संकटका बेला नाफामुखी प्रवृत्ति त्यागौं : अर्थमन्त्री शर्मा

0
231

पुस २७,२०७८काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले संकटका बेला पनि बढी नाफामुखी हुने प्रवृत्ति त्याग्नुपर्ने बताउनुभएको छ । राजधानीमा बैंक तथा वित्तीय परिसंघ नेपाल (सीबीफिन) को दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले संकटका बेला बढी नाफामुखी हुन नहुने बताउनुभएको हो ।

बैंक तथा वित्तीय संस्थाहरूले गरेको मागबमोजिम ३० प्रतिशत करबाट केही घटाउन सकिने उल्लेख गर्नुहुँदै मन्त्री शर्माले बैंकहरूले पनि संकटका बेला बढी नाफामुखी हुन नहुने बताउनुभयो ।

‘संकट परेको बेला पनि बढी नाफा लिनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ कि पर्दैन’, उहाँले भन्नुभयो, ‘ संकटका बेला उद्योगधन्दालाई पनि बचाउनुपर्छ, जनतालाई पनि बचाउनुपर्छ र बैंकलाई पनि बचाउनुपर्छ भन्ने सबैको भावना हुनुप¥यो । यो भावना देखिएको छैन । संकटका बेला मिलेर एकले अर्कालाई बचाउने हो ।’

उहाँले मुलुकको ग्राहस्थ उत्पादनमा बैंक तथा वित्तीय क्षेत्रको ठूलो योगदान रहेको चर्चा गर्नुहुँदै संकटका बेला सरकार, निजी क्षेत्रलगायतले एकले अर्कालाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । ‘मुख्य समस्या संकटका बेला पनि बढी नाफा लिनुपर्छ भन्ने प्रवृत्ति हो’, उहाँले भन्नुभयो, ‘यो प्रवृत्तिगत समस्यालाई समाधान गर्नको लागि एकअर्काका समस्या बुझेर सहयोग गर्नुपर्छ ।’

त्यस्तै मन्त्री शर्माले दक्षिण कोरियालगायतका मुलुकमा शाखा खोल्न बैंकहरुलाई आग्रह गर्नुभयो । कोरिया, जापान, इजरायललगायतका मुलुकबाट अनौपचारिक माध्यमबाट रेमिट्यान्स आउने गरेको सूचना प्राप्त भएको भन्नुहुँदै उहाँले ती मुलुकमा शाखा खोल्न आग्रह गर्नुभएको हो । त्यसले रेमिट्यान्स औपचारिक माध्यमबाट भित्र्याउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री शर्माले व्यवसाय पनि विशिष्टिकृत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । बैंकिङ क्षेत्र तथा उद्योग क्षेत्र पनि एकै व्यक्तिले सञ्चालन गर्दा गोलमटोल भएको भन्नुहुँदै उहाँले विशिष्टिकरण गर्नुपर्नेमा जोड दिनुभयो । ‘आफूले आफैँलाई ऋण दिने÷लिने देखिएको छ’, उहाँले भन्नुभयो, ‘यसले गर्दा ब्याजलगायतका तथ्याङ्क सही रूपमा आएनन् ।’

उहाँले विद्यमान तरलताको अभाव एक महिनाभित्र समाधान हुने पनि बताउनुभयो । पछिल्लो समय देखिएको तरलताको चाप माघभित्र समाधान हुने मन्त्री शर्माको भनाइ छ ।

‘अर्थतन्त्रमा केही चाप परेको पक्कै हो, तर बाहिर प्रचार गरिएजसो संकट आइसकेको छैन’, उहाँले भन्नुभयो, ‘सचेत हुने अवस्थामा चाहिँ छ । तरलताको जुन अभाव देखिएको छ, यो माघभित्र समाधान हुने गरी कार्य अघि बढाइएको छ ।’ कोभिड १९ का कारण दुई वर्षसम्म व्यवसाय गर्न नपाएका व्यवसायीले वित्तीय संस्थाहरूबाट एकैपटक ठूलो परिमाणमा ऋण प्रवाह हुँदा यस्तो चाप परेको उहाँले बताउनुभयो ।

उहाँले बैंकले व्यवसायीलाई ऋण उपलब्ध गराएपछि निश्चित समयसम्म ब्याज नबढाउनसमेत आग्रह गर्नुभयो । ऋण लिएर व्यवसाय थालनी गरेको केही समयमै बैंकहरूले ब्याज बढाउने गरेको गुनासो मन्त्रालयमा आउने गरेको भन्नुहुँदै उहाँले त्यसो नगर्न आग्रह गर्नुभएको हो । त्यसले गर्दा व्यवसाय असफल हुने उहाँको भनाइ रहेको छ ।
लकडाउनको बाटो अपनायौँ भने हाम्रो अर्थतन्त्रले थेग्न सक्दैन
यसैगरी पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिए पनि अब लकडाउनको बाटो अपनाउन नहुने बताउनुभयो । लकडाउन गर्दा मुलुकको अर्थतन्त्र संकटग्रस्त हुने भन्नुहुँदै लकडाउन गर्न नहुने उहाँको भनाइ रहेको छ ।
‘फेरि लकडाउन हुन्छ कि भन्ने आशंका कतिपयमा रहेको छ’, उहाँले भन्नुभयो, ‘अब हामी लकडाउनको बाटो अपनाउनु हुँदैन । फेरि लकडाउनको बाटो अपनायौँ भने हाम्रो अर्थतन्त्रले थेग्न सक्दैन ।’

SHARE