असोज१५,२०७८दाङ : चालु आर्थिक वर्षको हालसम्म विभिन्न विपद्बाट दाङमा १३ जनाको मृत्यु भएको छ। विपदबाट करिब साढे ३ करोड रुपैयाँ बराबरको क्षति भएको जिल्ला आपतकालीन कार्य सञ्चलन केन्द्रले जनाएको छ।
केन्द्रका सूचना व्यवस्थापक अधिकृत विश्वप्रकाश अर्यालका अनुसार घर भत्किएर, खोला तथा नदीले बगाउँदा १२ जनाको मृत्यु भएको छ। एक जना अझै बेपत्ता छन्। त्यस्तै‚ अविरल वर्षाका कारण २०५ वटा घर भत्किएका छन्।
यसैगरी विपद्बाट १०० भन्दा बढी पशुचौपाया मरेका अधिकृत अर्यालले जानकारी दिए। उनका अनुसार हालसम्म घर भत्किएका परिवार तथा मृतकका परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिबाट ५२ लाख ७५ हजार रुपैयाँ राहत वितरण गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले बुधबार मात्र बाढी प्रभावित र अविरल वर्षाका कारण घर भत्किएका तथा मृतकका परिवारलाई करिब ८ लाख रुपैयाँ राहत प्रदान गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए। पश्चिम दाङका १४ घरपरिवारलाई रकम हस्तान्तरण गरिएको थियो ।
घर भत्किएका परिवारलाई १५ देखि २० हजार र मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने गरिएको अर्यालले बताए। त्यस्तै‚ त्यही घरको अर्को ब्यक्तिको पनि मृत्यु भएमा थप एक लाख दिने गरेको समेत उनले बताए।
विपद्का कारण सबैभन्दा बढी घोराही उपमहानगरपालिकाका नागरिकले ज्यान गुमाएका छन्। त्यस्तै, शान्तिनगर गाउँपालिका, तुलसीपुर उपमहानगरपालिका, बंगलाचुली गाउँपालिका, दंगीशरण गाउँपालिका, गढवा गाउँपालिका र लमही नगरपालिका नागरिकले ज्यान गुमाएका छन्।
दाङमा गत आर्थिक वर्षमा विपद्का घटनामा परेर ४९ जनाको मृत्यु र २६ जना घाइते भएका थिए। तीमध्ये १४ जना महिला र ३५ जना पुरुषको थिए। त्यस्तै‚ जिल्लामा गत वर्ष वर्षाका कारण १५३ वटा घरमा पूर्ण रुपमा क्षति भएको थियो। ४५ वटा घरमा आंशिक क्षति भएको थियो