बाँकेमा अक्सिजन अभाव, नयाँ विरामी भर्ना लिन बन्द

0
525

बैशाख २१,२०७८ बाँके : कोभिड महामारीसँग जुझिरहेको बाँकेमा अक्सिजन अभाव भएको छ। सघन रुपमा कोरोनाको उपचार सेवा दिइरहेका अस्पतालहरुमा अक्सिजन अभावमा विरामीहरु अस्पताल परिसरमा मृत्युसँग लडिरहेका छन्।

सरकारी भेरी अस्पताल र निजी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना विरामीको उपचार हुँदै आएको छ। १४२ बेड क्षमता रहेको भेरी अस्पतालका कोभिड वार्डमा १९२ विरामी पुगेपछि बेड अभावमा अस्पतालले कोरोना विरामी भर्ना गर्न बन्द गरेको छ।

अस्पतालले जेनतेन सिलिण्डरबाट विरामीलाई अक्सिजन पुर्याइरहेको छ। तर, मेडिकल कलेजमा बेड भएपनि अक्सिजन अभावका कारण नयाँ विरामी भर्ना हुन नपाँउदा अस्पताल परिसरमा विरामी छट्पटाइरहेका छन्। कपिलवस्तु, दाङ्ग, बाँके, बर्दिया, सुर्खेत, कैलालीलगायत जिल्लाका कोराना विरामीलाई भेन्टिलेटरसम्मको उपचार दिइरहेको नेपालगन्ज मेडिकल कलेजले अक्सिजन अभाव झेलिरहेको कोभिड फोकल पर्सन दिनेश श्रेष्ठले बताए।

श्रेष्ठले कोरोना विरामी उपचार गर्न तीन सय बेड तयार पारे पनि अक्सिजन अभावले १५० बेड मात्र संचालन भएको जानकारी दिए। मंगलबारदेखि त्यसलाई कम गरेर एक सयमा पुर्याउने र नयाँ भर्ना नलिने निर्णय भएको उनले बताए। अक्सिजनको अभावमा थप बेड संचालन हुन नसकेपछि कोरोनाका विरामीहरु अस्पताल परिसरमा पालो कुरेर बसिरहेका छन्।

सरकारले लिक्विड अक्सिजन ट्याङ्क भारतबाट ल्याउने व्यवस्था मिलाए तीनसय बेड संचालनमा ल्याउने उनले बताए। ‘अक्सिजन दिनु पर्ने नयाँ विरामी आएर अस्पताल परिसरमा पालो कुरेर बसिरहेका हुन्छन। विरामीको छटपटी हामी हेर्न बाध्य भइरहेका हुन्छौं। हाइफ्लो अक्सिजन चाहिने विरामी हुन्छन्।

सिलिण्डरको अक्सिजन दिएर पुग्दैन। पुरानो विरामी डिस्चार्ज भएपछि मात्र नयाँ भर्ना गर्न मिल्छ।’ भएका विरामीलाई पनि अब केही दिन मात्र अक्सिजन पुग्ने उनले जानकारी दिए। साच्चिकै बिरामी बचाउने हो भने सरकारले छिटो लिक्विड अक्सिजन ट्याङ्क भारतबाट ल्याउने व्यवस्था मिलाउनुपर्ने उनले बताए।

SHARE