राष्ट्रियसभा निर्वाचन, आज मनाेनयन दर्ता

0
233

राष्ट्रियसभा निर्वाचनअन्तर्गत आज मनाेनयन दर्ता हुँदैछ । १९ पदमा मनाेनयन दर्ता हुने भएकाे हाे । प्रदेश राजधानीमा स्थापना गरिएको निर्वाचन अधिकृतकाे कार्यालयमा मनाेनयन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचन आयाेगले जनाएको छ ।

सत्ता नेतृत्व दल नेपाली कांग्रेस, सत्तासीनमध्यकै दल नेकपा (एकीकृत समाजवादी) र प्रमुख विपक्षी दल नेकपा एमालेले उम्मेदवार टुंगो लगाएका छन् ।

सत्तामै रहेकाे दल माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमाेर्चाले भने उम्मेदवार टुंगो लगाउन बाँकी छ । मंगलबार बिहान १० बजेभन्दा अगाडि यी दलहरूले पनि उम्मेदवार टुंगाे लगाउने भएका छन् ।

उम्मेदवार छनाेट गर्दा राष्ट्रियसभा निर्वाचनसम्बन्धी कानुनअनुसार अन्य, महिला, अल्पसंख्यक समुदाय वा अपाङ्गता भएका व्यक्ति र दलित समुदायलाई ध्यान दिनुपर्छ । तर, कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले भने एकजना पनि दलित समुदायबाट राष्ट्रियसभा सदस्यकाे उम्मेदवार नबनाउने भएकाे छ ।

एमालेले भने १९ जनामा तीनजना दलित समुदायबाट उम्मेदवार बनाएकाे छ । यस्तै, सत्तासीन पाँच दलले १९ जना राष्ट्रियसभा सदस्यकाे उम्मेदवार छनाेटमा साेमबार भागबण्डा गरेकाे थियाे । भागबण्डाकाे क्रममा कांग्रेसलाई ६, माओवादी र नेकपा (एकीकृत समाजवादी) लाई ५/५, जनता समाजवादीलाई २ र राष्ट्रिय जनमाेर्चालाई १ सिट परेकाे थियाे ।

निर्वाचनमा मतदाता २ हजार २५ जना छन् । मतदाताहरू स्थानीय तहका प्रमुख/ उपप्रमुख र अध्यक्ष/उपाध्यक्षसहित प्रदेश सांसद हुन् । निर्वाचन १२ माघमा हुने भएको छ ।

२०७४ को फागुनमा चार बर्से कार्यकालका लागि निर्वाचित २० जना सदस्यको पदावधि आगामी २० फागुनमा सकिँदै छ । उनीहरूकाे ठाउँमा निर्वाचन हुन लागेको हाे ।

SHARE