गंगा मावि ‘सोँचेजस्तै विद्यालय खोजेजस्तै पढाई’

0
255

सुशीला रेग्मी
रामपुर (पाल्पा), १९ माघ : गंगा मावि शैक्षिक क्षेत्रमा नमुना विद्यालयको रुपमा चिनिन्छ । यहाँको शैक्षिक तथा भौतिक वातावरणले यो विद्यालय शैक्षिक अवलोकनको केन्द्र बनेको छ ।

यहाँ विभिन्न जिल्लाबाट शैक्षिक अवलोकनमा शिक्षक, विद्यार्थीको समुह आउनेको आकर्षण बढ्दो छ । यहाँको वातावरणले विद्यार्थीको मनोबल बढाएको छ । विद्यालय हाताभित्र प्रवेश गरिसकेपछि शैक्षिक तथा भौतिक वातावरणले शिक्षक, अभिभावक, विद्यार्थी अर्थात् यहाँभित्र आउने जोकोहीको मनै लोभ्याउने खालको छ ।

पाल्पाको पूर्वी भेग रामपुर नगरपालिका ८ स्थित एक्लेटारमा रहेको यस विद्यालयले जिल्लामै शैक्षिक तथा भौतिक वातावरणमा अग्रणी विद्यालयको रुपमा चिनाउन सफल भएको छ ।

समयको परिवर्तन संगै विद्यार्थीको आवश्यकता अनुसार हराभरा वातावरणमा प्रविधियुक्त शिक्षामा जोड दिइएको प्रधानाध्यापक देवराज देवकोटा बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, हामीले समयको माग अनुसार विद्यार्थीलाई शिक्षक सिकाई कार्यमा कुनै कमी हुन दिएका छैनौँ, बालमैत्री वातावरणमा प्रविधिको प्रयोग गरी शिक्षण कार्य गरिएको छ, अहिले धेरै विद्यालयबाट अवलोकन गर्न आइरहनुभएको छ” ।

विद्यालयले साना–साना बालबालिकालाई मध्यनजर गर्दै बाल उद्यान तयार गरिरहेको प्रअ देवकोटाको भनाई छ । शारीरिक विकास र बालबालिकाको मनोबल बृद्धि गराउन बाल उद्यानले सघाउ पुग्ने भएकाले विद्यालयमा उद्यानको व्यवस्था मिलाइदैछ । विद्यालयभित्र फूल वगैचा, यहाँको सुन्दर दृश्यले सबैलाई लोभ्याइरहेको छ ।

विद्यालय भित्रको वातावरण देख्दा कुनै सुन्दर प्राकृतिक वातावरणमा पुगेजस्तो अनुभुती भएको बताउनुहुन्छ, चण्डीका आधारभुत विद्यालय गल्याङ्ग नगरपालिका स्याङ्गजाका शिक्षक टिकाराम अधिकारी ।

“गंगा मावि पाल्पाको नमुना विद्यालयको पहिचान बनाएकाले हाम्रो शिक्षकको समुहले पनि यस विद्यालयको अवलोकन ग¥यो, सुन्दा भन्दा यहाँ आएर हेर्दा शैक्षिक वातावरण अत्यन्त सुन्दर छ, विद्यालय भनेको गंगा मावि जस्तो बनाउनुपर्छ भन्ने हामीलाई पनि धेरै सिकाई भयो, विद्यालय सुधारको लागि एक पटक यस विद्यालयको अवलोकन सबैले गर्नैपर्ने रहेछ” उहाँले भन्नुभयो ।

प्रविधियुक्त शिक्षा नै आजको आवश्यकता भएको हुदा विद्यार्थीले चाहे अनुसारको सामग्रीको व्यवस्थापन गरेर शैक्षिक क्रियाकलाप अगाडी बढाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरनारायण अर्यालले बताउनुभयो ।

“विद्यार्थीलाई शैक्षिक कार्यमा विद्यालयले कुनै पनि प्रविधि तथा सामग्रीमा कमी गराएको छैन, विद्यालय आउँदा जसरी उत्साहका साथ पढ्न आउँछन् त्यसरी नै विद्यालय सकिएपछि उत्साहका साथ नै विद्यार्थी पढेर घर फर्कने वातावरण विद्यालयले तयार पारेको छ” उहाँले भन्नुभयो ।
‘सोचेजस्तै विद्यालय, खोजेजस्तै पढाई’ अन्र्तगत विद्यार्थीहरुको रुची र क्षमता अनुसार विद्यार्थीहरुको समुह विभाजन गरी विद्यालय समय भन्दा बाहिर विद्यार्थीहरुलाई बौद्धिक एवम् खेलकुद तालिम दिइने अध्यक्ष अर्याल बताउनुहुन्छ ।

कमजोर विद्यार्थीहरुका लागी सहायता कक्षको स्थापना गरी सबै विषय शिक्षकको पालो मिलाई विद्यालयमा सहयोग गर्ने कार्यक्रमको पनि सुरुवात गरिएको छ ।

वार्षिक रुपमा २० जना विद्यार्थीहरुलाई छनोट भएको मिति देखी विद्यालय नछाड्दा सम्म वार्षिक रु तीन हजार ४०० दिइने छात्रवृत्ति स्किम ल्याइएको छ । तहगत अनुसार प्रथम एवम् जेहेन्दार विद्यार्थीका लागी वार्षिक नगद पुरस्कारको व्यवस्था, गरिव, असहाय विद्यार्थीका लागी स्कुल पोशाक तथा नियमित छात्रवृत्ति वितरण कार्य भइरहेको छ ।

विद्यार्थीहरुको नियमित जन्मदिन मनाउने, प्रार्थनामा नियमित तीन वटा प्रश्नहरु सोध्ने, नियमित प्रवचन, संगित सहितको पिटी, पालो अनुसार विद्यार्थीहरुबाट विद्यालय परिसर सरसफाई, नियमित अतिरिक्त क्रियाकलाप जस्ता कार्यक्रम हुने गरेको छ ।

यस विद्यालयमा औसतमा ५० जना भन्दा धेरै विद्यार्थी सबै कक्षामा रहेका छन् । सबैमा कक्षाकोठामा दुई वटा सेक्सनहरु रहेका छन् । विद्यालयमा नेपाली र अंग्रेजी माध्यमका सबै विद्यार्थी गरी ६८३ विद्यार्थीहरु अध्ययनरत छन् ।

नमुना विद्यालय विकास कार्यक्रम अन्र्तगत विद्यालयले भौतिक र शैक्षिक विकासका लागि काम गरिरहेको र हाल भौतिक पूर्वाधार विकासका कामहरु राम्रोसंग भएको छ ।
सफ्टवयर जडान गरी विद्यार्थीहरुको सम्पूर्ण विवरणहरु राख्ने व्यवस्था मिलाइएको छ । शिक्षक हाजिरीका लागी वायेमेट्रिक प्रणाली जडान गरी दुई वर्ष देखी नियमित प्रयोग गरिएको छ ।
विद्यालयमा इन्टरनेट जडान, नौ वटा सिसिटिभी, क्यामेरा जडान गरी विद्यालय परिसर ल्याव तथा पुस्तकालय एवम् अन्य महत्वपूर्ण स्थानहरु रेखदेख गर्ने व्यवस्था गरिएको छ । शिक्षकहरुलाई ल्यापटप खरिद गर्न आर्थिक सहयोग दिइएको छ ।

हाल विद्यालयमा बालकक्षा देखी कक्षा १२ सम्म नेपाली माध्यममा र नर्सरी देखी कक्षा १० सम्म तथा आईएस्सी (एजी) तीन वर्षे भेट्नरी विषयको कक्षा समेत गरेर जम्मा २८ वटा कक्षा सञ्चालन भईरहेको छ ।

विहानको समयमा प्राविधिक तर्फको मात्र कक्षा सञ्चालन हुने र दिउँसोको समयमा अन्य सबै कक्षाहरु सञ्चालन भइरहेका छन् । विहान र दिउँसो गरी जम्मा ५० जना शिक्षकहरु यस विद्यालयमा कार्यरत रहेको विद्यालयले जनाएको छ ।

हाल यस विद्यालयमा चार वटा तीन तले पक्की र दुई वटा दुई तले पक्की भवन छन् भने एकतले एक वटा पक्की भवन रहेको छ । हालसम्म जम्मा ५८ वटा कक्षाकोठाहरु पक्की बनेका छन् । जसमा ३२ वटा कक्षाकोठाको रुपमा र आठ वटा ल्याव, पुस्तकालय तीन, एकवटा हल, एक चमेनागृह, एक पार्किङ, पाँच प्रशासनिक कार्यालय, चारवटा भण्डारण कक्षको रुपमा प्रयोग गरिएको छ भने बाँकी खाली रहेका छन् ।

विद्यालयमा एकै पटकमा ६० जनाले प्रयोग गर्न मिल्ने गरी शौचालयको व्यवस्था गरिएको छ । विद्यार्थीका लागी २५ वटा खानेपानी धारा छन् भने नियमित रुपमा सफा खानेपानीको आपूर्ति गर्ने व्यवस्था मिलाइएको छ । सबै कक्षाकोठाहरुमा फोहोर मलाई र सफा गर्ने सामग्रीको प्रबन्ध छ ।

बालमञ्च, इको क्लव, स्टार क्लव, सामाजिक सचेतनामुलक क्लव, विज्ञान क्लव, जुनियर रेडक्रस सर्कल क्लव सक्रिय छन् । क्लवलाई सक्रिय बनाइ राख्न विभिन्न शैक्षिक क्रियाकलापमा विद्यालयले जोड दिएको छ ।
यो विद्यालय समुन्द्री सतह देखी करिव ४०९ मिटरको उचाईमा अवस्थित छ । विसं २०१३ मा स्थापना भएको शारदा प्रावि रानीवास र २०२३ मा स्थापना भएको गंगा प्रावि आँपचौरलाई गाँभेर २०३५ माघ १८ गते श्रीपञ्चमीको दिन यस विद्यालय स्थापनाकालको निम्नमाध्यमिक विद्यालय र ०५५ देखी माध्यमिक विद्यालयको अनुमती पाई गंगा माध्यमिक विद्यालय बनेको इतिहास छ ।

SHARE