बर्दिया राष्ट्रिय निकुञ्जलाई पुरस्कार

0
760

माघ १४,२०७८काठमाडौं : बाघको संख्या दोब्बर बनाउन योगदान पुर्‍याएबापत नेपालको बर्दिया राष्ट्रिय निकुञ्जले विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्युएफ) को पुरस्कार पाएको छ।

डब्ल्युडब्ल्युएफ नेपालले जनाएअनुसार पाटे बाघको संख्या बढाएकोमा बर्दिया राष्ट्रिय निकुन्जले डब्ल्युडब्ल्युएफ टिएक्सटु पुरस्कार जितेको हो।

बर्दिया राष्ट्रिय निकुञ्जका साथै भारतको सत्य मंगलम टाइगर रिजर्भले पनि यो पुरस्कार पाएको छ।

बाघ संरक्षणमा उत्कृष्ट कामका लागि बर्दिया निकुञ्जको खाता वन संरक्षण क्षेत्रलाई यो पुरस्कार प्रदान गरिनेछ।

खाता संरक्षण क्षेत्रले नेपाल–भारत सीमा क्षेत्रमा बाघको संरक्षणमा ठूलो भूमिका खेल्दै आएको छ।

यो पुरस्कार यसै वर्ष सेप्टेम्बरमा रुसको भ्लादिभोस्तोक शहरमा हुने बाघ संरक्षणसम्बन्धी समारोहमा प्रदान गरिने डब्ल्युडब्ल्युएफले जनाएको छ।

अवार्ड विजेता बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या सन् २००९ मा २० भन्दा थोरै रहेकोमा सन् २०१८ मा ९० वटा अर्थात झण्डै ५ गुणाले बढेको हो।

निकुन्ज विश्वको सर्वाधिक सघन जनसंख्या भएको क्षेत्रमा अवस्थित भएकाले यसरी बाघको संख्या बढ्नु आश्चर्यजनक उपलब्धि भएको डब्ल्युडब्ल्युएफको भनाइ छ।

वन्यजन्तु संरक्षण समाजको बाघ कार्यक्रम संयोजक डेल मिकेलले भने, ुनतिजाहरूले सरकारी र गैरसरकारी निकाय तथा स्थानीय समुदायहरू मिलेर काम गर्दा बाघ संरक्षणको सफलता कस्तो हुन्छ भन्ने देखाउँछ।’

बाघ विश्वबाटै लोप हुने जोखिम बढेपछि सन् २०१० मा बाघ पाइने नेपाललगायत १३ वटा मुलुकका राष्ट्रप्रमुख तथा प्रतिनिधि रसियाको सेन्ट पिटर्सबर्गमा आयोजित ‘ग्लोबल टाइगर समिट’ मा सहभागी भएका थिए।

सो सम्मेलनले सन् २०२२ सम्ममा विश्वमा बाघको संख्या दोब्बर बनाउने महत्वाकांक्षी लक्ष्य लिएको थियो।

यो लक्ष्य हासिल गर्न बाघको वासस्थान वृद्धि, आहारा बढाउने, बाघ–मानव द्वन्द्व व्यवस्थापन र अवैध चोरी–शिकार तथा बाघका अंगको व्यापार नियन्त्रण लगायतमा जोड दिइएको छ।

यो वर्ष सन् २०१० मा जंगली बाघको संख्या दोब्बर गर्ने विश्वव्यापी लक्ष्यको वर्ष हो।

सन् २०२२ सेप्टेम्बरमा महत्वाकांक्षी लक्ष्य प्राप्तिका लागि भएका प्रगतिको मूल्यांकन गर्न भ्लादिभोस्तोकमा दोस्रो ग्लोबल टाइगर समिट हुँदैछ।

SHARE