गुल्मीमा लघुवित्तीय संस्थाको ज्यादती , रातमा महिला मात्रै भएको घरमा गएर धम्क्याउँछन्

0
638
पत्रकार सम्मेलन पश्चात कर्जा लिएका महिलाहरु सहितको समुहिक तस्बिर : तिलाचन पाण्डे

गीता बस्याल पाण्डे
फागुन ७,२०७८गुल्मी :गुल्मीमा लघुवित्तीय संस्था बिरुद्धको संघर्ष समितिले लघुवित्तीय संस्थाहरुद्धारा संचालित बैठकहरु बहिष्कार गर्ने जनाएको छ ।

संघर्ष समिति तथा महिलाहरुले सदरमुकाम तम्घासमा पत्रकार सम्मेलनको आयोजना गरेर लघुवित्तीय संस्थाहरुले चर्को ब्याजदरमा लगानी गरी जनताहरुको ढाँड सेक्ने काम गरेको भन्दै बैठकहरु बहिष्कार गर्ने जनाएका छन् ।

गाउँमा सोझा साझा महिलाहरुलाई समूहमा आबद्ध गरी घरको मुली मान्छे अर्थात पुरुषहरुलाई थाहानै नदिई कर्जा लगानी गर्ने र चर्को ब्याजदर असुल्ने गरेको भन्दै अब गाउँगाउँबाट आवाज बुलन्द गर्नुपर्ने संघर्ष समितिका संयोजक मनिराम ज्ञवालीले बताए ।

संस्थाहरुले २० प्रतिशत सम्ममा कर्जा लगानी गर्ने गरेको भन्दै गाउँका गरिब किसान र जनताहरु चपेटामा परेको समितिले जनाएको छ।

रातको समयमा घरमा आएर मानसिक यातना दिए

गुल्मीदरबार गाउँपालिका वडा नम्वर एक बलिथुमकी लीला रेश्मीले लघुवित्तिय संस्थाहरुले रातको समयमा घरमा गई अनावश्यक रुपमा मानसिक यातना दिने गरेको बताइन् ।


रातको समयमा लघुवित्तिय संस्थाका प्रतिनिधिहरु घरमा गई कर्जा भुक्तानी गर्न दबाद दिने र कर्जा भुक्तानी नगरे घरमा भएका सामानहरु लैजाने भन्दै धम्की दिने गरेको गुनासो गरिन् ।

रातको समयमा महिलामात्र भएको घरमा जाने र धम्काउने कार्य रोक्नुपर्ने 
यस्तै गुल्मीदरबार गाउँपालिकाकी टीका रेश्मीले कर्जा लिएपनि रातको समयमा महिलाहरु मात्रै भएको घरमा गई धम्क्याउने कार्यलाई बन्द गर्न आग्रह गरिन् ।कर्जा लिएका ब्यक्तिहरुले कर्जा चुत्ता गर्न समय लागेपनि कार्यालय समयमा कार्यालयमै बोलाएर छलफल गर्ने र सहजीकरण गर्नुपर्नेमा उनले जोड दिइन् ।
कर्जा लिन सिकाए ,आत्म निर्भर र ब्यबसायीक बन्न सिकाएनन्
यस्तै गुल्मीदरबार गाउँपालिका वडा नम्वर ४ बीरबासकी रीता थापाले (नाम परीवर्तन) लघुबित्तिय संस्थाहरुले गाउँमा आएर कर्जा लिन सिकाएपनि उत्पादनमा जोड दिन , आत्मनिर्भर बन्न र ब्यबसायीक बन्नका लागि केही नसिकाएको बताइन् ।
गुल्मीदरबार गाउँपालिकको केन्द्र गौँडाकोटमा रहेको ग्लोबल आइएमई लघुवित्तिय संस्थाले पुरानो कर्जा चुक्ता गर्नुभयो भने ५ लाख रुपियाँ तपाइलाई लगानी गछौ भनी आँखामा छारो हालेको बताइन् ।
जनतन गरी पहिले कर्जा चुक्ता गरेको पछि संस्थाले पाँच लाख लगानी नगरी कर्जा असुली गर्ने पोलिसी मात्रै भएको र सोभा जनताको आँखामा छारो हालेको उनको भनाई छ ।

प्रधानमन्त्रीलाई माग पत्र
संघर्ष समितिले माघ १८ गते गुल्मीदरबार गाउँपालिका मार्फत प्रधानमन्त्रीलाई पाँच बुँदे माग पत्र बुझाएको थियो ।
माग पत्रमा नवसामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरुको खारेज,सामुहिक कर्जा मिनाहा,किसान तथा गरिबहरुलाई सेवा शुल्क नलिई सरल कर्जा प्रदान गर्नुपर्ने,आवश्यकता र क्षमताको आधारमा काम र दामको ब्यबस्था,समाजबादी अर्थतन्त्रको बिकास गर्न माग गरिएको छ ।
यता ग्लोबल आइएमई लुघुवित्तिय संस्थाका प्रमुख रामहरी पौडेलले कर्जा नतिर्नेहरुले विभिन्न बाहना गर्ने गरेको बताए ।
कर्जा लिएका ब्यक्तिहरु दिनमा घरमै भेटिदैनन् , रातमा नगएर के गर्ने
कर्जा लिएकाहरु दिनमा घरमा नभेटिने र साँझमा घरमा जाँदा विभिन्न आरोपहरु लगाउने गरेको बताए। आफूहरुले कसैलाई पनि दवाब नदिएको र कर्जा तिर्नका लागि भने आग्रह गर्ने गरेको बताए ।

केही उजुरी परेको छैन : प्रशासन
यता जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले प्रशासनमा लघुवित्तीय संस्था बिरुद्धको केही उजुरी नपरेको बताएका छन् ।
प्रशासनमा उजुरी नपरे पनि आफूहरुले सुक्ष्म रुपमा अध्ययन गरिरहेको उनले दाबी गरे ।

SHARE