कांग्रेस १४ औँ महाधिवेशन : पाल्पाका नौ स्थानीय तहको निर्वाचन सकियो

0
508

सुशीला रेग्मी
रामपुर (पाल्पा), १० असोज: नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पाल्पाका जिल्लाका दश स्थानीय तहमध्ये नौ स्थानीय तहको निर्वाचन सकिएको छ ।
जिल्लाका सातवटा पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ भने दुई पालिकामा भने निर्वाचन प्रक्रियाबाट निर्वाचन सम्पन्न भएको छ । एक पालिकामा निर्वाचन स्थगित भएको छ ।
रामपुर नगर कार्यसमितिको सभापतिमा पुन : नेत्रप्रसाद भट्टराई निर्वाचित हुनु भएको छ । मतदान प्रक्रियाबाट भएको निर्वाचनमा कुल २१२ मतमध्ये खसेको २०८ मतमा भट्टराईले १२५ मत ल्याई विजयी हुनुभएको हो भने उहाँका प्रतिष्पर्धी अर्जुनप्रसाद रेग्मीले ८२ मत प्राप्त गर्नुभएको छ ।
नगर उपसभापतिमा देवबहादुर थापा मश्राङ्गी र ज्ञानप्रसाद भण्डारी निर्वाचित हुनु भएको छ । मश्राङ्गीले १४५ मत, भण्डारीले १३० मत प्राप्त गर्नु भएको छ । उपसभापति पदका प्रतिस्पर्धी सरस्वती डोटेलले ६९ र हरीप्रसाद न्यौपानेले ५२ मत प्राप्त गर्नु भएको मतदान अधिकृत मुकुन्दराज गौतमले जानकारी दिनुभयो ।
सचिवमा चिरन्जीवी सिग्देलले १४१ र ओमप्रकाश बस्यालले १२६ मत ल्याई निर्वाचित हुनु भएको छ । प्रतिस्पर्धी विष्णुप्रसाद बस्यालले ८४ र नरनारायण अर्यालले ४० मत प्राप्त गर्नु भएको छ ।
सह सचिवमा आवास भट्टराई र राजन सुनार चयन हुनु भएको छ । भट्टराईले ९६, सुनारले ९१ मत प्राप्त गरी विजयी बन्नुभएको छ भने प्रतिस्पर्धी देवबहादुर दर्जीले ७५, रहिम मुल्ला मियाँले ३७ र पार्वती परियारले ८४ मत प्राप्त गर्नु भएको छ । नगर कार्य समितिको अन्य सदस्य पदमा भने निर्विरोध चयन भएको छ ।
रिब्दीकोट गाउँपालिकामा मतदान प्रक्रियाबाट निर्वाचन सम्पन्न भएको छ । सभापति पदमा रामचन्द्र पाण्डेले ९७ मत सहित विजयी हुनुभएको छ भने प्रतिस्पर्धी इन्द्र पाण्डेले जम्मा ७ मत प्राप्त गर्नुभएको छ ।
बगनासकाली गाउँपालिकामा ठानेश्वर तिमिल्सेना, निस्दी गाउँपालिकाको पुर्णबहादुर खाँण, पूर्वखोला गाउँपालिकाका विष्णु आचार्य, रम्भामा ऋषिराम अर्याल, माथागढीमा दिपक थापा, तिनाउँमा प्रेम पाण्डे, र रैनादेवी छहरा गाउँपालिकामा बिष्णु पोखरेल निर्विरोध सभापति पदमा चुनिनुभएको छ ।
जिल्ला सदरमुकामको तानसेन नगरपालिकामा भने उद्घाटन सत्रमात्र सम्पन्न गरेर बन्द सत्र सुरु नहुँदै नगर अधिवेशन स्थगित गरिएको छ । तानसेन नगरपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसक्दा अधिवेशन अनिश्चित बनेको हो ।
बुधबारसम्ममा नेतृत्व चयन प्रक्रिया अगाडी बढ्न सक्ने स्रोतको दाबी छ । दुई जना आकाङ.क्षीले आफ्नो दाबी नछाड्ने भएपछि सर्वसम्मतिको उम्मेदवारको खोजी गरिन लागेको बुझिएको छ ।
शनिवार भएको अधिवेशन सौहार्द्रपूर्ण वातावरणमा सबै पालिकामा सम्पन्न भएको छ । कांग्रेसको १४ औँ महाधिवेशनमा नयाँ निर्वाचित भएका पदाधिकारीमा युवापुस्ताको बर्चस्व छ ।

SHARE