गुल्मीको धुर्कोटमा एकैदिन ४५ लाखका खसिबोका बिक्रि

0
607
फाइल तस्बिर

हुमाकान्त पोखरेल, गुल्मी
२२ असौज । गुल्मीको धुर्कोट गाउँपालिकामा एकैदिन ४५ लाखका खसिबोका बिक्रि गरिएको छ । दसैँको घटस्थापनाको दिन पारेर बिहिबार गाउँपालिकाका पाँचवटा वडाबाट कुल ४५ लाख ६३ हजार ३९५ का खसिबोका बिक्रि गरिएको हो । कुल नौ हजार ७६२.५ किलोका ३२२ वटा खसिबोका बिक्रि गरिएको गाउँपालिकाका पशु शाखा संयोजक श्याम कार्कीले जानकारी दिए । जसअन्तरगत वडा नम्बर १ नयाँगाउँबाट दुई हजार ३०४.५ किलो, २ पिपलधाराबाट दुई हजार ९८१, ३ हाडहाडेबाट दुई हजार १६७, ४ जैसिथोकबाट ९६६ र वडा नम्बर ७ वाग्लाबाट एक हजार ३१४ किलोका खसिबोका बिक्रि गरिएको थियो । बिक्रि गरिएकामध्ये २८८ वटा स्थानीय बजारमा र बाँकी ९४ वटा तम्घास र बुटबल पठाइएको छ ।

सबै खसिबोका जिउँदो जोखेर बिक्रि गरिएका हुन् । गाउँपालिकामा १९ किलोसम्मको खसिबोकालाई प्रतिकिलो ४२५ रुपैँया, २० देखि २९ किलोसम्मकोलाई ४५०, ३० देखि ३९ किलोसम्मकोलाई ४७५ तथा ४० किलोभन्दा माथिको खसिबोकालाई प्रतिकिलो पाँच सयमा बिक्रि हुने कार्कीले बताए । सबै वडामा सम्बन्धित वडाका सहकारीमार्फत खसिबोका बिक्रि गरिएका हुन् । सहकारीमार्फत खसिबोका बिक्रि गरेका किसानले प्रतिकिलो ३० रुपैँया र सहकारीले प्रतिकिलो पाँच रुपैँयाका दरले अनुदान प्राप्त गर्ने गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । गाउँपालिका यसभन्दा अगाडी नै मासुमा आत्मनिर्भर भइसकेको छ ।

SHARE