बैशाख८,२०७८बाँके : कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा बाँकेका अस्पतालमा १४ जनाको मृत्यु भएको छ। संक्रमित बिरामीको उपचार भइरहेको नेपालगन्जस्थित भेरी अस्पतालमा ८ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ६ जना गरी थप १४ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए।
भेरी अस्पतालमा उपचारका क्रममा खजुरा गाउँपालिका–२ बाँकेका ५३ वर्षीय पुरुष, राजापुर नगरपालिका–२ बर्दियाका ५० वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका–१२ दाङका २८ वर्षीया महिला र त्रिवेणी गाउँपालिका–३ सल्यानका ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।
त्यस्तै मेडिकल कलेज कोहलपुरमा तुलसीपुर उपमहानगरपालिका–५ दाङका ६३ वर्षीय पुरुष र गुलरिया नगरपालिका–१२ बर्दियाका ५९ वर्षीय पुरुषले संक्रमणकै कारण मृत्यु भएको हो।
ओलीका अनुसार मृत्यु हुनेहरुमा कोहलपुर नगरपालिका–१० का ४४ वर्षीया महिला, तुलसीपुर उपमहानगरपालिका–१० दाङका ५२ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–६ का ५२ वर्षीया महिला, भिमदत्त नगरपालिका–२ कञ्चनपुरका ५४ वर्षीय पुरुष, जोशीपुर गाउँपालिका–१ कैलालीका ५० वर्षीय पुरुष रहेका छन्।
संक्रमणकै कारण उपचारका क्रममा नेपालगन्ज उपमहानगरपालिका–६ का ५० वर्षीय पुरुष, मधुवन नगरपालिका– ७ बर्दियाका ५७ वर्षीय पुरुष र लमही नगरपालिका–२ दाङका ६८ वर्षीया महिलाको समेत मृत्यु भएको छ।
योसँगै हालसम्म कोरोना भाइरस संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका दुई सय ३२ जना र जिल्लाकै दुई सय ७३ जनाले ज्यान गुमाइसकेका छन्।