मालिका मन्दिरमा दर्शनार्थीको घुँइचो

करिब तीन हजारले गरे अवलोकन

0
186

हुमाकान्त पोखरेल
मंसिर ४,२०७८ गुल्मी : रेसुङ्गा नगरपालिका –१४ पराल्मीकी छली घर्ती शुक्रबार बिहानै मुसिकोट नगरपालिका –६ कुर्घास्थित मालिका भगवती मन्दिर पुगिन् ।
मन्दिरमा उनले एकजोर परेवा उडाउनुका साथै चिच्याएर वर मागिन् । मन्दिरको दर्शन गर्नकै लागि पराल्मीबाट एक समुहमा गाडी रिर्जव आफु मन्दिरमा पुगेको उनी बताउछिन् । ‘केही समय पहिले परेवा उडाउने संकल्प गरेकी थिए ।’ उनले भनिन्, ‘अहिले उडाउन आए ।’ इस्मा गाउँपालिका –५ रजस्थल मैदानकी लक्ष्मी अर्यालले पनि मन्दिरको दर्शन गरिन ।

घरबाट गाडी नै रिर्जव गरेर कुर्घा पुगेकी लक्ष्मीले मनले कामना गरेको पुरा हुने भएकोले मन्दिरको दर्शन गरेको प्रतिक्रिया दिइन् । ‘धेरै पहिलेदेखि यहाँ (मन्दिर) आउने योजना बनाएका थियौँ, तर समय मिलेको थिएन ।’ अर्यालले भनिन्, ‘यो बर्ष घुम्ने र मन्दिरमा पुजा गर्ने अवसर मिल्यो ।’ रजस्थलकै गीता नेपालीले पनि कुर्घामा शिवजी र मालिका भगभती मन्दिरको पुजा गरेको बताइन् । रजस्थलबाट लक्ष्मीसँगै आएकी उनले आफुहरुले चिच्याएर समेत वर मागेको बताइन् । ‘चिच्याएर वर मागेमा पुरा हुन्छ भन्ने धार्मिक विश्वास छ, मलाई पनि धर्मकर्ममा विश्वास लाग्छ ।’ उनले भनिन्, ‘यहाँ (मन्दिरमा) त सोचेभन्दा पनि बढी मानिस आउँदा रहेछन् ।’

छली, लक्ष्मी र गीता त मन्दिरमा दर्शन गर्न गएका प्रतिनिधिमुलक पात्र मात्रै हुन् । उनीहरुजस्ता हजारैँ दर्शनार्थीहरुले शुक्रबार कुर्घाको मालिका भगवती मन्दिरको दर्शन एवम् पुजा गरेका छन् । मन्दिरमा प्रत्येक बर्षको कात्तिक शुक्ल पूर्णिमा दिन मेला लाग्नुका साथै चिच्याएर वर मागिन्छ । जसका कारण दर्शनार्थीहरुको सधै भीड हुने गर्दछ । यस बर्ष पनि एकैदिन करिब तीन हजारले मेलाको अवलोकन गरेको मन्दिर व्यवस्थापन समिति अध्यक्ष झविराम शर्माले बताए ।

मेला हेर्नको लागि मुसिकोट नगरपालिका साथसाथै धुर्कोट, मदाने, मालिका, रेसुङ्गा नगरपालिका सहित जिल्लाका विभिन्न पालिकाका नागरिक एवम् अर्घाखाँची, बाग्लुङ, प्युठान, पर्वत लगायतका जिल्लाका नागरिकहरु मालिका भगवती मन्दिर पुगेका थिए । मन्दिरमा बली दिएमा, परेवा चढाएमा वा चिच्याएर वर मागेमा पुरा हुन्छ भन्ने मान्यताका कारण दर्शनार्थीहरुको भीड बढेको शर्माको भनाई छ । कोभिड सुरु हुनभन्दा पहिले पनि एकै दिनमा चार हजारसम्म भक्तजन आउने गरेको शर्माले सुनाए । ‘विगत दुई बर्ष कोभिडका कारण उल्लेख्य मात्रामा भक्तजन आउनुभएन ।’ उनले भने, ‘आजको उपस्थिति हेर्दा खुसि लागेको छ ।’
यसरी स्थापना भयो मन्दिर
व्यवस्थापन समिति अध्यक्ष शर्माका अनुसार करिब पाँच सय बर्ष अघि उक्त ठाउँ पुरै जंंगल थियो । त्यसपछि खडेरीले खोलामा भएको पानी समेत सुक्दा सबै जंगल सकियो । त्यसैबेला माल्याश्री नामका ऋषी उक्त ठाउँमा तपस्यामा थिए । पानीले काकाकुल भएका जनावरले ऋषीसामु पानी ल्याइदिन आग्रह गरे ।

ऋषीले पानीकै लागि प्राथना गरे र अन्तत देवी प्रकट भई ढुगांको बीच भागबाट पानीको मुहान पलाएको विश्वास रहेको अध्यक्ष शर्माले उल्लेख गरे । अहिले ढुंगाको बीच भागबाट प्रशस्त पानी बगिरहेको छ । मन्दिरमा साउन महिनाभर, एकादशी, १६ सरात र सोस्तानी ब्रत कथा अवधिभर बाहेक अन्य समयमा बली चढाइने अध्यक्ष झविलाल शर्माले जानकारी दिए । पूर्णिमाको दिन मात्रै ७० भन्दा बढी पाठाको बली चढाइएको उनले बताए ।
अहिले मन्दिरसम्म पुग्नको लागि सिढी बढाइएको छ । सार्वजनिक शौचालय, भक्तजन बस्ने ठाउँ, मन्दिर, चिच्याएर वर माग्ने ठाउँमा जाने सिढी, सडकमा पर्खाल लगायतका संरचना बनाइएको छ । कुर्घाका वडाध्यक्ष खड्ग बहादुर खड्काले आफुहरु निर्वाचित भएदेखि नगरपालिकाका मुख्य पर्यटकीय स्थलहरुको गुरुयोजना बनाई काम गरेको प्रतिक्रिया दिए ।

SHARE