दाङ, बाँकेको सिमावर्ती क्षेत्र वन्यजन्तुको आतंक ‘लमही—अमिलिया सडकमा निस्कन थाले चितुवा र बाघ’

0
436

दिवाकर पोख्रेल
देउखुरी, २० असोज
दाङ : देउखुरी रिहार देखि बाँके राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्दा अब सबैले सतर्कता अपनाउनुपर्ने भएको छ । बाँके राष्ट्रिय निकुञ्ज र दाङको सिमाक्षेत्रका सामुदायिक वनको आसपास राजमार्ग क्षेत्रभित्र चितुवा र बाघ देखा पर्न थालेका छन् । चितुवा र बाघको संख्या दोब्बर भएको अनुमान गरिएको छ । पूर्वपश्चिम राजमार्ग लमही अमिलिया सडकखण्डमा दिनहुँ चितुवा र बाघ देखिने गरेको यात्रु र स्थानीय बासिन्दाले बताएका छन् । सिमावर्ती क्षेत्र बाँके राष्ट्रिय निकुञ्ज छेवैमा भएको हुनाले लमही नगरपालिका वडा नम्बर ९ अमिलिया क्षेत्रभित्र पर्ने राजमार्गमा हिजोआज दिनहुँजसो चितुवा र बाघ देखिने गरेको छ । पछिल्लो समय बाँके र दाङको सिमाक्षेत्रमा दिनहुँ जंगली जनावरहरु देखापर्न थालेपछि उच्च सतर्कता अपनाउनु पर्ने भएको छ । चिुवा र बाघको आक्रमणबाट दुर्घटना हुनसक्ने भन्दै जोखिमयुक्त स्थानमा बसोबास गर्दै आएका स्थानीयहरुलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिसकेको डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीका प्रमुख बेसिन्द्रराज सुबेदीले बताउनुभयो ।

वन्यजन्तुका कारण जोखिममा रहेका वस्तीका सर्वसाधारणले उच्च सतर्कता अपनाउन अनुरोध गर्दछु, प्रमुख सुबेदीले भन्नुभयो,—। ‘समयमा भैपरी आउने विपतबाट जोगिनका लागि सबै तर्क हुनु आवश्यक छ ।’गत आइतवार बेलुका लमही अमिलिया सडकखण्ड राजमार्ग स्थित चितुवा र बाघ देखापरेको र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघ हात्ती, चितवा तथा भालु जस्ता जनावर समेत रहेकाले डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीले तत्कालका लागि मोटरसाइकल, साइकल र पैदल यात्रुलाई बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म ओहोरदोहोरमा रोक लगाएको छ । स्थानीयका अनुसार अमिलिया र रिहारको बिच जंगलका आसपासमा हरेक दिन बिहान, दिउँसो र रातिमा चितुवा र बाघ देखिने गरेको बताउछन् ।
वन कार्यालयले सकभर रातको समयमा एक्लै उक्त क्षेत्र भएर हिडडुल तथा आवतजावत नगर्न आग्रह समेत गरेको छ । रातको समयमा राजमार्गमा चितुवा र बाघ देखिन थालेपछि र कुनै पनि अप्रिय घटना घट्न नदिन डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीले प्रवेशमा रोक लगाएको डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीका प्रमुख बेसिन्द्रराज सुबेदीले बताउनुभयो ।
लकडाउनका बेला राजमार्ग सुनसान हुँदा बाघ राजमार्गमा आउन थाले
आन्तरिक र बाह्य पर्यटकहरूले बाघ हेर्न बाँके र बर्दिया राष्ट्रिय निकुञ्जलाई नै रोज्ने गर्छन् । बाँके र बर्दिया निकुञ्जमा पछिल्लो समय पाटे बाघको संख्या पनि बढ्दै गएको छ । बाघ हेर्नकै लागि बाँके, बर्दियामा पर्यटकको ओइरो लाग्थ्यो । पहिलो चरणको गएको चैत ११ गतेदेखि लकडाउन भयो र राजमार्गमा गाडी चलेनन् । लकडाउनका बेला राजमार्गमै बसोबास र आवतजावत गर्न अभ्यस्त भएका बाघ तब आक्रामक हुन थाले, जब लकडाउनपछि सडकमा गाडी चल्न थाले । ‘बाघको संख्या बढ्दै जाँदा उनीहरुको बासस्थानमा मानवीय अतिक्रमण भएझैँ भयो, लकडाउनताका बाघले सडकलाई समेत आफ्नो ’टेरिटोरी’ बनाउन थालेका थिए । आफ्नो नयाँ ’टेरिटोरी’ क्षेत्रमा फेरि मानवीय गतिविधि बढेपछि बाघ आक्रामक बनेका हुन सक्छन्’ डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीका प्रमुख बेसिन्द्रराज सुबेदीले भन्नुभयो ।
दोस्रोपटक सा.वि.क सतवरिया गा.वि.स.मा चितुवा र बाघ राजमार्गमा देखा पर्न थालेपछि डिभिजन वन कार्यालयमाथि वन्यजन्तुको संरक्षण तर्फ चुनौती थपिँदै गएको छ । चितुवा र बाघ उक्त क्षेत्रमा देखिन थालेपछि यतिबेला सो क्षेत्रमा डरत्रास फैलिएकोछ । राजमार्गमै चितुवा र बाघको आंतक फैलिएपछि अस्थाई ट्राफिक पोष्ट लमहीले पूर्वपश्चिम राजमार्ग अर्जुनखोला देखि अमिलिया शिवखोलासम्म रात्रिकालीन समयमा साना सवारी साधन सञ्चालनमा रोक लगाएकोछ । ‘हामीले गत आइतवार बेलुका सात बजेदेखि लागु हुनेगरि रात्रीकालीन समयमा साना सवारी साधन सञ्चालनमा रोक लगाएका छौं । अब अर्को सूचना जारी नहुँदासम्म उक्त समयमा खुलारुपमा सवारी साधन टेम्पो, मोटरसाइकल, साइकल तथा पदैलबाट यात्रा गर्न पाइने छैन, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रासाद काफ्लेले बताउनुभयो । उहाँले चितुवा र बाघबाट राजमार्ग क्षेत्रमा आएर अरु घटना हुन नपाओस् भनेर सुरक्षाकर्मी तैनाथी बढाइएको बताउनुभयो ।।

SHARE