दुर्घटनामा एक महिलाको मृत्यु, १३ जना घाइते

0
243

बैशाख १४,२०७८ तनहुँ: ऋषिङ गाउँपालिका–१ धारापानीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएका छन्। मृत्य हुनेमा व्यास नगरपालिका–५ पाटनकी २५ वर्षीया मनु थापा छन्। मंगलबार दमौलीबाट ऋषिङको भीरकोट जाँदै गरेको ग १ ज ७६०० नम्बरको जिप दुर्घटना भएको हो।

गम्भीर घाइते मनुको दमौलीस्थित दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

तिमिल्सिनाका अनुसार घाइते हुनेमा ऋषिङ गाउँपालिका–१ झापुटारका २७ वर्षीया गीतामाया थापा, गीताकै आठ वर्षीय छोरा दीपसन थापा, पाँच वर्षीया छोरी अस्मी थापा, सोही गाउँपालिका–६ का ४० वर्षीय टिकाराम थापा, २० वर्षीया बेलसरा थापा, २३ वर्षीया दिलकुमारी थापा, दिलकुमारीकी दुई वर्षीया छोरी सुहाना थापा रहेका छन्।

त्यसैगरी सोही ठाउँका ३३ वर्षीय मधुसिंह राना, २८ वर्षीय लालबहादुर परियार, रेखा आले, अनामिका थापा र अनामिकाका दुई वर्षीया छोरी रुपा घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जना गम्भीर रहेको तिमिल्सिनाले बताए। १३ जना घाइतेमध्ये ९ जनाको पोखरास्थित चरक अस्पताल, जिएमसी अस्पताल र दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

जिपमा क्षमता भन्दा बढी यात्रु भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ। जिपको क्षमता पाँच जना मात्रै हो। दमौलीबाट पाँच जना मात्रै लिएर गएको जिपले बाटोमा क्षमाता भन्दा तीनगुणा बढी यात्रु राखेको पाइएको प्रहरीले जनाएको छ। जिपमा १७ जना यात्रु रहेको पाइएको छ। जिप सडकबाट करिब एक सय ५० मिटर तल खसेको छ।

SHARE