असार १०,२०७८
पर्वत : खाना पकाउने एल.पी ग्यास बिक्री गर्दै आएका कास्कीका बिक्रेताहरूले आफूहरूलाई सरकारले कोरोना भाइरसविरुद्धको खोप नदिएसम्म ग्यास आपूर्ति नगर्ने भएका छन्।
कोरोना महामारी र त्यसबाट निम्तिएको संकटमा एल।पी ग्यास बिक्रेता संघ कास्कीमार्फत नागरिकको दैनिक जीवन गुजारा चलाउन ग्यास आपूर्ति गर्दै आएको भए पनि अब भने खोप नपाएसम्म ग्यास आपूर्ति गर्न नसकिने उनीहरूले बताएका छन्।
अध्यक्ष बालकृष्ण कोइरालाले बिक्रेताहरूले अग्रपंक्तिमा रहेर नागरिकलाई सेवा दिएको दिइरहेको भए पनि सरकारले भने बिक्रेता र यसमा आबद्ध मजदुरहरूलाई प्राथमिकतामा नराखेका कारण आफूहरूले आपूर्ति नै बन्द गर्नुपर्ने अवस्था आएको बताए।
‘महामारीमा अन्य क्षेत्रलाई जस्तै ग्यास बिक्रेतालाई समेत असर गरिरहेको भए पनि नागरिकको जीवन रक्षाका लागि अग्रपंक्तिमा रहेर आपूर्ति गरिरहेका छौँ। आफ्नो क्षेत्रबाट यो काम गर्दा गौरवान्वित भएका छौँ’, उनले भने, ‘तर अग्रपंक्तिमा रहेर सेवा दिएका अन्य क्षेत्रलाई सरकारले प्राथमिकतामा राखे पनि ग्यासका बिक्रेता र मजदुरलाई राखेन। यसले हामी र उपभोक्ता सबैलाई जोखिम बढाएको छ।’
आफूहरूलाई खोप लगाउन आवश्यक रहेको भनी तीन तहका सरकारहरूलाई अनुरोध गरिएको भए पनि कसैले सुनुवाइ नगर्दा आपूर्ति नै बन्द गरेर दबाब दिनुपर्ने अवस्था आएको अध्यक्ष कोइरालाको भनाई छ।
संघले प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम मार्फत सरकारलाई ज्ञापन पत्र पठाएर असार १० गतेदेखि खोपको सुनिश्चितता नहुँदासम्म कास्की जिल्लाभर ग्यासको आपूर्ति बन्द रहने जानकारी दिएको छ। कास्कीमा ५० वटा ठुला र ३ सय साना डिलरबाट दैनिक १५ हजार ग्यास आपूर्ति हुँदै आएको छ। करिब ८ सय जना मजदुर यो ग्यास आपूर्तिमा दैनिक खटिने गरेका छन्। कास्कीमा १८ कम्पनीका ग्यास आपूर्ति हुँदै आएका छन्। थाहाबाट