तिलोत्तमा व्यापार महोत्सव माघ १३ देखि हुने

0
393

पुस १९,२०७८ रुपन्देही :आगामी माघमा तिलोत्तमामा ‘तिलोत्तमा व्यापार महोत्सव’ हुने भएको छ । तिलोत्तमा चेम्बर अफ कमर्श, रूपन्देहीले माघ १३ देखि २४ गतेसम्म ‘औद्योगिक, कृषि, पर्यटन तथा व्यापार महोत्सव’ गर्न लागेको हो । संघले सोमबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारीको बारेमा जानकारी दिएको हो ।

“व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगारस् सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार’’ भन्ने मूल नाराका साथ तिलोत्तमा–५ मणिग्राममा चेम्बर अफ कमर्शले दोस्रोपटक महोत्सव आयोजना गर्न लागेको संघका अध्यक्ष बाबुलाल भुसालले बताए ।

तिलोत्तमालाई राष्ट्रिय व्यापारिक केन्द्रको रूपमा विकास गर्ने उद्देश्यका साथ संघले महोत्सव आयोजना गरेको उनले बताए । दुईवर्षयता कोरोना महामारीका कारण मेला लाग्न नसकेकोमा यसपटकको महोत्सव सफल हुने विश्वास उनले व्यक्त गरे ।
“निकासी योग्य वस्तुको पहिचान एवं बजार प्रवद्र्धनमा सहयोग पु¥याउने, बैदेशिक लगानीका सम्भावना पहिचान गरी त्यसका लागि आवश्यक वातावरण निर्माण महोत्सवमा गरिने छ”–उनले भने ।

महोत्सवमा १० करोड रूपैयाँ बराबरको आर्थिक कारोबार र दुई लाख दर्शकले अवलोकन गर्ने आयोजकले लक्ष्य लिएका छन् । महोत्सवमा राष्ट्रिय उत्पादन तथा सेवाहरुको प्रदर्शन, व्यावसायिक स्टलहरु, आईटी प्रदर्शनी, आकर्षक कृषि परिसर रहने अध्यक्ष भुसालले जानकारी दिए ।
महोत्सवमा कृषिजन्य उत्पादनको बजार प्रवद्र्धन गर्ने, तिलोत्तमा आसपासका अन्य पर्यटकीय स्थलहरुको पहिचान गरी विकासमा सहयोग पु¥याउने लक्ष्य रहेको अध्यक्ष भुसालले जानकारी गराए ।

देश–विदेशका व्यवसायीहरुसंग अनुभव आदान–प्रदानको अवसर प्रदान गर्ने, उत्पादक र उपभोक्ता बीच सुमधुर सम्बन्ध अभिवृद्धि गर्ने, लोकसंस्कृतिलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने तथा कृषि पेशालाई व्यवसायिक रुपमा उन्मुख गराउन सहयोग गर्ने लक्ष्य लिइएको नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशका महासचिव जेपी कंडेलले बताए ।

पत्रकार सम्मेलनमा तिलोत्तमा नगरपालिका वडा नं १ का अध्यक्ष तामनाथ पाण्डे, वडा नं ५ का वडा अध्यक्ष चेतनारायण भण्डारी, तिलोत्तमा चेम्बर अफ कमर्शका प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डे, महासचिव बिष्णु बराल लगायतले महोत्सवको उद्देश्य र लक्षका बारेमा आ आफ्नो भनाई राखेका थिए ।
महोत्सवमा कृषि व्यवसाय सम्बन्धी गोष्ठी, ताजा तरकारी तथा फलफूल प्रदर्शनी, आधुनिक कृषि पेभिलियन, होटल व्यवस्थापन तथा पर्यटन प्रवद्र्धन गोष्ठी, दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी मुख्य आकर्षणका रुपमा रहने छन् ।

यसैगरी महोत्सवमा राष्ट्रिय स्तरको सांस्कृतिक एवं हास्यव्यङ्ग्य कार्यक्रम, स्थानीय गीत एवम् नृत्य, डान्स आइडल सहितको विविध सांस्कृतिक कार्यक्रम, लोक दोहोरी प्रतियोगिता लगायतका कार्यक्रम रहेका छन् । कूल तीन सय स्टल रहने महोत्सवमा १५ वटा तिलोत्तमाका महिला कृषक समूहको स्टल रहने बताइएको छ् ।

महोत्सवमा प्रवेशका लागि ५० रुपैयाँ शुल्क तय गरिएको छ । महोत्सवमा नयाँ उत्पादन प्रदर्शनी, सेमिनार तथा गोष्ठी स्थल, चौविसै घण्टा सिसिटिभि सहितको सुरक्षा, टेलिफोन तथा फ्रि वाईफाई सहित इन्टरनेट, प्राथमिक उपचार, चौविसै घण्टा विद्युत तथा खानेपानीको सुविधा उपलव्ध हुने छ ।

SHARE