टोपलाल अर्याल
गुल्मी, ५ बैशाख
कृषि ज्ञान केन्द्र गुल्मीले स्थानीय तहका कृषि प्राविधिकहरुसंग अन्तरक्रिया थालेको छ । स्थानीय तहमा आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट बनाउने समय भएकाले केन्द्रले प्राविधिकहरुसंग छलफल गरेको हो । केन्द्रले योजना तर्जुमा गर्दा तीन तहका सरकारका कृषि योजनाहरुमा विविधीकरण ल्याउने उदेश्यले छलफल तथा अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा बिशेष गरेर प्रदेश र स्थानीय सरकारका कृषि योजनाहरु एउटै प्रकारका हुँदा दुरुपयोग र प्रभावकारी नहुने स्थितीको समिक्षा गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीले प्रदेश र स्थानीय सरकारले समन्वय नगरेका कारण एकै प्रकारको बिउ, मल, कृषि उपकरण र अनुदान बितरण गर्दा गाउँमा कृषि कार्यक्रम प्रभावकारी बन्न नसकेको गुनासो गरे । ‘दुवै तहले कृषि उपकरण वितरण गरिरहेका छन् । तर एकै प्रकारका उपकरणको दुई थरि मुल्य हुँदा नागरिक स्तरमा शंका बढि उब्जिएका छन्,’उनले भने,‘प्रदेश र स्थानीय तहले खरिदलाई मात्रै प्राथमिकता दिएर हुँदैन् ।’ उनले गत बर्षसम्म स्थानीय तहले कृषि प्राविधिकको अभाव देखाएर उम्कने गरेको सन्दर्भलाई उल्लेख गर्दै अब पनि कृषिमा रचनात्मक योजना र काम नहुँनु दुखद पक्ष भएको बताए । ज्ञान केन्द्रका प्रमुख कोमल शाहीले कृषि ज्ञान केन्द्रको प्रगती विवरण, केन्द्रका कृषि अर्थ बिज्ञ युवराज ढकालले योजना तर्जुमा प्रक्रिया र मार्गदर्शन, केन्द्रका लेखा प्रमुख गुणानिधी पाण्डेयले आर्थिक ऐन, केन्द्रकै तर्फबाट टीका राम न्यौपानेले तालिम तथा प्रसार शाखा मार्फत संचालित अनुदान, खुविराम पोख्रेलले मिसन कार्यक्रम, हरि आचार्यले स्मार्ट कृषि गाउँ कार्यक्रम र सुस्मिता कुवंरले सुलभ कर्जाका बिषयमा सहजीकरण गरेका थिए । त्यस्तै स्थानीय तहबाट उपस्थित प्राविधिकहरुले आफ्नो पालिकाको कृषि योजना र कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
दुई दिने गोष्ठिबाट प्राविधिकहरुले नयाँ योजनाको रुपमा सवै तहले माटो परिक्षण गर्ने प्रयोगशाला संचालन गर्ने, गुणस्तरिय र प्रभावकारी कृषि नीति र योजना समावेश गर्न जनप्रतिनिधीहरुसंग समन्वय र छलफल गर्ने निष्कर्ष निकालेका छन् । साथै एकै प्रकारको कृषि उपकरण खरिदको मुल्यमा एकरुपता ल्याउन प्रदेश सरकारले तोकेको मुल्य सुचिका आधारमा कृषि सामग्रीहरु खरिद गर्ने निर्णय पनि गोष्ठिमा गरिएको छ ।