सुशीला रेग्मी
रामपुर (पाल्पा), १९ माघ : सुन्दा पनि अचम्म लाग्दछ, पाल्पाकै सरकारी तवरको ठूलो रामपुर अस्पतालमा बिशेषज्ञ सहितको सरकारी दरबन्दी रहेर पनि जनशक्तिको अभावमा नागरिकले उक्त सेवा लिन पाएका छैनन् ।
दरबन्दी भएर पनि जनशक्ति अभावमा बिशेषज्ञ सहितको सेवा सुबिधा लिन कालीगण्डीवेशीका नागरिक अन्यत्र जानुपर्ने बाध्यता यतिखेर ‘कागलाई बेल पाक्यो हर्ष न विष्मात्’ भन्ने उखानसँग ठ्याक्कै मिलेको छ ।
पचास शैयाको अस्पतालका रुपमा चिनिएको यस अस्पतालमा बिशेषज्ञ डाक्टरको दरबन्दी भएर पनि नागरिकले सदरमुकाम तानसेन, बुटवल, पोखरा, काठमाडौँमै जानुपर्ने समस्या टरेको छैन । यी स्थानमा सेवा लिन सडक समस्याले वर्षायाममा यात्रा गर्न निकै कठिन पर्छ ।
कतिपयले त अकालमा बाटोमा नै मृत्युवरण गर्नु परेको छ भने कतिपयको आर्थिक अभावका कारण घरमै उपचार नपाएर ज्यान गुमाउनु परेका उदाहरण पनि छन् ।
अस्पतालमा निर्माणाधिन भवन समयमा नै सम्पन्न नहुनु अर्कोतर्फ भुगोलका हिसावले ग्रामीण भेग । पाल्पाको सदरमुकाम तानसेनदेखि रामपुर करिव ६५ किलोमिटर पूर्वमा अवस्थित हुदा ग्रामिण क्षेत्र रहेको हुनाले पनि बिशेषज्ञ डाक्टर यहाँ आएर नागरिकलाई सेवा दिन झट्ट तत्पर हुदैनन् । अस्पतालमा बिशेषज्ञ सहितको सेवा उपभोगमा भुगोल र भवन अभाव बाधक बनेको छ ।
यसअघि प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा सञ्चालित हुदै आएकोमा औषधोपचार सेवाको दायरा बढाउन विसं २०७२ मा पचास शैयाको अस्पतालका रुपमा स्तरोन्नति भएको हो । अझैपनि भौतिक पूर्वाधार लगायतका सेवा अभावका कारण बिशेषज्ञ सेवा दिन भने समस्या परेको छ ।
यहाँका नागरिकलाई अस्पतालको भवन निर्माणको काम कहिले सकिएला र ? भन्ने चिन्ताको विषय बनेको छ । अर्कोतर्फ अस्पतालमा बिशेषज्ञ दरबन्दी भएर पनि स्वास्थ्य उपचार सेवा नपाउनु बिरामीको लागि अत्यन्तै दःुखद कुरा रहेको बताउनुहुन्छ, सहीद बहुमुखी क्याम्पस रामपुरका अध्यक्ष देवराज ढकाल ।
स्वास्थ्य उपचार जस्तो संवेदनशील कुरामा सम्बन्धित निकायको वेवास्ताका कारण नागरिकले बिशेषज्ञ सहितको सेवा सुबिधा पाउनबाट वञ्चित हुनु परेको उहाँको भनाई छ ।
भवन निर्माण कम्पनीको चरम लापरबाहीले गर्दा पटक–पटक म्याद थप गर्ने, यहाँको भवन निर्माणको काममा आलटाल गर्दा नागरिकले सहज रुपमा सेवा नपाउँदा सास्ती खेप्नु परेको अस्पताल विकास समितिका पूर्व उपाध्यक्ष तथा स्थानीयवासी फणेश्वर गौतमले गुनासो पोख्नुभयो ।
“स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा पनि ठेकेदार कम्पनीले मनपरी ढंगले काम गरेको छ, काममा तीव्रता नदिने, छलकपट गर्ने, ढिलासुस्ती, नयाँ भवनमा अस्पताल सार्न नपाउँदा सेवा प्रवाहमा सास्ती खेप्नु परेको छ” उहाँ भन्नुहुन्छ– “भवन निर्माणको प्रकृति हेर्दा गुणस्तरको पनि काम भएको देखिदैन, यसमा सम्बन्धित निकायले अनुगमन गर्नुपर्नेछ ।”
कागजमा बिशेषज्ञको दरबन्दी रहेपनि बिशेषज्ञ सेवा लिन ठूला शहर बजारका अस्पताल पुग्नुपर्ने झमेला र आर्थिक समस्याले कतिपय बिरामी भित्रभित्रै रोगसंग लडेर बाँच्न विवश भएको उहाँको भनाई छ ।
अहिले अस्पतालको भवन निर्माणाधिन अवस्थामा छ तर दु्रत गतिमा भवन निर्माण नहुदा बिरामीलाई सजिलोसँग सेवा दिन अप्ठ्यारो परिरहेको छ । पचास शैयाको अस्पताल भनिएतापनि अहिलेको सन्दर्भमा भने पन्ध्र शैयाकै अस्पतालको भवनबाट सेवा प्रवाह भइरहेको छ ।
भौतिक संरचना अभावमा साँघुरो संरचनामा बसेर सेवाग्राहीलाई सेवा दिन समस्या परेको अस्पतालका निमिक्त मेडिकल सुपरीटेण्डेन डा. विजय परियार बताउनुहुन्छ ।
“पचास शैयामा स्तरोन्नति भएपनि अझैपनि पन्ध्र शैयाकै भवनबाट खुम्चिएर निकै कष्टका बाबजुद सेवा दिइएको छ, भौतिक संरचना अभावमा स्वास्थ्योपचारमा प्रयोग हुने कतिपय मेडिकलजन्य स्वास्थ्य सामग्री व्यवस्थापन गर्न समस्या परिरहेको छ, नयाँ भवन सम्पन्न हुने कहिले हो ?”, डा. परियाले भन्नुभयो ।
पन्ध्र शैयाको क्षमतामा सञ्चालित रामपुर अस्पतालमा घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले क्षमता बढाएर पचास शैयाको सुबिधा सम्पन्न भवन निर्माण कार्य थालनी गरिएको हो ।
स्वास्थ्य क्षेत्र नागरिकको पहिलो प्राथमिकता भएकाले कालीगण्डकी वेशीका पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर गरी चार जिल्लाका नागरिकलाई लक्षित गरी बिगत छ वर्ष अघि पचास शैयाको अस्पताल निर्माण कार्य अगाडी बढाइयो । निर्माण कार्यको समय लम्बिदै गएपनि अस्पताल भवनको संरचना निर्माण कार्य भने अहिले पनि सुस्त गतिमा बढेको छ ।
विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भई रामपुरमा स्वास्थ्य उपचार सेवा सञ्चालनमा ल्याइएको हो । प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि यहाँका नागरिक त्यस समय औधी खुशी थिए ।
स्वास्थ्य सेवाबाट टाढा रहेका पाल्पाको पूर्वी क्षेत्रका नागरिकलाई यहाँको स्वास्थ्य केन्द्रबाट सेवा उपभोग गर्न पाउँदा ठूलै स्वास्थ्योपचार सेवा पाएको आभाष हुन्थ्यो । ज्वरो, रुघाखोकी, टाउको दुख्ने जस्ता सामान्य उपचारका लागि सदरमुकाम तानसेन पैदल हिडेर जानुपर्ने समस्या त्यस समय देखी क्रमश कम हुदै गयो ।
गाउँमा प्राथमिक स्वास्थ्य केन्द्रबाट औषधी उपचार सेवा सुरु भएपछि घरायसी उपचारमा आश्रित नागरिकहरु स्वास्थ्य केन्द्रमा धाउन थाले । सेवाको क्षेत्रलाई विस्तार गरी ०६७ मा पन्ध्र शैयामा स्तरोन्नति भई सेवा दिदै आएको यस अस्पताल ०७२ मा पचास शैयाका रुपमा स्तरोन्नति भई हाल अस्पतालका रुपमा सञ्चालन हुदै आएको छ ।
नेपाल सरकारको रु २२ करोड २२ लाख पाँच हजार ३८३ को अनुमानित लागतमा टेन्डर आह्वान भएकोमा रबिना कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग करिव रु साढे १८ करोडको लागतमा सम्झौता भई सो भवन निर्माण भइरहेको छ ।
आर्थिक वर्ष ०७२÷०७३ को पुसबाट निर्माण कार्य सुरु गरिएको सो अस्पताल भवनको हालसम्म निर्माण व्यवसायीका अनुसार ९५ प्रतिशत मात्र भौतिक कार्य प्रगति सम्पन्न भएको दाबी छ । तर संघीय आयोजना कार्यान्वयन इकाई कार्यालय भैरहवाका अनुसार करिव ९० प्रतिशत मात्रै काम सम्पन्न भएको बताइएको छ ।
विसं २०७५÷०७÷१६ गते नयाँ भवन निर्माणको काम सम्पन्न गर्ने अन्तिम मिति रहेपनि समयमा नै निर्माणको कार्य सम्पन्न हुन नसकेपछि पटक पटक म्याद थप गरी निर्माण कार्य अघि बढाइएको छ । काममा आलटाल गर्ने कम्पनीले कोभिड १९ को असरले गर्दा दुई वर्षको समय निर्माण कार्यमा बाधा पुगेको जनाएको छ ।
निर्माण कम्पनीका इन्जिनियर महम्मद अन्सारुका अनुसार आउँदो चैत सम्ममा काम सक्ने योजना छ । कोभिड १९ ले गर्दा निर्माण कार्यमा ढिलाई भएको भवनमा अहिले रंगरोगन, झ्याल ढोका राख्ने कम भइरहेको र चैत मसान्त भित्र निर्माण सकेर भवन अस्पताललाई हस्तान्तरण गर्ने अन्सारु दाबी गर्नुहुन्छ ।
निर्माण कम्पनीले काममा ढिलाई गरेपछि कार्यालयले पटक पटक पत्राचार गरेर काम छिटो सम्पन्न गर्न ताकेता गरिरहेको संघीय आयोजना कार्यान्वयन इकाई कार्यालय भैरहवाका इन्जिनियर धु्रब पौडेलले बताउनुभयो ।
गण्डकीवेशीकै ठूलो अस्पतालका रुपमा लिइने यस अस्पतालमा पछिल्लो समय सेवा लिने नागरिकको चाप बढीरहेको छ । यहाँ दैनिकजसो २०० देखी २५० सम्म बिरामीले सेवा लिदै आइरहेको अस्पतालले जनाएको छ । समयमा नै भवन सम्पन्न भएको भए स्वास्थ्यकर्मीलाई सेवा दिन र सेवाग्राहीलाई सेवा लिन सजिलो पर्ने थियो ।
कम्पनीले नै काम समयमा नै नगरिदिदा भवन अभावको समस्या झेल्नु परेको अस्पताल विकास समितिका अध्यक्ष वासुदेव भट्टराई बताउनुहुन्छ । नागरिकलाई तोकिएअनुसारका सेवा दिन नसक्नु नै भौतिक पूर्वाधारको अभाव भएको र काम छिटो सक्न समितिले निर्माण कम्पनीलाई निर्देशन दिइएपनि सुनुवाई नभएको अध्यक्ष भट्टराई स्वीकार गर्नुहुन्छ ।
हाल अस्पतालमा स्थायी र करारमा विभिन्न विभागमा कार्यरत ७२ जना कर्मचारी छन् । अस्पतालमा ५९ जना स्थायी दरबन्दी रहनुपर्ने भएपनि चार जना मेडिकल सुपरीटेण्डेन, एक÷एक जना रेडियोलोजिष्ट, लेखापाल, स्टाफनर्स, प्रशासन सहायक, फार्मेसी निरिक्षक रहेका छन् । अन्य कर्मचारी करारमा नियुक्त गरी सेवा दिइएको प्रशासन सहायक हिरा विक बताउनुहुन्छ ।
अस्पतालमा नौ जना बिशेषज्ञ डाक्टरको दरबन्दी छ । प्रसुती, बच्चाबच्चीको उपचार सेवा, रेडियोलोजिष्ट (एक्सरे), जनरल फिजिसियन, एनसथेसियालोजिष्ट (अप्रेसन गर्दा बेहोस बनाउने), कन्सल्टटेन अर्थोसर्जन, कन्सल्टटेन सर्जन, कन्सल्टटेन साइक्याट्रिक्स (दिमाग सम्बन्धी) जस्ता बिशेषज्ञ सेवा तोकिएको छ । तर दरबन्दी अनुसारका डाक्टरको अभावमा बिशेषज्ञ सेवा दिन सकिएको छैन ।
अस्पतालमा एघारौँ तह (एक जना प्रमुख मेडिकल सुपरीटेण्डेन) डाक्टरको दरबन्दी छ । यस अस्पतालमा स्थायी दरबन्दीमा एक जना मात्रै बिशेषज्ञ मेडिकल सुपरीटेण्डेन डाक्टर बुद्धिबहादुर थापाले विसं २०७२ भदौ ५ देखी ०७३ साउन ६ गते सम्म कार्यरत रही सेवा दिनु भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
त्यसयता डा. सुलभ प्रधान ०७३ साउन ७ देखी ०७४ साउन १४ गतेसम्म, डा. कथितराज घिमिरे ०७४ साउन १४ देखी ०७५ भदौ ३१ सम्म, डा. बिनेश झा ०७५ असोज १ देखी ०७६ पुस ५ सम्म निमिक्त मेडिकल सुपरीटेण्डेन भएर सेवा दिनुभएको छ । सोही जिम्मेवारीमा रहेर डा. विजय परियारले ०७६ पुस ६ गतेदेखी हालसम्म निरन्तर रुपमा कार्यालयमा बसेर सेवा दिदै आउनुभएको छ ।
बिशेषज्ञ सेवा दिने अस्पतालले अझैपनि जनशक्ति र भवन अभावको कारण देखाउँदै सेवा दिन नसक्नु अस्पताल विकास समिति र प्रदेश सरकारको कमजोरीपन देखिएको स्थानीयवासी ओमप्रकाश रेग्मी बताउनुहुन्छ ।
पचास शैयाको सरकारी अस्पताल नामाकरण भएपनि पन्ध्र शैयाकै भवनबाट सेवा प्रवाह भइरहेको छ । गाउँमै दरबन्दी भएर पनि सेवा सुबिधा नपाउँदा पटक पटक अन्यत्र धेरै धनराशी खर्चिएर उपचार गर्न जानुपर्ने समस्या बिद्यमान नै छ ।
पचास शैयाकै भवनबाट अस्पताल सञ्चालन भएपछि नागरिकलाई एक त सेवा लिन सजिलो पर्नेछ भने अर्कोतर्फ आर्थिक भार पनि पर्ने थिएन । रामपुर नगरपालिका क्षेत्रमा सुबिधा सम्पन्न भवन निर्माण सम्पन्न भएपछि नागरिकले औषधी उपचारमा राम्रो सुबिधा उपभोग गर्न पाउनेछन् ।
औषधी उपचारका निम्ति विभिन्न शहरमा धाउने नागरिकले अस्पताल बनेपछि गाउँमै धेरै सेवा सुबिधा पाउने अपेक्षा पनि लिएका छन् । विकासमा बामे सर्दै गरेको रामपुर नगरपालिका भित्र पचास शैयाको अस्पताल निर्माण कार्य अगाडी बढेको देख्दा पूर्वी पाल्पाका नागरिकमा विकासको अनुभूति लिन थालियो ।
इमर्जेन्सी सेवाका लागि अस्पतालबाट रिफर गरिएका बिरामीलाई समयमा अस्पतालमा पु¥याउन नसक्दा नागरिकले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था पनि छ । वर्षायामका बेला सडक समस्याका कारण वर्षेनी नागरिकले उपचारमा कष्ट भोग्दै आएका छन् ।
स्वास्थ्य उपचारमा सुबिधा सम्पन्न औषधी उपचारको अभावकै कारण पनि पुर्खौली थाकथलो छाडेर कतिपयले अन्यत्र शहर बजारमा बसाइसराई गएका पनि छन् । केही भने डाँडाभेगबाट अस्पतालमा सेवा सुबिधा पाइने आशाले बसाईसराई गरी आएका छन् ।
भौगोलिक बनावटले मिलेको रामपुरमा सबै प्रकारका स्वास्थ्य उपचार सेवाको उपभोग गर्न पाएको खण्डमा विकासले ठूलो गति लिनेछ । कालीगण्डकी करिडोरको आडैमा रहेको यस अस्पतालले पूर्वी पाल्पालाई मात्र नभई गण्डकी प्रदेशका तनहुँ, स्याङ्गजा र नवलपुरका नागरिकसँग प्रत्यक्ष सम्बन्ध स्थापित गरेको छ ।
संघीय प्रणाली अनुसार पचास शैयाको अस्पताल प्रदेश सरकार मातहतमा रहेर सञ्चालित छ । यसले गर्दा पनि नागरिकका गुनासा र पिडा सम्बन्धित निकाय सम्म सुनुवाई हुन सकेको छैन भने गुनासो सुन्ने निकाय पहुँचमा नहुदा नागरिकलाई झट्ट गुनासा पोख्ने माध्यम भेटिदैन ।
स्वास्थ्य क्षेत्रमा पनि राजनैतिक शक्ति र सत्ताको प्रयोग गरेर सञ्चालक समिति गठन हुन्छ । अस्पतालभित्रको बेथिती, स्वाथ्यकर्मीको सेवा सुबिधा, समस्या पनि उत्तिकै छन् । बिशेषज्ञ सेवा दिन नसक्नुको अर्को कारण कर्मचारीको सेवा सुबिधामा हेरफेर नुहुन पनि हो । यसका कारणपनि नागरिक मारमा परिरहेका छन् ।
रामपुर नगरपालिका भित्र अस्पताल अवस्थित रहेपनि प्रदेश सरकारबाट सञ्चालिन हुने भएकाले स्थानीय निकाय संघ समितिले समन्वय नगर्ने र प्रदेश सरकारले अनुगमन, निगरानीमा तदारुकता नदेखाउँदा नागरिकले स्वास्थ्य क्षेत्रमा झमेला खेप्न बाध्य रहेको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।
जनस्वास्थ्य सेवा नियमावली २०७७ भित्र जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले प्रत्येक मेडिकल कलेजले मन्त्रालयले तोकेको कम्तीमा एउटा जिल्लाको जिल्लास्तरिय अस्पतालमा शल्य चिकित्सा सहितको विशेषज्ञ सेवा उपलब्ध गराउनुपर्ने उल्लेख गरेको छ ।
तरपनि अस्पतालको रुपमा स्वीकृत भएर स्तरोन्नती भएपनि सेवाको दायरा बढाउन नसक्नु लाजमर्दोको विषय बनेको छ । अस्पतालको सेवा सुबिधाका विषयमा नागरिकले सेवाको क्षेत्र बढाउन पटक पटक प्रश्न उठाउने गर्छन् ।