पर्व केन्द्रित अपराध रोक्न कपिलवस्तु प्रहरीका रणनीति

0
476

पार्वती पाण्डे
असोज२७,२०७८कपिलवस्तु :बिजया दशमीको रौनकता बढेका बेला मौकाको फाइदा उठाउदै हुने आपराधिक घटना निरुत्साहित गराउन जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ४ मुख्य रणनीति अपनाएको छ । जस अनुसार संबेदनशील क्षेत्रमा विशेष टिम परिचालन, अपराधीक पृष्ठभूमीका ब्यक्तिका गतिविधीमा निगरानी ,ठूलो आवाज आउने डिजे साउण्डको प्रयोगमा रोक र विगतमा घटना हुने क्षेत्रमा सिसी टिभि जडान गरि निरन्तर निगरानी जस्ता रणनीति अपनाएको हो ।

चाडपर्वको समयमा कपिलवस्तुको सम्वेदनशीलतालाई मध्यनजरराख्दै प्रहरीले आपराधिक घटना हुन नदिने योजना बनाएको छ । जिल्लामा साम्प्रदायिक हिंसाको जोखिम रहेको कृष्णनगर, पकडी लगायतका स्थानमा साधापोसाकका प्रहरीले निगरानी गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताउनु भयो ।

दुर्गा मूर्तिविषर्जनका क्रममा पटक पटक विवाद हुने गरेको क्षेत्रमा सिसिटिभी क्यामरा जडान गरी निगरानी गरिएको छ । पुराना घटना हेरी मुख्य संवेदनशील मानिएका कृष्णनगरका ५ स्थान र मर्यादपुरका २ स्थानमा सिसिटीभी क्यामरा जोडिएको कार्कीले बताउनु भयो । यसै गरी ठुलो आवाज निकाली ध्वनी प्रदूषण गर्ने खालका डिजे समेत प्रयोग गर्न निषेध गरिएको छ ।

जिल्लाका चाडपर्वको समयमा सवारी दुर्घटना हुने, कुटपिट हुने, साम्प्रदायीक हिन्सा हुने , सीमा क्षेत्रमा लुटपाट जस्ता घटना बारम्बार हुने गरेका छन् । प्रहरीले योजनाका साथ सक्रियता बढाएर र प्रविधिको प्रयोग गरी त्यस्ता घटना हुन नदिने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रबक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताउनु भयो । प्रहरीले पुराना आपराधिक घटनामा संलग्न रहेका व्यक्तीको निगरानी बढाइएको छ ।

SHARE