रामपुर अस्पतालमा बिशेषज्ञ डाक्टर नहुँदा प्रसुती शल्यक्रिया सेवा ठप्प

0
292

सुशीला रेग्मी
रामपुर (पाल्पा), १५ पुस : पाल्पाको रामपुर अस्पतालमा सञ्चालन हुदै आएको प्रसुती शल्यक्रिया सेवा अहिले ठप्प छ । बिशेषज्ञ डाक्टर नहँुदा सो सेवा सुचारु गर्न सकिएको छैन । डाक्टर बासुदेव सुवेदीले अन्यत्र गएपछि सो सेवा बन्द भएको हो ।
डाक्टर सुवेदी सो अस्पतालको जिम्मेवारीबाट निस्केपछि (अन्यत्र गएपछि) गत असोज यता शल्यक्रियामार्फत प्रसुती सेवा सुचारु हुन सकेको छैन । सामान्य प्रसुती सेवा भने यथावत नै छ ।

यस अस्पतालमा २०७७ को चैत मसान्तमा शल्यक्रियामार्फत पहिलो पटक सफल बच्चा जन्मिएको थियो । सो समय देखि नियमित रुपमा डाक्टर सुवेदीको नेतृत्वमा गत भदौसम्म शल्यक्रियामार्फत सफल प्रसुती सेवा प्रवाह भइरहेको थियो । डाक्टर सुवेदीको नेतृत्वमा सात जना स्वास्थ्यकर्मीको टोलीले सफल शल्यक्रिया सेवा दिएको थियो ।
शल्यक्रिया सेवालाई निरन्तरता दिन स्वास्थ्य मन्त्रालयमा एक जना बिशेषज्ञ डाक्टर उपलब्ध गराउन अनुरोध गरेको अस्पतालका निमिक्त मेडिकल सुपरीटेण्डेन डाक्टर विजय परियार बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “अस्पतालमा शल्यक्रियामार्फत प्रसुती सेवा सुरु गरेर बीचमा बिशेषज्ञ डाक्टरको समस्याले बन्द हुदा यसमा सबैको चासो र चिन्तन बढेको छ, म आफू पनि डाक्टरको व्यवस्थापनका लागि पटक पटक मन्त्रालयमा पुगेको छु, अबको एक हप्ताभित्रमा डाक्टरको प्रबन्ध हुने आश्वासन पाएको छु” ।
अस्पतालको सेवालाई नरोक्न बिशेषज्ञ डाक्टरको व्यवस्थापनका निम्ति प्रदेश र संघीय सरकार संग पटक पटक जानकारी गराइएपनि अहिलेसम्म डाक्टरको व्यवस्थापन हुन नसकेको डाक्टर परियारको भनाई छ ।

सदरमुकाम तानसेन देखि पूर्वमा रहेको रामपुरमा शल्यक्रिया सेवा सुचारु हुदा प्रसुती सेवा लिन तानसेन जानुपर्ने समस्या हटेको थियो । सेवा सुरु भएको पाँच महिनामै बन्द हुन पुग्दा शल्यक्रियामार्फत प्रसुती सेवा लिन पाल्पा सदरमुकाम तानसेनमै जानुपर्ने बाध्यता छ ।
यहाँ पाँच महिनाको अवधीमा २७ जनाको शल्यक्रियामार्फत प्रसुती गराइएको शल्यक्रिया विभागका नर्स सुनिता गौतमले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको साउनबाट हालसम्म १३९ जनाले प्रसुती सेवा लिएका छन् ।

“हामीलाई पहिलो नै शल्यक्रिया सुरु गर्दा जोखिम थियो, पहिलो अपरेशन सफल भएपछि अरुको शल्यक्रिया गर्नलाई आत्मबल बढ्यो, ४५ मिनेट देखि एक घण्टाको समयमा अपरेशन गरेर बच्चा जन्मिएको छ” उहाँले भन्नुभयो ।
लुम्बिनी प्रदेश सरकारका तत्कालिन सामाजिक विकास मन्त्री सुदर्शन बरालले २०७७ फागुन १६ गते बिधिवत् रुपमा शल्यक्रिया सेवाको उद्घाटन गर्नुभएको थियो ।

विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको यस अस्पतालमा झण्डै २५ वर्षपछि मात्रै शल्यक्रिया सेवा थालनी भएपनि बीचमै सेवा रोकिन पुगेको छ । गर्भवति महिला, हर्निया, हाइड्रोसिल, एपेन्डिसाइटिस, गाँठागुठीको चिरफार लगायतको सेवा दिने गरी निक साइमन्स इन्सिच्युट ललितपुरको सहयोगमा शल्यक्रिया सेवा थालनी गरिएको हो ।


भिडियो एक्सरे सेवा बन्द

अस्पतालमा रहेको भिडियो एक्सरे सेवा पनि बन्द छ । भिडियो एक्सरे गर्ने डाक्टरको अभावमा सो सेवा दिन नसकिएको अस्पतालका प्रशासन सहायक हिरा विक बताउनुहुन्छ ।
अस्पतालमा भिडियो एक्सरे गर्न नपाउँदा नागरिकले निजि स्वास्थ्य संस्थामा पुगेर महंगो मुल्यमा सेवा लिनुपर्ने समस्या रहेको रामपुर नगरपालिका वडा नं २ बस्ने स्थानीय खेमबहादुर राना गुनासो गर्नुहुन्छ ।

“अस्पतालमा भएको सेवा लिन पाइदैन, अन्यत्र रकम खर्च गरेर सेवा लिन जानुपर्ने बाध्यता छ, अस्पताल व्यवस्थापन समितिले कर्मचारी व्यवस्थापनमा ध्यान नदिदा नागरिकले सास्ती खेप्नु परिरहेको छ, हामीलाई एक त सेवा नपाउँनु समस्या अर्को अन्यत्र निजि संस्थामा जादा आर्थिक भारको पिरलो छ” उहाँले भन्नुभयो ।

यहाँ भिडियो एक्सरे सेवा कहिले चल्ने कहिले बन्द हुने प्रवृत्तिले नागरिकले निकै झण्झट बेहोर्नु परेको छ । भिडियो एक्सरेकै लागि टाढा टाढाबाट पनि बिरामी अस्पतालसम्म आउने गर्छन् । तर सेवा नपाउँदा त्यसै फर्कन बाध्य भएका छन् ।
अस्पतालमा दरबन्दी छ तर डाक्टर नै नभएपछि सेवा नै बन्द हुदा बिरामी मारमा परेको छ । यहाँ पछिल्लो समय दिनहुँ बिरामीको चाप बढिरहेको छ । दैनिकजसो २०० देखि २५० सम्म बिरामी उपचारमा आउने गर्छन् ।

दरबन्दी अनुसारका डाक्टर नहुदा तोके अनुसारका नागरिकले अझैपनि पुरा सेवा पाउन सकिरहेका छैनन् । रामपुर अस्पताल पूर्वी पाल्पासंगै स्याङ्गजा, तनहुँ र नवलपुर जिल्लाका नागरिकले सेवा लिने ठूलो अस्पताल हो ।

सम्बन्धित निकायले नागरिकको सेवा सुबिधालाई मध्यनजर गर्दै छिटो भन्दा छिटो बिशेषज्ञ डाक्टरको व्यवस्थापन गरिदिन स्थानीयको माग छ ।
लुम्बिनी प्रदेश सरकार स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय अन्र्तगत पर्ने सो अस्पतालको सेवा प्रवाह, कर्मचारी व्यवस्थापन सम्बन्धी प्रदेश सरकारले चासो देखाएको छैन ।

समय समयमा अस्पतालको अनुगमन तथा कर्मचारी व्यवस्थापन, नागरिकले सेवा पाए नपाएको सम्बन्धमा प्रदेश सरकारको वेवास्ताले यहाँ बिशेषज्ञ डाक्टरको समस्या निम्तिएको हो ।
भौगोलिक हिसाबले सदरमुकाम तानसेन देखि ६५ किलोमिटर पूर्वमा पर्ने यस अस्पतालको स्तरोन्नती भई अहिले पचास शैयाको भवन निर्माण कार्य अन्तिम चरणमा छ ।

SHARE