इश्मामा छानविन गर्न बनेको समिति आफै अस्तायो

0
716

चैत २,२०७८ गुल्मी : गुल्मीको इश्मामा छानविन गर्न बनेको समिति आफै अस्ताएको छ ।

जिल्लाको इश्मा गाउँपालिकाका कर्मचारीहरुले कार्यालय समय भन्दा बाहिर काम गरी घण्टाको आधारमा प्रोत्साहन भत्ता लिएको बारेमा छानविन गर्न बनेको समिति आफै अस्ताएको हो ।
गत साउन २५ गते गाउँपालिकाले गठन गरेको छानविन समितिले सात महिना बित्न लाग्दा समेत केही छानविन गर्न सकेको छैन । वास्तबिक काम गरेको भन्दा धेरै समयको पारिश्रमीक लिएको गुनासो आएपछि छानविन समिति बनेको थियो ।

गाउँपालिकाको लेखा समितिका संयोजक भोला सिंह थापाको संयोजकत्वमा वडा नम्वर ३ र ४ का वडा अध्यक्षले सहजिकरण गर्ने गरी बनेको समितिले केही पनि काम नगरेको समितिका सदस्य तथा वडा नम्वर ४ का वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रबक्ता गनुप्रसाद अधिकारीले जानकारी दिए ।
छानविन गर्ने गरी बनेको समिति आफै अस्ताएको उहाँको प्रतिक्रिया छ । किन छानविन हुनसकेन त भन्ने प्रश्नमा उनले धेरै कुरा खोल्न चाहेनन् ।

बिशेषज्ञ ल्याएर गर्नु पर्छ भनेपछी हामी ब्याक भयौं : संयोजक
यता छानविन समितिका संयोजक भोला सिंह थापाले छानविन गर्न बनेको समितिको बैठक एक पटक मात्र बसेको बताए ।

उक्त बैठकले चुस्त दुरुस्त रुपमा छानविन गर्नका लागि कसरी जाने भन्ने बारेमा छफल भएको र अन्य निर्णय भने नगरेको बताए ।
कार्यपालिकाको बैठकबाट बिशेषज्ञ ल्याएर छानविन गर्ने भन्ने निर्देशन आएपछि आफूहरु ब्याक भएको र अहिले सम्म पनि बिशेषज्ञको टोली नआएको उनको भनाई छ ।

तीन महिनामा अधिकृतले ३५२ घण्टा अतिरिक्त कार्य गरेको भन्दै प्रोत्साहन भत्ता
गत आर्थिक बर्षको बैशाख देखी असार मसान्त सम्म तीन महिनाको अबधिमा झण्डै ३५२ घण्टा अतिरिक्त कार्य गरेको भन्दै तत्कालिन प्रमुख प्रशासकीय अधिकृत बिष्णुबहादुर घर्ती र लेखा प्रमुख अशोक खडकाले एक लाख ५ हजार ८२५ रुपैयाँ लिएका थिए ।
कामको आधारमा नभई पहुँचको आधारमा भत्ता
यस्तै कार्यालयमा काम गर्ने अन्य कर्मचारीहरुले पनि प्रोत्सान भत्ता पाएता पनि आफूहरुलाई कामको आधारमा नभएको गुनासो गरेका थिए ।
पहुँचको आधारमा ठूला बडाहरुले धेरै रकम लिएको र दिनरात खटिएर काम गर्ने अन्य कर्मचारीहरुलाई उपयोग मात्र गरिएको नाम नबताउने शर्तमा एक कर्मचारीले गुनासो गरे ।

कतिपय कर्मचारीहरुले आफूहरुको असन्तुष्टि रहेको भन्दै प्रोत्साहन भत्ता नलिएको बताउँदै आएका छन् । बैशाखमै आएका लेखा अधिकृतले पनि एक लाख पाँच हजार ८२५ रुपैयाँ लिँदा बर्ष भरी काम गरेका नगर प्रहरीले भने ८५० रुपैयाँ पाएका छन् ।
८७ हजार लिएका कर्मचारीले राजा र रैतीको जस्तो ब्यबहार भएको गुनासो गरे
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतले कर्मचारीहरु माथि राजा र रैतीको जस्तो ब्यबहार भएको बताए ।
कामको आधारमा नभई पहुँचको आधारमा रकम लिएको जस्तो देखिएको र त्यो उपयुक्त नभएको उनी बताउछन् । उनले पनि ८७ हजार ४६५ लिएका थिए । उनले बैशाख देखी असार मसान्त सम्म कार्यालय समय बाहेक झण्डै २९२ घण्टा काम गरेको देखिन्छ ।
अन्य सबै कर्मचारीहरुलाई मिलाएर लैजाउँ भन्दा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले सबैलाई मिलाएको भनेको उनी बताउँछन् ।
सोही समयमा उनै ठूलावडाले काज समेत लिए
सोही समय अबधिमानै कार्यालयमा कार्यरत कर्मचारीहरुले काज समेत लिएको र प्रोत्साहन भत्ता पनि लिएको नाम नबताउने शर्तमा एक कर्मचारीले बताए ।
तत्कालिन प्रमुख प्रशासकीय अधिकृत बिष्णुबहादुर घर्तीले आफूहरुले गाउँपालिकाले तयार पारेको कार्यबिधि अनुसार नै प्रोत्साहन भत्ता लिएको बताएका छन् ।
काम गर्दै जादा केही गल्ती भएको हुन सक्ने उनले स्विकार गर्छन ।
उनी हाल पाल्पाको बगनासकाली गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् ।
बैशाख देखि लागु हुने गरी गाउँपालिकाले तयार पारेको कार्यबिधिमा कार्यपालिकाको कार्यालयमा काम गर्ने अधिकृत स्तरको कर्मचारीले प्रतिघण्टा तीन सय लिन पाउने उल्लेख छ ।

सहायक स्तर चौथो ,पाँचौ वा सो सरह वा वडा कार्यालयमा खटिने अधिकृत स्तरलाई समेतलाई प्रतिघण्टा दूई सय र श्रेणी विहीन कर्मचारीलाई प्रतिघण्टा एक सय रुपियाँका दरले लिन सक्ने गरी कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता उपलब्ध गराउने कार्यबिधि तयार छ ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले भने यस बारेमा आफूहरु केही बोल्न नचाहेको र उतै कर्मचारीहरुलाई बुझन भन्ने गरेका छन् ।

SHARE