चार स्थानीय तहले एकल पुरुषलाई भत्ता दिँदै

0
501

साउन२२,२०७८ बझाङ :बझाङका चार स्थानीय तहले एकल पुरुषलाई पनि भत्ता दिन थालेका छन्। स्थानीय तहले कार्यविधि बनाएर श्रीमतीको मृत्यु भएपछि एक्लो जीवन विताइरहेका ५० वर्षमाथिका एकल पुरुषलाई मासिक पाँच सय देखि दुई हजार रुपैयाँसम्म सामाजिक सुरक्षा भत्ता दिदै आएका छन्।

एकल पुरुष भत्ता दिनेमा दुर्गाथली, थलारा, वित्थडचिर गाँउपालिका र जयपृथ्वी नगरपालिका रहेका छन्। जयपृथ्वी नगरपालिका र थलारा गाउँपालिकाले २०७७ सालमा कार्यविधि बनाएर नीति तथा कार्यक्रममा समावेश गरी भत्ता दिन सुरु गरेका हुन्।

दुर्गाथली र वित्थडचिर गाउँपालिकाले पनि कार्यविधि पारित गरेर यहि आर्थिक वर्षबाट एकल पुरुषलाई भत्ता दिने भएका छन्। श्रीमतीको निधनपछि एकल पुरुषसमेत पीडित हुने अवस्थालाई मध्यनजर गर्दै एकल पुरुष भत्ताको व्यवस्था गरेको दुर्गाथली गाउँपालिकाका अध्यक्ष प्रयागराज जोशीले बताए।

उनले भने, ‘सरकारले ७० वर्ष नाघेका जेष्ठ नागरिक, एकल महिला, दलित समुदायका मानिसहरुलाई सामाजिक सुरक्षा भत्ता दिदै आएको छ। श्रीमतीको निधनपछि समाजमा एकल महिलाजस्तै एकल पुरुषलाई पनि जीविकोपार्जन गर्न कठिन हुने भएकाले भत्ता दिने व्यवस्था गरेका हौं।’

वित्थडचिर गाउँपालिका प्रवक्ता तथा वडानम्बर ६ का अध्यक्ष हर्क बोहराले समाजमा एकल महिलाभन्दा एकल पुरुषलाई जीविकोपार्जन गर्न कठिन भएकाले भत्ताको व्यवस्था गरिएको बताए।

बोहराले भने,‘छोरा बुहारी काममा व्यस्त हुने र श्रीमतीको मृत्यु भएका पुरुषहरु अन्य पुरुषहरुको तुलनामा एक्लोपन महसुस गर्ने भएकाले बुढेसकालको साहारा बन्न गाँउपालिकाले भत्ताको व्यवस्था गर्नुपर्छ भन्ने आवाज एकल पुरुषहरुबाट आएकाले हामीले कार्यविधि बनाई प्रक्रिया अघि बढाएका हौं।’ गाउँपालिकाले दिने एकल पुरुष भत्ताले उनीहरुको दैनिकीमा केही राहत हुने प्रवक्ता धामीको भनाई छ।थाहाबाट

SHARE