
तिलाचन पाण्डे
कात्तिक ७,२०७८ गुल्मीः स्याङजाको कालीगण्डकी गाउँपालिकाले गरे के हुँदैन भन्ने गतिलो उदाहरण प्रस्तुत गरिदिएको छ ।
गाउँपालिकाले आफनै लगानीमा १९ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरी रोजगारी संगै फूल खेतीको महत्व दर्साइ दिएको छ । गाउँपालिकाले गरेको फूल खेती हेर्नका लागि दैनिक ३० देखी ५० जना आउने गरेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

गाउँपालिकाको वडा नम्वर ७ बारीचौरमा ५ र वडानम्वर ४ बिर्घा पुछारमा १४ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरिएको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले जानकारी दिए । 
बारीचौरमा भर्खरै खुलेको लालीगुरास होमस्टेलाई फूलै फूलको होमस्टे बनाउनका लागि र यहाँका कृषकहरुलाई फूल खेतीको महत्व बारे जानकारी गराउन पनि फूल खेती गरिएको पौडेलको दाबी छ ।
दैनिक ज्यालादारी काम गर्नेलाई सोही अनुसारको ज्याला प्रदान गर्दा रोजगारी सृजना पनि हुने र कृषिप्रतिको मोह पनि बढ्ने भएकाले करिब ४ लाख लगानीमा फूल खेती गरिएको पौडेलले बताए ।
फूल खेती संगै कृषिप्रति कृषकको आकर्षण बढाउन र ब्यबसायीक कृषक उत्पादन गर्ने गाउँपालिकाको उद्येश्य रहेको पालिकाले जनाएको छ ।
माला बुनेरै बिक्री
गाउँपालिकाले दैनिक ज्यालादारीमा ज्यामीहरुलाई काम लगाई माला बुनेर बिक्री गर्ने गरेको छ । फूलभन्दा पनि माला नै बढी बिक्री हुने भएकाले माल बुनेरै बिक्री गरिएको पौडेलले बताए ।
विभिन्न कार्यक्रमहरुका लागि माला किनेर लैजाने गरेको पौडेलले बताउनुभयो । माला र फूलको मूल्य अहिले आपसी समझदारीमै हुने गरेको बताउँदै तिहारका लागि मूल्य तोक्ने तयारी भएको पौडेलले बताए । 
यता गाउँपालिकाका अध्यक्ष खिमबहहादुर थापाले फूलबाट पनि आम्दामी हुन्छ भन्ने गतिलो उदाहरण प्रस्तुत गर्नका लागि फूल खेती गरिएको बताए ।
गाउँमा अझै पनि कृषकहरुले फूलबाट कहाँ आम्दामी हुन्छ र भन्ने गरेको सन्र्दभमा यो गतिलो उदाहरण भएको थापाको दाबी छ ।
हेरौँ गाउँपालिकाद्धारा गरिएको सयपत्री फूल खेतीका तस्बिरहरु 


कृषकहरुलाई ब्यवसायी बनाउन र आत्म निर्भर बनाउनका लागि गाउँपालिकाले विभिन्न कार्यहरु गरिरहेको थापाको दाबी छ ।












