बिरामी बोक्ने एम्बुलेन्स आफै बिरामी

0
496

फागुन २६,२०७८नवलपरासी : बर्दघाट नगरपालिकाले संचालन गरेका एम्बुलेन्सहरु राम्रो संग संचालन हुन सकिरहेका छैनन् । जनप्रतिनिधिले निर्णय गरेर खरिद गरेका एम्बुलेन्स उनीहरुको एक कार्यकाल पुरा हुञ्जेल सम्म पनि राम्रो संग चल्न नसकेका हुन् ।

२०७४ सालमा सिप्रदी ट्रेडिङ प्रालीबाट टाटा कम्पनीका ४ वटा एम्बुलेन्स खरीद गरेर २०७५ साल कार्तीक देखी वडा कार्यालय माताहत रहने गरी संचालन गर्दै आईरहेको छ । संचालनमा रहेका एम्बुलेन्स मध्ये ३ वटा एम्बुलेन्सको ईञ्जीनमा समस्या आएपछि मर्मत गरिएको छ । टाटा कम्पनीका ति गाडी एम्बुलेन्सका लागि उचित नभएको र अहिले फेजआउट भएका गाडीहरु रहेका कारण बढि समस्या आउने गरेको अटो ईञ्जीनियर बताउँछन् ।

नगरपालिकाले बर्दघाट क्षेत्रलाई हुने गरी चिसापानी अस्पताललाई मध्यनजर गरेर एउटा एम्बुलेन्स, पञ्चनगर कलस्टरलाई हुने गरी वडा नम्बर ९ को जिम्मामा रहनेगरी एउटा, जहदा कलस्टरलाई मध्यनगर गरी वडा नम्बर १३ माताहत रहनेगरी एउटा र दाउन्नेदेवी कलस्टरलाई मध्यनजर गरी वडा नम्बर १४ माताहत रहनेगरी एउटा गरी चार वटा एम्बुलेन्स संचालन गर्दै आईरहेको छ ।

नगरपालिका मार्फत संचालन भएका एम्बुलेन्सहरुले के कति आम्दानी गरे र कति खर्च भएको छ भन्ने नगरपालिकामा नियमित रुपमा अपडेट समेत नहुने नगरपालिकाकै कर्मचारी बताउँछन् । अहिले सम्म कुनै पनि वडाले एम्बुलेन्सले गरेको बास्तविक आम्दानी र खर्च नगरपालीकामा बुझाउन सकेका छैनन् ।

महालेखाले तयार पारेको बर्दघाट नगरपालिकाको प्रतिवेदनमा नगरपालिका द्धारा संचालन भएका एम्बुलेन्स जीन्सी खातामा समेत उल्लेख नभएको र हिसावकिताव नआएको भनी उल्लेख गरेको थियो । एम्बुलेन्सको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो ब्यक्त गरेको छ । अख्तीयारले एम्बुलेन्स संग सम्बन्धीत सम्पुण कागजात र विवरण उपलब्ध गराउन भनी नगरपालिकालाई पत्राचार गरिसकेको छ ।

वडा नम्बर २ चिसापानी अस्पतालमा रहेको एम्बुलेन्स बाहेक अन्य एम्बुलेन्सहरुको इञ्जीनमा खरावी आएपछि मर्मत गरेर संचालन गरिएको छ । दाउन्नेदेवी कलस्टर अन्तरगत वडा नम्बर १४ माताहतको एम्बुलेन्स भने कोरोना महामारीको पहिलो लहर चलेका बेला ईञ्जीनमा खरावी आएर लामो समय थन्कीएको थियो ।

पछि जेनतेन मर्मत गरेर संचालनमा ल्याए पनि केही समय संचालनमा आएको र पुनः ईञ्जीनमा खरावी देखीएर महिनौ देखी चिसापानी स्थीत अटो भिलेजमा रहेको एक ग्यारेजमा थन्कीएर बसेको छ । बर्दघाट नगरपालिकाका एक कर्मचारीका अनुसार ईञ्जीनमा खरावी आएका एमबुलेन्समा लु १ झ ४ सय १६, लु १ झ ४ सय १७ र लु १ झ ४ सय १९ रहेका छन् भने लु १ झ ४ सय १८ नम्बरको एमबुलेन्सको ईन्जीन हाल सम्म ठिक अवस्थामा चलिरहेको छ । बर्दघाट नगरपालिकाले सुत्केरी हुने महिला र जेष्ठ नागरिकहरुका लागि नगर भित्रका स्वास्थय संथा सम्म पु¥याउनका लागि निशुल्क सेवा दिँदै आए पनि एम्बुलेन्सको अबस्था सहि नभएका कारण समयमा सेवा लिन असहज हुनेगरेको जनगुनासो आउने गरेको छ ।

नगरपालिकामा मार्फत संचालन हुँदै आएका विरामी बोक्ने एम्बुलेन्सहरु समय समयमा विग्रिएर हैरानी खेप्नु पर्ने अवस्था आएपछि भने एम्बुलेन्सको अवस्थाको बारेमा नगरबासीले चासो ब्यक्त गर्ने गरेका छन् । विरामी बोक््ने एम्बुलेन्स नै आफै विरामी जस्तो भएको नागरिकले टिप्पणी गर्ने गरेका छन् ।

किन लामो समय देखी विग्रिएको एम्बुलेन्स मर्मत किन हुन नसकेको भन्ने जिज्ञासामा प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यले भने एम्बुलेन्स मर्मतका लागि ठुलो खर्च आउने भएकोले तत्काल मर्मत गर्न नसकिएको बताउनुभएको छ । पाध्यका अनुसार वडा नम्बर १४ माताहतको बाहेक अन्य एम्बुलेन्सहरु विग्रिए पनि अहिले मर्मत गरेर चालु अवस्थामा रहेको बताउनुभयो ।

वडा नम्बर १४ अध्यक्ष केशव बहादुर खत्री क्षेत्रीले आर्थिक अभावका कारण एम्बुलेन्सको मर्मत गर्न नसकिएको र अहिले आर्थिक ब्यबस्था भैसकेकोले छिट्टै मर्मत हुने बताउनुभयो ।

SHARE