प्रबिधिले कृषकलाई सहज बनायो

0
494
फाइल फोटो

सुशीला रेग्मी
कात्तिक ३०,२०७८ रामपुर (पाल्पा) : रम्भा गाउँपालिका १ सघाहा अगुवा कृषक ऋषिराम अर्यालले बिगत पाँच वर्ष देखि प्रबिधि (थ्रेसर) को प्रयोग गरी धानबाली स्याहार्दै आउनुभएको छ । धान झाट्ने र दाही हाल्ने काम एकै पटकमा हुने भएपछि थ्रेसर मेसिनबाट धान स्याहार्ने कार्यमा कृषकको आकर्षण बढेको उहाँ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “एक घण्टाको समयमा थ्रेसर मेसिनबाट करिव ५० मुरी धान झाट्ने र दाही हाल्ने काम एकै पटकमा भयो, कम लागत र छोटो समयमा खेती स्याहार्ने नयाँ प्रबिधि गाउँमा आएपछि कृषकलाई धेरै राहत भएको छ” ।

कृषक अर्यालले एक घण्टाको रु तीन हजार ५०० शुल्क तिरेर धान स्याहार्नुभएको छ । कामदार खटाएर धान स्याहार्नु पर्दा समय र लागत पनि धेरै लाग्ने हुदा थ्रेसर मेसिनबाट नै फाइदा हुने उहाँको अनुभव छ ।

“थ्रेसरबाट धान स्याहार्न थालेपछि वस्तुभाउमा पनि जुकामाटे रोग कम देखा परेको छ, परालको पानीको सतहमा डुबेको भागमा जुकाका फूल बस्ने हुदा गाईभैसीमा जुकामाटेको रोग देखापर्ने हुन्थ्यो, थ्रेसर लगाएपछि यस्तो समस्या कम भएको छ” उहाँले भन्नुभयो ।
धान छिटो झर्ने, कम लागतमा धेरै काम हुने, कामदारको अभावमा सहज हुने हुदा पनि पछिल्लो समय कृषकले प्रबिधिको प्रयोग गरेर खेती लगाउने र स्याहार्ने गरेको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरी पाण्डे बताउनुुहुन्छ । उहाँका अनुसार रामपुर नगरपालिकाले कृषकको माग अनुसार र विभिन्न पकेट तथा ब्लक कार्यक्रममा थ्रेसर मेसिन विभिन्न पनि सहयोग गरेको छ ।

“गाउँ गाउँमा धान झाट्ने यन्त्रको प्रयोग बढ्दो छ, कृषकहरु पनि परम्परागत खेती प्रणालीलाई छाडेर आधुनिक प्रणालीतर्फ अगाडी बढ्दै गएका छन्, यसले गर्दा पनि कृषकहरु नयाँ नयाँ कृषि यन्त्रको प्रयोगमा अग्रसर हुदै गएका छन्” उहाँले भन्नुभयो ।
रामपुर क्षेत्रमा हालसम्म करिव पन्ध्र वटा धान झाट्ने (थ्रेसर मेसिन) कृषि यन्त्र प्रयोगमा आएका छन् । दुई दिन सम्म लाग्ने काम एक घण्टामा सकिने भएपछि धान झाट्न कामदार लगाउनै छाडिएको बलबहादुर राना बताउनुुहुन्छ ।
“एक जना कामदारलाई धान झाट्न दिउँसोको काम लगाउँदा रु एक हजार ज्याला दिनुपर्छ, समय पनि धेरै लाग्ने, खर्च पनि धेरै हुदो रहेछ, हिजोआज धान झाट्ने यन्त्र (थ्रेसर मेसिन) ले दुई तीन दिन लाग्ने काम एक घण्टामै सिध्याउँछ” कृषक रानाले भन्नुभयो ।
भनेको समयमा धान झाट्ने कामदार नपाउँदा पनि कृषकले निकै सास्ती खेप्नुपथ्र्यो । धान झाट्ने यन्त्रप्रति (थ्रेसर मेसिन) कृषकको आकर्षण निकै रहेको विजयपुर कृषि सहकारीका अध्यक्ष ओमप्रकाश रेग्मी बताउनुुहुन्छ ।

पाल्पाका विभिन्न गाउँ गाउँमा धान झाट्ने यन्त्र (थ्रेसर मेसिन) को प्रयोग हुन थालेपछि कृषकको आकर्षण बढ्दै गएको छ । कम लागत र मेहनतमा छिटो र छरितो धान स्याहार्न पाइने भएपछि धान झाट्ने यन्त्रतर्फ यहाँका कृषकहरु आकर्षित भएका हुन् ।
पाल्पाको रामपुर, खानीछाँप, यम्घा, कसेनी, सिद्धेश्वर, खस्यौली, बौघापोखराथोक, रम्भा, अर्गली, दोभान, भुवनपोखरी, चिर्तुङ्गधारा, सत्यवति, माडीफाँट लगायतका स्थानमा धान झाट्ने यन्त्र (थ्रेसर मेसिन) पुगेसंगै कृषकलाई धान स्याहार्न सजिलो भएको छ ।
जिल्लामा बढ्दो यान्त्रिकरणको विकास र प्रयोग हुदै जादा भने काम गरेर खाने श्रमिक, मजदुरहरु विस्थापित हुन पुगेका छन् । कृषि र अन्य क्षेत्रमा विभिन्न यान्त्रिकरणको प्रयोग हुन थालेपछि ज्यालादारीमा काम गरेर जीवन गुजारा गर्ने सयौँ श्रमिक, मजदुरहरुको आम्दानीको स्रोत नै गुम्दै गएको छ ।
परम्परागत कृषि औजारका सट्टा खनजोत गर्ने हाते ट्याक्टर, पावर टिलर, विउ रोप्ने मेसिन, धान काट्ने मेसिन, गहुँ ठटाउने, धान झाट्ने यन्त्रको बढ्दो प्रयोग हुन थालेपछि कृषि व्यवसायमा आवद्ध कृषि मजदुर विस्थापित हुन पुगेका हुन् ।

SHARE