नपर्नु गम्भीर चिन्ताको विषय भएको भन्दै यस्तो बिषयमा नेपाल निजामती कर्मचारी युनियनले नेपाल सरकार र सरोकारवाला निकायलाई पटक पटक ध्यानाकर्षण गराएको पनि नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष मेघलाल पाण्डेले हस्ताक्षर गरेको ज्ञापनपत्रमा भनिएको छ ।


समग्र निजामती प्रशासनको मार्गदर्शनको रूपमा रहेको ऐन निर्माणको प्रक्रियामा सरोकारवाला पक्षहरुको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेकोले यस्ता विषयमा सम्बन्धित पक्षहरुसंग सधन छलफलको आवश्यकता परेको पनि कर्मचारीहरुले बताएका छन् । सरकारद्वारा सार्वजनिक प्रशासनका विश्वव्यापी आधारभूत मूल्य मान्यता एवं कानुनका सर्वमान्य सिध्दान्त समेतलाई मनन गरी नेपाल निजामती कर्मचारी युनियनबाट पटकपटक सुझावहरुलाई पेश गरिएको पाण्डेले बताए ।

नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति गुल्मीका पदाधिकारी तथा सदस्यहरुको उपस्थितीमा बुझाइएको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले कर्मचारीको स्वार्थको लागि नभई नागरिकलाई सेवा प्रवाह गर्ने क्रममा कठिनाई परेकोले निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति गुल्मीको माग सकारात्मक रहेको भन्दै सम्बन्धित निकायसम्म पुराउने बताए ।

SHARE